माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई आज रुपन्देहीबाट नियन्त्रणमा लिइएको हो ।

महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

  • ‘रोल्पा जान हिँडेका थिए’

प्रहरीले उनलाई किन नियन्त्रणमा लिइएको हो भन्ने स्पष्ट जानकारी दिइसकेको छैन।

स्थानीय प्रहरीका अनुसार उनी रोल्पा जान हिँडेका थिए।

बढ्दो प्रहरी निगरानीका कारण अवस्था असहज भएको र प्रहरीलाई सजिलो बनाइने उद्देश्यले आफू रोल्पा नगएर काठमाण्डू फर्किन लागेको बताएको रूपन्देहीका एक प्रहरी अधिकारीले बीबीसीलाई बताए।

उनका अनुसार महरालाई भैरहवाबाट विमानमार्फत् काठमाण्डू लगिने छ।

कृष्णबहादुर महराका छोरा राहुल महराका गत भदौ महिनामा सुन तस्करीको एउटा मुद्दामा पक्राउ परेका थिए।

भेपमा लुकाएर नौ केजी सुन तस्करी गरिएको प्रकरणमा राहुल महरासहित विभिन्न व्यक्तिहरूविरुद्ध मुद्दा परेको छ।

  • सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले साढे पाँच महिनापछि आफ्नो प्रतिवेदन गत साता गृहमन्त्रीलाई बुझाएको थियो।

आयोगका अध्यक्ष डिल्लीराज आचार्यका अनुसार प्रतिवेदनले दोषीमाथि मुद्दा चलाउन र विभागीय कारवाही गर्न सिफारिस गरेको छ।

सीडीआर (कल डिटेल्ड रिपोर्ट)/डीएफएल (डिजिटल फरेन्सिक ल्याब) मा नियमित देखिएका व्यक्तिहरूको सूची तथा निर्दोष देखिएकाहरूको नामावली पनि प्रतिवेदनमा समेटिएको छ।