चिनियाँ ब्राण्ड बीवाइडीको पछिल्लो मोडल सिल स्पोर्टी सेडान भारतमा बिक्री सुरु

२८ फागुन, काठमाडाैँ । चिनियाँ ब्राण्ड बीवाइडीको पछिल्लो मोडल सिल स्पोर्टी सेडान भारतमा बिक्री सुरु भएको छ । कम्पनीले भारतमा मूल्य घोषणा गर्दै बुकिङ खुल्ला गरेको पहिलो दिन नै २०० यूनिट सिल बुकिङ भएको बीवाइडी इन्डियाले जनाएको छ ।

भारतीय बजारमा सिलले पाएको बुकिङलाई कम्पनीले निकै आश्चर्य मानेको छ । कम्पनीले ४१ लाख मूल्य तोकेर बिक्री सुरु गरेको सिलको सिधा प्रतिस्पर्धा टोयोटाको हाइब्रिड मोडल क्याम्रीसँग हुनेछ ।

‘हामी ग्राहकको प्रतिक्रियाबाट सन्तुष्ट छौं । लग्जरी र हाइ पर्फमेन्स सेग्मेन्टमा सिलले नयाँ मानक स्थापित गर्नेछ । उपभोक्तालाई उत्कृष्ट पर्फमेन्ससहितको कटिङ एज टेक्नोलोजीमा आधारित आधुनिक कार बिक्री गर्न बीवाइडी प्रतिबद्ध छ ।

बीवाइडीले सिललाई भारतीय बजारमा ४१ लाखदेखि ५३ लाख रुपैयाँसम्म मूल्य तोकेर बिक्री सुरु गरेको हो । लग्जरी सेग्मेन्टमा यसले निकै राम्रो ब्यापार गर्ने कम्पनीको दावी छ ।

निकै ठूलो ८२.५ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री प्रयोग भएको सिल अलह्वील ड्राइभ सिस्टमको साथ उपलब्ध छ । यसमा १९ इन्चको ह्वील, १८० किलोमिटर प्रतिघन्टाको टप स्पीड यसमा पाउन सकिन्छ । निकै आधुनिक क्याविन रहेको कारमा भारतीय उपभोक्ताको राम्रै आकर्षण देखिएको छ ।