जनतालाई झुक्काउने, सत्तामा जाने र काण्ड मच्चाइरहने कार्यको अन्त्य कहिले ?

नेकपा एमालेको स्थापना गर्ने मनमोहन अधिकारी र मदन भण्डारी हुन् । धेरै दुःख गरेर एमाले संगठित गरिएको हो । जनताबीच एउटा लोकप्रिय पार्टी बनाउन यी दुई नेताको महत्वपूर्ण भूमिका छ । भण्डारीको निधन पार्टीको महासचिव हुँदै भयो । उनी मुलुकको प्रधानमन्त्री बन्न पाएनन् ।

अधिकारी भने नौं महिना प्रधानमन्त्री भए । अधिकारी र भण्डारीले गरेकै कामको आधारमा जनताले अहिले एमालेलाई पत्याएका हुन् । नत्र एमालेमा राम्रा भन्ने नेता को नै छन् ? अधिकारीले प्रधानमन्त्री हुँदा एक सय रुपैयाँ भत्ता दिने निर्णय गरे । जनताले तिरेकै करबाट भएपछि उनले त्यसको शुरुवात गरिदिए ।

त्यतिबेला गरेको निर्णयले वृद्धवृद्धालाई निकै सहज भएको छ । अधिकारीले ‘आफ्नो गाउँ आफैं बनाऊँ’ भन्ने अभियान पनि चलाएका थिए । भण्डारी र अधिकारीले गरेको कामको अहिले पनि स्मरण गरिँदै आएको छ । दुवैलाई आम नागरिकले राम्रो व्यक्ति भन्छन् । तिनै मेहिनेतको ब्याज अहिले एमालेका नेताहरुले खाइरहेका छन् ।

ठूलो संघर्षले बनाएको पार्टी सकाउन एमालेका अध्यक्षदेखि नेताहरु नै लागिपरेका छन् । ‘जे मुखमा आयो, त्यही बोल्ने’ कार्यले प्राथमिकता पाएको छ । एमालेका नेताहरुलाई कहाँ के र कति बोल्ने भन्ने नै थाहा छैन् । अरुलाई गाली गर्न, होच्याउने एमालेका नेताहरु नम्बर वानमा छन् ।

केही महिनाअघि अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको नाम लियो भने अछुतो हुने बताएका थिए । अहिले त्यही नेपालसँग गएर टाँसिएका छन् । ओली मात्रै होइन् शंकर पोखरेल, ईश्वर पोखरेल, विष्णु पौडेललगायतका नेता पनि यस्तै भाषाको प्रयोग गर्थे । माधव नेपाल पहिले एमालेमै थिए ।तर, ओलीसँग ठासठुस परेपछि उनले आफ्नै पार्टी खोले । यी दुई पार्टीका अध्यक्षलाई एकअर्कासँग जुहारी खेलेर भ्याइनभ्याइ हुन्थ्यो । कसरी एकअर्कालाई होच्याउन पाइन्छ ? भन्नेमै यिनको ध्यान केन्द्रित थियो । रोचक कुरा त के छ भने, सत्ताको कुरा आएपछि त जो जस्तो भएनि चल्ने रहेछ ।

अछुतो भन्नेहरु अहिले त्यतै गएर टाँसेका छन् । जनताले यिनीहरुलाई के भन्ने ? सत्ताका लागि यिनीहरु जे पनि गर्छन् । हुन त सत्ताको ‘किरो’ जो परे । भण्डारी र अधिकारी साधारण जनताकै रुपमा हिँड्थे । न सुरक्षाकर्मी अघिपछि खटाउथे । त्यही पार्टीको वर्तमान अध्यक्षको पारा हेर्दा सर्वसाधारणलाई झिँझो लागेर आउँछ ।

अगाडिपछाडि सुरक्षाकर्मीको फौज राखेर हिँड्ने गरिन्छ । घरबाट निस्ँिकदासमेत जोडतोडले साइरन बजाँउदै तीव्र गतिमा गाडी गुडाइन्छ । एमालेबाट रष्ट्रपति, धेरै प्रधानमन्त्री र मन्त्री भए । अधिकारीपछि झलनाथ खनाल, माधव नेपाल, केपी शर्मा ओली प्रधानमन्त्री बने । विद्यादेवी भण्डारीले राष्ट्रपति खाइन् ।

यो मात्रै होइन्, एमाले प्रत्येक पटक सरकारमा गएको छ । एमालेबाट हरेकपटक मन्त्री बनेका छन् । यद्यपि, एमालेले राष्ट्र र जनताको हितमा त्यस्तो स्मरणीय काम गर्न सकेन् । हुन त भण्डारीकै श्रीमती राष्ट्रपति बनिन् तर उनको ‘हत्यारा’ खोज्न चासो देखाइनन् । नेपाल प्रधानमन्त्री हुँदा धमाधम सरकारी सम्पत्ति व्यक्तिको नाममा पास गरियो ।

सामान्य परिवारमा जन्मिएका नेपालको अंकुत सम्पत्ति भएको सर्वसाधारण बताउँछन् । उनको पृष्ठभूमि हेर्ने हो भने उनी बैंकको कर्मचारी हुन् । ओलीले त प्रधानमन्त्री भएपछि झनै उल्का गरे । उनलाई प्रधानमन्त्रीको जिम्मा के ? भन्ने नै थाहा भएन् । देश र जनताको हितमा काम गर्नुपर्ने पदमा बसेका व्यक्ति वालुवाटारमा बाँसुरी बजाएर दिन कटाउथें ।

यतिसम्म गरेकि देशको नक्सा अंकित केकसमेत काटेर खाए । जनताले तिरेको करबाट ठूल्ठूला भोज खुवाउथें । आफ्नो पार्टीको सांसद र कार्यकर्तालाई तीजको भोज खुवाउने गरिएको थियो । मन्त्रिपरिषद्को बैठक पनि वालुवाटार, पार्टीको पनि । सिंहदरबार र पार्टी कार्यालय जानै छोडेका थिए ।

उनी हरबखत अस्पतालको बेडमै हुन्थे । भण्डारी र अधिकारी जति त्यागी थिए, अहिलेका एमालेका नेताहरु त्यति नै लोभी छन् । न्यून आर्थिक स्तर भएको घरपरिवारमा जन्मिएका ओलीसँग पनि अंकुत सम्पत्ति भएको बताइन्छ । झलनाथ खनाल प्रधानमन्त्री भए तर सिन्को भाँचेनन् ।

बरु, सर्प पाल्ने नाममा करोडौं रुपैयाँ जनताले तिरेको कर हिनामिना गरियो । विगतमा जस्तोसुकै भएपनि उनी अहिले पूँजीपति नेतामै गनिन्छन् । एमाले नेता योगेश भट्टराई पनि यही सूचीमा आउँछन् । रामकुमारी झाँक्री, महेश बस्नेतलगायत पनि पूँजीपतिको सूचीमा समेटिन्छन् ।

एमालेका नेताहरु पछिल्लो समय विभिन्न काण्डमा मुछिँदै गएका छन् । यौन काण्डदेखि अन्य प्रकरणसम्म उनीहरुको नाम जोडिएको छ । भक्तपुरमा जति पनि जग्गा प्लानिङ्ग भएको छ, ती सबै बस्नेतको भएको बताइन्छ । २०५० सालमा केही नभएका बस्नेतले छोटो अवधिमा धेरै प्रगति गरेका छन्, कसरी ?

सुन प्रकरणमा सर्वेन्द्र खनालको नाम पनि आइरहेको छ । यी त केही उदाहरण मात्र हुन् । एमालेका अधिकांश नेता यस्तै छन् । एमालेका नेताहरुले इमान्दारिता र नैतिकता छोडे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा हुँदा एउटा पत्रकारले अन्तरवार्ताको क्रममा प्रश्न गरे,‘तपाईंसँग सम्पत्ति कति छ ?’

त्यो प्रश्न सोधेको भनेर बाँस्कोटाले कार्यक्रम नै बन्द गरिदिए । पत्रकारको जागिर नै खाइदिए । यस्ता त नेता छन् । उनीहरुले जे गर्दा पनि ठीक अनि पत्रकारले प्रश्न पनि गर्न नपाउनु ? पछि त्यही बाँस्कोटालाई ७० करोड भ्रष्टाचारको आरोप लाग्यो । उनले सफाइ पाए होला, तर आरोप त लाग्यो ।

एमाले यत्तिकै पतानसाफ हुँदै गएको होइन् । यस्ता नेता भएपछि पार्टी सकिनु स्वाभाविकै हो । एमालेमा राम्रा र त्यागी नेता पनि छन् । तर, तिनले अवसर पाएनन् । उनीहरु अहिलेपनि दबिएर बसेका छन् । ओली र नेपालको दाहिने हातले मात्र अवसर पाए, अरु हेरेको हेर्यै ।
एमालेका वडाध्यक्षदेखि सांसद र भूपू प्रधानमन्त्रीको सम्पत्तिको खोजतलास गर्ने हो भने सबै भ्रष्टाचारी निस्किन्छन् । हिजो र आजको सम्पत्ति दाँज्नमा मात्र बेर छ । भण्डारी र अधिकारीको योगदान र इमान्दारिता हेरेर जनताले एमालेलाई भोट दिए । तर, एमालेका नेताहरुले जनतालाई के दिए ?

दुई त्यागी नेताको नाम बेचेर एमालेका नेताहरुले आफ्नो स्वार्थ पूरा गरे । त्यसैले अब जनताले एमालेलाई पत्याउनुअघि दशचोटि सोच्नुपर्छ । किन कि अब एमालेमा भण्डारी र अधिकारीजस्ता नेता छैनन् । केही वर्षअघि पूर्वप्रहरी रमेश खरेलले एउटा कार्यक्रममा भने,’वामदेव गौतम गृहमन्त्री हुँदा नै सुन तस्करी हुन्थ्यो ।’

अब गौतमलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ । जुनसुकै पार्टी होस् अब छोड्ने होइन् । मुलुक अन्तर्राष्ट्रिय स्तरमै बद्नाम भएको छ । एकपछि अर्को काण्ड, यस्ता पनि नेता हुन्छन् ? माओवादी नेतासहित तिनका सन्तानमाथि प्रधानमन्त्री प्रचण्डले कारबाही गर्दैछन् । त्यो एकदमै राम्रो काम हो ।

चाहे भूपूराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री सबैको सम्पत्ति छानबिन गरौं । आफ्नो पार्टीको होस् या अन्य पार्टीको, कसैलाई नछोडौं । प्रचण्डले अवसर पाएका छन्, त्यसको सदुपयोग गरौं । ओली पटकपटक प्रधानमन्त्री भए, तर उनले कुनै छानबिनको प्रक्रिया अघि बढाएनन् । आफ्ना पार्टीको नेता मुछिन्छन् भन्ने डर उनलाई थियो ।

केही वर्षअघि सदनमा उभिएर ओलीले आफ्नो सम्पत्ति सरकारलाई दिएको र आफू र आफ्नो श्रीमती मरेपछि सो सम्पत्ति सरकारको हुने बताएका थिए । तर, उनको सम्पत्ति कहाँ कति छ, कसैलाई थाहा छैन् ? उनले सरकारको नाममा सबै सम्पत्ति पास गरिदिए भनेर जनताले कसरी पत्याउने ?

जनतालाई तेह्रथुम, झापा र बालकोटमा ओलीको घरजग्गा छ भन्ने जनतालाई थाहा छ । कहाँको पास गरे ? देखाउनपर्यो नि । जनतालाई झुक्काउने काम मात्र भएको छ । जनता र मिडियालाई अल्मलाएर राखिएको छ । माओवादीले पनि जनयुद्धको क्रममा ओलीकै बोली बोल्थें ।

हामीले आफ्नो सम्पत्ति पार्टीलाई दियौं भन्थे । तर, अहिले माओवादी त्यस्तै नेताका कारण बद्नाम बनेको छ । नेताहरु जनता र मिडियालाई झुक्काउने, भ्रष्टाचार गरिरहने । यसको अन्त्य कहिले हुन्छ ?