कांग्रेसलाई विष्णु पौडेलको जवाफः एमाले-माओवादीको सहयात्रा दुर्घटनामा परोस् भन्ने अपेक्षा नगरे हुन्छ

२४ फगुन, काठमाडौँ । नेकपा (एमाले) उपाध्यक्ष एवं पूर्व मन्त्री विष्णु पौडेलले एमाले–माओवादीको सहयात्रा प्रतिनिधि सभाको बाँकी कार्यकाल पूरै अगाडि जाने बताएका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन विगतको जसरी टुट्छ भनेर नसोच्ने उनले कांग्रेसलाई आग्रह गरे । जनता र राष्ट्रको आवश्यकतालाई ध्यानमा राखेर र विगतका अनुभवबाट शिक्षा लिएर यो गठबन्धन बनेको उनको भनाइ छ ।

‘अहिले सुरु भएको नयाँ सहयात्रा यसले प्रतिनिधि सभाको कार्यकाल पूरा गर्नेछ । यो कुनै स्वार्थको लेनदेनमा आधारित सहयात्रा होईन । यो कुनै अवसरका निम्ति गरेको सहयात्रा होईन । जनताका र राष्ट्रका आवश्यकतालाई केन्द्रमा राखेर तिनलाई समाधान गर्ने उद्देश्यकका साथ सुरु भएको सहयात्रा हो ।’ उनले भने, ‘विगतका अनुभवहरुबाट शिक्षा लिएर आरम्भ गरिएको सहयात्रा हो । त्यसकारण यो कुनै दुर्घटनामा पर्छ कि भनेर आशंका पनि नगरे हुन्छ । दुर्घटनामा परोस् भन्ने अपेक्षा नगरे हुन्छ । यो सहयात्राले बाँकी कार्यकालको सहयात्रा पूरा गर्नेछ ।’