एक साता अवधिमा १७ वटा आगलागी, नियन्त्रण चुनौती बन्दै

चैत लागेपछि आगोलागीका घटनाहरु दिनप्रति दिन बढ्दै गएका छन् । विशेषतः फागुनदेखि जेठ महिनासम्म डढेलोका घटना बढी हुने गर्छन् । यो समयमा वर्षा कम हुने भएकाले यस्तो घटना धेरै हुने गरेको हो ।

दैनिक जीवनमा हामी आगोसँगको संसर्गमा हुन्छौं। आगोबिनाको जीवन कल्पनै गर्न सकिन्न। खाना पकाउन, न्यानो बनाउन आगो नै चाहिन्छ। आगोको उपयोगितालाई महत्त्व दिएरै होला अग्नि पूजा गर्ने परम्परा हाम्रो संस्कारमा छ।

उद्योग कलकारखाना चलाउन पनि आगो चाहिन्छ। मानवीय जीवनलाई सुगम बनाउने आगोलाई राम्रोसँग व्यवस्थापन गर्न जानिएन भने बहुउपयोगी आगो विध्वंशको कारण बन्छ।

दिनुहुँ कतै न कतै आगलागी भएकै हुन्छ। विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बुलेटिनमा आगलागीको घटना नभएको दिन पाउन दुर्लभ छ। आगो ताप्दा वा खाना पकाउँदा आगोले पोलेर ज्यान जाने, गम्भीर घाइते हुने घटना पनि उत्तिकै छन्।

आगलागी नभोगेको नेपालका कुनै गाउँ, कुनै शहर होलान् र? बालबालिका र भान्सामा काम गर्ने मानिस आगोको जोखिममा बढी छन्। आगलागी हुने वा आगो प्रयोग गर्दा विभिन्न दुर्घटना हुने अनेक कारण छन्। नेपालमा आगलागीको जोखिम कम गर्ने एवम् आगो निभाउने प्रविधि, उपकरण र जनशक्ति कम छन्।

पछिल्ला केही दिन यता गुल्मी र पाल्पाका विभिन्न स्थानमा आगोलागी भइरहेका छन् । पाल्पाको तानसेनस्थित श्रीनगर वन र गुल्मी इस्माका केही भागका वनमा भीषण आगोलागी भएका समाचारहरु आइरहेका छन् । चैतको मध्य अवधिभित्रमै देखिएका यस्ता ठूला घटनाहरु आगामी दिनमा थप यसरी नै बढ्दै गएको खण्डमा गर्मीयामको चरमोत्कर्षमा झन् त्यसले कुन रुप लेलार केकति क्षति पु¥याउला अहिल्यै अनुमान गर्न गाह्रो छ ।

बर्सेनि देशमा यसरी नै आगलागी र डढेलोका घटनाहरुले निरन्तरता पाइरहेका छन्, जसका कारण ठूलो मात्रामा धनसम्पत्तिको नोक्सानमात्रै भएको छैन अझ कयौँका ज्यानसमेत जाने, ठूलो सङ्ख्यामा घाइते हुने र असख्याकं परिवारहरुको उठीबाससमेत भैरहेको देखिन्छ । यी घटनाबाट मुलुक जतिबेला पनि डढेलोको उच्च जोखिममा छ भन्ने पुष्टि भएको छ । यतिखेर जमिन तथा जंगल क्षेत्रमा सुख्खापनको मात्रा बढ्दै गएको छ ।

बढ्दो सुख्खापनाले डढेलोको वास्तविक क्षति हुने समय अब आउँदैछ भन्ने संकेत गर्छ । हरेक वर्ष दोहोरिने डढेलोबाट हुन सक्ने मानवीयर भौतिक क्षतिरोक्न बेलैमा होसियारी अपनाउनु जरुरी छ । हरेक वर्ष हुने घटना मानेर यसलाई सामान्य ठान्नु हुन्न ।

दैनिक जसो आगलागीका घटनाहरू हुन थालेपछि आगलागी नियन्त्रण चुनौती बन्दै गएको छ । जिल्लामा एक साताको अवधिमा १७ वटा आगलागीको घटनामा करोडौँको भौतिक क्षति भएको छ ।

आइतबार साँझ करिब ६ बजेतिर दमकको वडा नं. ८ मा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । क्रिस्टल फर्निचर उद्योगमा लागेको आगो दमक नगरपालिकाको दमकलको साहयतामा २ घण्टामा नियन्त्रणमा आएको थियो । क्षतिको विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

फर्निचरका सञ्चालक मुहम्मद शाकिर हुसेनका अनुसार उद्योग बन्द गरेर निस्केको केही बेरमा अगालागी भएको हो । तत्कालै केही सामाग्री स्थानीयको सहयोगमा झिक्न पाएकाले क्षति कम भएको छ । उपकरण र केही तयारी फर्निचर जल्दा आफ्ना १० लाखभन्दा बढी क्षति भएको उहाँले दाबी गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी ढुण्डिराज गिरीका अनुसार फाल्गुण २६ गतेदेखि चैत ३ गतेसम्म एक साताको अवधिमा जिल्लाका विभिन्न पालिकामा १६ वटा आगलागीका घटना भएका छन् । अधिकांश आगलागीको कारण भने खुल्न नसकेको बताइन्छ । बिद्यूत सर्ट भएर आगलागी भएको बताइने गर्छ ।

मेचीनगर नगरपालिका वडा नं. १५ को भगवती प्लाइ उद्योगमा भएको आगलागीबाट १५ करोड ३२ लाखको क्षति भएको छ । यहाँ लागेको आगो नियन्त्रण गर्न दूई दिन लागेको थियो । कन्काइ, शिवसताक्षी, भद्रपुर, झापा, हल्दिबारी, गौरीगंज र दमकमा गरी १६ वटा आगलागीका घटना भएको उहाँले जानकारी दिनु भयो ।

मुख्य गरी विद्युत सर्ट, बालबालिकाले परालको कुन्यूनजिकै खेल्दा, परालको भुस बाल्दा, जङ्गलमा चुरोट खाएर जथाभाबी फ्याँक्ने लगायतका कारणले अगालागीका घटना भएको बताइने गरेको छ ।

हरेक वर्ष डढेलोका समाचार आउँछन्। कतै-कतै समुदायमा अझै पनि वनपाखामा डढलो लगाउने चलन छ। तारन्तार लाग्ने डढेलोका दीर्घकालीन प्रभाव हुन्छन्। हजारौं हेक्टरको वन पैदावार जल्छन्।

डढेलोले वनमा भएका पशुपन्छी चराचरको पनि मृत्यु हुन्छ। डढेलोले गर्ने नोक्सानीको राम्रो अभिलेख हुँदो हो त सबैभन्दा अधिक धनमाल क्षति गर्ने प्रकोपमा आगलागी नै पर्छ। डढेलो भएको जमिनमा भूक्षय बढ्छ। जलाधारको जलस्रोतको सन्तुलन बिग्रन्छ, पानी मूहान मासिन्छन्। वनपैदावार डढेर निस्कने धुँवा र कार्बन ग्यासबाट जलवायु र समस्त पर्यावरणमा क्षति हुन्छ।

तैपनि वन डढेलोेबाट हुने व्यापक क्षतिबारे सरोकारवालाले यथेष्ट चासो दिएको पाइँदैन। डढेलोले गर्ने हानी नोक्सानीका बारेमा सचेतना पनि कम छ।

एकातिर हाम्रो वन बढ्छ, कार्बन सञ्चिती गर्छ र हामी छिट्टै खुद शून्य कार्बन उत्सर्जन गर्ने देश बन्नेछौं भन्ने महत्वाकांक्षा छ। अर्कोतिर वर्षेनी आगलागीले वन विनास हुँदै छ, प्रदूषण बढ्दै छ। डढेलो नियन्त्रणका लागि राष्ट्रिय प्रयास गरिनु पर्छ। जोखिम कम गर्ने साथै आगो निभाउने प्रविधि र उपायहरू अपनाउन अग्रसर हुनुपर्छ।

वायुमण्डलमा हरितगृह गुण भएका कार्बनडाइअक्साइड, मिथेन जस्ता ग्यासहरू थपिएका कारणले जलवायु प्रणाली तात्दै गएको छ। गर्मी हुने ऋतुमा अझै गर्मी बढ्दै छ। परिणामस्वरूप खडेरी, हुरिबतास जस्ता बिषम मौसमी घटना बढ्नेछन्। सँगसँगै आगलागीको जोखिम पनि बढ्नेछ। जलवायु परिवर्तनका कारण विश्वमा वन डढेलोको प्रकोप बढेको पुष्टि भइसकेको छ।

गर्मी र सुक्खा बढेपछि घर गोठ उद्योग कलकारखानामा पनि आगलागीको जोखिम बढ्छ। आगलागीले हरित गृह ग्यास उत्सर्जन हुन्छ र जलवायु परिवर्तनलाई अझै छिटो बनाउँछ। हाम्रो पर्यावरणलाई उष्णीकरणबाट बचाउन पनि आगलागी कम गर्न अपरिहार्य छ।