सैद्धान्तिक र वैचारिक विषयमा शंका र अविश्वास भएकाले कांग्रेससँगको गठबन्धन भत्कियो : प्रधानमन्त्री दाहाल

२४ फगुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस संसदीय दल बैठकले आफूलाई ‘राजनीतिक बेइमान’ को संज्ञा दिएको भन्दै जवाफ फर्काएका छन् । संसद बैठकमा सम्बोधन गर्दै उनले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छट्पटिले आफूले यो कदम चालेको बताए ।

सुरुमा प्रधानमन्त्री प्रचण्डले अघिल्लो सत्ता–गठबन्धनमा व्यक्ति प्रचण्डका रूपमा कुनै समस्या या अप्ठ्यारोमा नरहेको बताए । ‘अघिल्लो सत्ता–गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल प्रचण्डका रूपमा म कुनै समस्या या अप्ठ्यारोमा थिइनँ, न प्रधानमन्त्री पद नै असुरक्षित थियो । नेपाली कांग्रेसको नेतृत्व र मबीच व्यक्तिगत अविश्वास पनि केही थिएन’ उनले भने ।

टिकिरहनु मात्रैलाई स्थायित्व मान्न नसकेर गठबन्धन तोडेको भन्दै उनले उल्लेख गरेका छन्, ‘टिकिरहनु मात्रैलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि थिएन ।’