रङ, प्रेम र सत्यको पर्व : रंङ्गीन पर्व विश्वभर

काठमाडौँ । नेपाली समुदायमा होली पर्वको विशेष महत्व छ । विशेषगरी हिन्दुहरुको धार्मिक परम्परामा होली अर्थात् फागु पर्वको विशेष महत्व रहेको पाइन्छ । नेपालको तराईदेखि पहाड र हिमालसम्म यस पर्वको रौनक व्यापक हुने गर्छ । राष्ट्रिय पर्वका रुपमा मानिने होली उत्साह, उमङ्ग र रंगहरुको चाड हो ।

होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ । यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली रङ्गहरूको चाड हो ।

होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् ।

भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् । यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ  ।

होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए ।

हिरण्यकश्यपुका छोरा प्रह्लाद बिष्णुका परम भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएका थिए । एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएको थियो ।

दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध चुसाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।

  • राधा कृष्ण तथा ब्रजवासी होली खेल्दै

होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ। भारतमा पर्ने विंध्यक्षेत्रको रामगढ भन्ने स्थानमा स्थित ईसापूर्व ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ । संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो ।

फागु पूर्णिमाको अवसरमा नेपालमा पनि विभिन्न जाति, समुदाय र क्षेत्रका आधारमा फरक फरक तरिकाले होलीमा रमाउने चलन छ । काठमाडौं उपत्यकामा बसन्तपुर दरबार परिसरमा चीर अर्थात् लिङ्गो गाडेपछि सुरु हुने होली अन्तर्राष्ट्रिय पर्वका रुपमा पनि मान्ने गरिन्छ । विश्वका विभिन्न भूभागमा बसोबास गर्ने नेपालीहरुले होलीलाई उत्साहका साथ मनाउने गर्छन् ।

नेपालमा विभिन्न किसिमले होली मनाइए पनि होलीजस्तै पर्व विश्वका अन्य देशहरुमा पनि मनाउने प्रचलन छ । हिन्दुहरुले मनाउने होली र विदेशका विभिन्न राष्ट्रमा मनाउने यस्तै प्रकृतीको पर्वको उदेश्य एकआपसमा भाइचाराको सम्बन्धलाई गाढा बनाउने नै हो । साथै खुशीयाली साट्ने देखि असत्यमाथि सत्यको विजय भएको अवसरका रुपमा मनाउने चलन विश्वभर छ ।

  • भारतमा ‘फगुवा’

छिमेकी देश भारत पनि हिन्दु बहुल देश भएकाले नेपालकै जस्तो रौनक त्यहाँ पनि हुने गर्छ । भारतमा होलीको विशेष महत्व रहेको पाईन्छ । ‘फगुवा’ अर्थात् ‘होली रे’ भन्दै भारतका सबै प्राप्तमा यस पर्वको रौनकता ब्यापक हुने गर्छ । भारतमा यस दिनलाई राष्ट्रिय पर्वको रुपमा लिने गरिन्छ । घरपरिवार, आफन्त, साथीभाइ आपसमा रङमा रंगीएर उल्लासपूर्वक मनाउने गरिन्छ । फगुवा खेल्दै उल्लास, उत्साह र उमंगकासाथ मनाउँदै यसलाई रंगीन बनाउने प्रचलन छ । बंगलादेशमा पनि हिन्दुहरुले होलीलाई विशेष पर्वका रुपमा मनाउने गर्छन् । उता श्रीलंकामा फागु पर्वका बेला अग्नीको विशेष पूजा गर्ने चलन छ ।

  • चीनमा ‘पोयावामा’

चीनको ‘पोयावामा’ पर्व होलीसँग केही मेल खान जान्छ । चीनका ताई जातीका मानिसहरुले पानी छ्यापेर यस पर्वलाई उल्लासका साथ मनाउने गर्छन् । परापूर्वकालमा ‘छुडबिंङ’ नामक राक्षसले जोकोही सुन्दरी केटीलाई लिएर जाने र दुःख दिने गरेकाले पछि सुन्दरी केटीले नै मारेपछि सोही दिनलाई पर्वका रुपमा मनाउने थालिएको किवदन्ती छ । चीनमै ‘ज्वेजे’ नामक पर्व पनि मनाईन्छ । यो पर्व वसन्त ऋतु सकिनासाथ प्रारम्भ हुने गर्दछ । यस पर्वमा मानिसहरुले विभिन्न रंगका कपडा लगाउने र आगो बालेर पूजा गर्ने गर्छन् । यस अवसरमा विभिन्न खेल प्रतियोगिताहरु गराइने साथै शुभकामना आदानप्रदान गर्ने चलन छ ।

  • जर्मनीमा ‘कारनिवाल’

जर्मनीमा विभिन्न पर्वहरुमध्ये होली जस्तै यो पर्वहरु पनि राष्ट्रिय पर्वकै रुपमा मान्ने चलन छ । बर्षेनी मनाइने इस्टर पर्वको समयमा ‘कारनिवाल’ को विशेष रौनक हुन्छ । साँझको समयमा स्थानीयबासीले घाँसको पुतला बनाएर जलाउँछन् ।  जलाइसकेपछि एक भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्छन् र एकअर्कालाई रंग दलेर खुशीयाली साट्ने गर्छन् । रंग एकै किसिमको भने हुँदैन । विभिन्न स्थानमा दाउरा बालेर आपसमा रंग छ्याप्तै नाच्ने र गाउने प्रचलन रहि आएको छ ।

  • थाइल्याण्डमा ‘साङफ्रान’

थाइल्याण्डमा बौद्ध धर्मावलम्वीहरुको धेरै बसोबास रहेको छ । थाइबासीका पनि अनेकन पर्वहरु छन्, जसमध्ये साङफ्रान होलीसँग लभभग मेल खान्छ । किनकी यो पर्व अप्रिल महिना अर्थात् वैशाखमा मनाइन्छ । उनीहरु सुगन्धित पानी र रंग खेलेर यस पर्वलाई मनाउने गर्छन् । होली नेपालीले घर, सार्वजनिक स्थलहरुमा मनाइए जस्तै थाइबासीले यो पर्व विशेष गरी मठमन्दिर वा गुम्बामा गएर मनाउने गर्छन् । त्यहाँ उनीहरुले बुद्धको पूजा अर्चना गर्ने र बौद्धभिक्षुहरूलाई दान दिन्छन् । साथै भने बुढापाकाबाट आर्शिवाद लिने गर्छन् ।

  • यूनानमा ‘मेपोल’

यूनानी समुदायले बर्षेनी विभिन्न पर्वहरु मनाउँछन् तर ‘मेपोल’ नामक पर्व होलीसँग लगभग मिल्दोजुल्दो रहेको पाईन्छ । चोक चोकमा लिङ्गो गाडेर काठहरू जम्मा गरि आगो लगाइन्छ । आगो लगाइसकेपछि युनानीहरु रंगको ब्यापक प्रयोग गर्ने गर्छन् । उनीहरु रंग दल्ने भन्दा पनि उडाएर खुशीयाली मनाउने गर्छन् । आगो बालेर रंग उडाउँदा देवता प्रशन्न हुने  विश्वास गर्छन् ।

  • स्लोभाकियामा ‘बेलियाकोनेन्से’

स्लोभाकिया गणराज्यमा ‘बेलियाकोनेन्से’ नामक पर्व होलीसँग ठ्याक्कै मिल्दोजुल्दो छ  । विश्वभर भ्यालेन्टाइन पर्वले स्थान जमाए जस्तै यहाँका युवायुवतीहरू माझ ‘बेलियाकोनेन्से’ ले स्थान पाएको छ । युवायुवतीहरू एकअर्कामा रंग, पानी र परफ्युम छ्याप्ने गर्छन् । एक आपसमा प्रेमभाव व्यक्त गर्न पनि यो पर्व बढी लोकप्रिय छ । त्यसबाहेक हरियो घाँसबाट बनाइएको विशेष प्रकारको लुगा लगाएर नाच्ने र रमाउने प्रचलन छ । यही पर्व चेक गणराज्यमा पनि उस्तै चर्चित छ ।

  • पोल्याण्डमा ‘असिना’

पोल्याण्डमा धेरैजसो क्रिश्चियनहरुको बाहुल्यता छ । यसभित्र पनि कतिपय जातजाती वा समुदायहरुका आफ्नै परम्परा र पर्वहरु रही आएका छन् । त्यसमध्ये ‘असिना’ नामक पर्व हिन्दुहरुको जस्तै गरी मनाइने गरिन्छ । मानिसहरू एकआपसमा रंग दलेर खुशी साट्ने गर्छन् । यस पर्वका अवसरमा विभिन्न परिकारहरु भन्दा पनि मिठाइ बाँढ्ने गरिन्छ । उता लाओस नामक देशमा अंग्रेजी नयाँबर्षको सुरुवातमा होलीजस्तै एक पर्व मनाइने गरिन्छ । यस अवसरमा उल्लासका साथ रंग दल्ने गरिन्छ ।

  • इंगल्याण्डमा ‘माई फाक्स डे’

यहाँको यो पर्व नेपालकमा जस्तै रंगहरुको प्रयोग गर्ने र उल्लासका साथ ‘माई फाक्स डे’ पर्व मनइने गरिन्छ । यो पर्व त्यहाँ युवाहरुमाझ बढी लोकप्रिय छ । यस पर्वका अवसरमा शुभकामना आदनप्रदान साथै आर्शिबाद लिने प्रचलन छ । उता अष्ट्रेलियामा २१ मार्चमा मनाइने ‘वैली’ नामक पर्व पनि होलीसँग मेल खान्छ । यस दिन रंगहरुको प्रयोग गर्दै सांगीतिक कार्यक्रमहरुको आयोजना गरी पर्वलाई उल्लासमय बनाइने गरिन्छ ।

  • अमेरिकामा ‘हलोइन’

होलीसँग मिल्दो पर्व हो हलोइन । यो अमेरिकामा प्रख्यात छ । प्रत्येक बर्षको अक्टोबर ३१ का दिन मनाइने यो पर्वमा पनि रंगहरुको व्यापक प्रयोग हुन्छ । खासगरी नेपालको गाइजात्रासँग मेल खाने यो पर्वमा भूतको पहिरनमा शहर परिक्रममा गर्ने गरिन्छ । यस अवसरमा भूत र सैतानका रुपमा हाँसिमजाग गर्ने साथै विभिन्न तरिकालो रमाइलो गर्ने प्रचलन छ । अनुहारमा रंगहरुले पोतेर मनाइने भएकाले यो पर्व रंगिन बन्न गएको हो । यसअवसरमा घर घरमा गएर चक्लेट र क्यान्डी माग्ने गरिन्छ ।

  • स्पेनमा ‘ला टोमाटिना’ र ‘ब्याटल डेल भिनो’

स्पेन चमत्कारपूर्ण खेल र पर्वले प्रख्यात देश हो । यहाँ नेपालको होली जस्तै जुन महिनाको २९ तारिखमा एक अर्कालाई वाइन छ्यापेर ‘ब्याटल डेल भिनो’ अर्थात ‘वाइन’ फेस्टिभल मनाउने चलन छ । त्यस्तै स्पेनको भ्यालेन्सियामा पाकेको टमाटर फुटाई एक अर्कालाई प्रहार गरि ‘ला टोमाटिना’ मनाउने गरीन्छ । यो पर्व अगष्टको अन्तिम बुधबार पर्ने गर्छ । विहानैदेखि पटका पड्काउँदै दिनभर उत्साहपूर्वक यो पर्व मनाउने गरिन्छ । अष्ट्रेलियामा पनि यो पर्व मनाउने चलन छ ।

  • दक्षिण कोरियामा ‘बोरेयोङ मड’

यो पर्व करिब दुइ हप्तासम्म लगातार मनाउने गरिन्छ । तर यस पर्वका अवसरमा पानी र रंग नभई हिलो छ्यापेर मनाउने चलन छ । विशेष गरी दक्षिण कोरियाको बोरेयोङ क्षेत्रमा मनाइने यो पर्व जुलाई महिनामा पर्छ । बोरेयोङ क्षेत्र कस्मेटिङ सामाग्री उत्पादन हुने किसिमको माटो पाउने भएकाले यहींको माटो प्रयोग गरी एकआपसमा हिलो छ्याप्दै पर्व मनाउने गरिन्छ ।

फाल्गुने पौर्णमासी च सदा बालविकासनी ।
ज्ञेया फाल्गुनीका सा ज्ञेया लोकविभूतये ।।

अर्थात् फागुपूर्णिमा पर्व बालक्रिडा र बालविकासका लागि मनाइन्छ । फागु दुनियाँलाई धन्यधान्यबाट समृद्ध गरी मनोरञ्जक क्रिडाका लागि प्रसिद्ध छ । यसैगरी, बराह पुराणमा पनि फागुलाई फाल्गुनीका धनी यस पर्वमा अबिर जस्तो चूर्ण प्रयोग गरी क्रिडा गरेमा सबैको भलो हुने कुरा उल्लेख छ । श्री हर्षचरित संस्कृतको रत्नावली नाटिकामा पनि कोशाम्बी नगरीमा अबिर आदि रङ परम्परामा छ्याप्दै फागु खेलेको चित्रण छ ।

आयुर्वेद शास्त्रमा केशरी, अबिर जस्ता प्राकृतिक रङको प्रयोगले जीवनमा खुसी गरी छालालाई सफा गर्ने कुराको सङ्केत पाइन्छ । कृषि शास्त्रका दृष्टिले पनि होलक लातीति होलिका अर्थात् केराउ, चना आदिका बालालाई भुट्न, पोल्ने कामलाई होलक भनिन्छ र चना जौ, गहुँ आदि नयाँ अन्न अग्निलाई भोग लगाउने समय जुन पर्वले ल्याउँछ, त्यो पर्व नै होलिका हो ।

फागुको समयमा पाकेका चना आदि प्राणपोषक नयाँ अन्नलाई अग्नि देवतालाई चढाएर मात्र घरमा भित्र्याउने परम्परा विशेष रूपमा मिथिलाञ्चलमा रहिआएको छ । होली सबै प्रकारका राग, द्वेषरहित सद्भाव र समताको पर्व हो भन्ने कुरा ‘होलान्ति समतापर्वः’ भन्ने श्लोकबाट पुष्टि हुन्छ ।

फागुन महिनाको पूर्णिमा तिथिमा होलिका दहन गरिन्छ, त्यसको भोलिपल्ट बिहानै उठेर होलिकात्सव मनाइन्छ । होलिका वसन्त आरम्भको बेलाका एक लोकप्रिय पर्व हो । फागुलाई मैथिली भाषामा फगुवा अथवा होरी भनिन्छ । यो पर्व अत्यन्त लोकप्रिय र प्राचीनकालदेखि नै मनाइँदै आएको तथ्य पाइन्छ ।

पौराणिक कथा अनुसार, प्रह्लादकी फुपू होलिकालाई भस्म नहुने वरदान प्राप्त भएकाले आफ्ना दाइ हिरण्यकश्यपुको आज्ञा अनुसार उनी प्रह्लादलाई मार्न उसलाई काखमा राखी आगोमा पस्दा मरिन् तर ईश्वरयुक्त प्रह्लादलाई केही नभएको सम्झनामा होलिकालाई जलाएर होलिकात्सव मनाइने गरिएको छ ।