एक दशकसम्म पनि भएन पुल निर्माण

काठमाडौँ । पूर्वी नवलपरासीको बुलिङटार र तनहुँको ऋसिङ गाउँपालिकाको गडगडीघाटको कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको निर्माण सुरु भएको १० वर्ष बित्न लाग्दासम्म तीन पिल्लर मात्र बनाएर ठेकेदार फरार भएपछि स्थानीय चिन्तित भएका छन् ।

कालीगण्डकी कोरिडोर हुँदै बुलिङटारको कोखेबाट तनहुँको ऋसिङको मधुवन हुँदै रूपटार भएर भिमाद पुग्न पक्की पुलको निर्माण सुरु गरिएको १० वर्ष बित्न लाग्दा पनि काम हुन सकेको छैन । बुलिङटार गाउँपालिकाका पूर्वकार्यपालिका सदस्य गौतम दरैले चार वर्षमा सक्ने गरी अघि बढेको उक्त पुल अहिले अलपत्र अवस्थामा पुगेपछि स्थानीयले सङ्घीय सरकार, प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो ।

कालीगण्डकीमा सङ्घीय सरकारको बजेटबाट यहाँ पक्की पुलको निर्माण सुरु भएको १० वर्ष बित्न लाग्दा अहिलेसम्म पुलको तीन वटा खम्बा मात्र बनेका छन् । त्योभन्दा बढी कामै हुन नसकेको स्थानीय बुलिङटार–४ का पूर्ववडाध्यक्ष चेतबहादुर गोदामीमगरले बताउनुभयो ।

छ महिनाअघि ठेकेदार देखा परेको तर फेरि गायब भएकाले पुल कहिलेसम्म अलपत्र पर्ने हो ठेगान नभएको उहाँले बताउनुभयो । बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीमगरले कालीगण्डकी नदीमा बन्न लागेको पक्की पुलको ठेक्का पाएको कम्पनी नागार्जुन कन्स्ट्रक्सनले चार वर्षमा सक्ने गरी ठेक्का लिएको र अहिलेसम्म २० प्रतिशत पनि काम हुन नसकेको बताउनुभयो ।

तनहुँस्थित ऋसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले यो पुल निर्माण अलपत्र परेपछि यसको ठेक्का लिएको ठेकेदारको बारम्बर खोजी गरिरहे पनि पत्ता लगाउन नसकिएको र स्थानीय प्रशासनको समेत ध्यानाकर्षण गराइएको बताउनुभयो ।

छ महिनाअघि सम्पर्कमा आएको ठेकेदारले काम सुरु गरेको भए पनि फेरि बिचमै काम छाडेर हिँडेपछि अहिले पुल अलपत्र अवस्थामा पुगेपछि स्थानीय प्रशासनले समेत चासो दिन थालेको जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

हुन त अन्य क्षेत्रमा पनि पक्की पुलको निर्माण अलपत्रपरेका धेरै उदाहारण छन् ।

उदाहारण नं. १

निर्माण सुरु भएको एक दशकसम्म पनि बालाजु–त्रिशूली सडक सम्पन्न भएको छैन । निर्माणाधीन बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी मध्ये बालाजु–त्रिशूलीअन्तर्गत साँढे चार किमी मात्रै सडक निर्माण भएको छ ।

लामो समयसम्म निर्माण व्यवसायीले काम नगर्दा अवरुद्ध सडकको ठेक्का गत वर्ष तोडिए पनि कानुनी अड्चनका कारण नयाँ ठेक्कामा जान नसक्दा निर्माण रोकिएको बालाजु–त्रिशूली–छहरे–बिदुरसडक योजनाका इन्जिनियर सागर भण्डारीले बताए । उनका अनुसार विसं २०७०÷७१ म निर्माण कम्पनीसँग सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।
बालाजुदेखि पिपलटारसम्मको सडक निर्माणको जिम्मेवारी आइपीएल र सैलुङ कन्स्ट्रक्सनलाई दिइएको थियो । पटक–पटक अवधि थप हुँदासमेत काम नभएपछि गतवर्ष ठेक्का तोडेको उनले बताए । उनले भने, “अहिले हामी बाँकी खण्डमा ठेक्का व्यवस्थापनको प्रक्रियामा अगाडि बढाउन लागेका छौँ ।”
मुड्खु–तिनपिप्ले खण्डमा कालोपत्र भएपछि अहिले तिनपिप्लेबाट रानीपौवा खण्डको निर्माण बाँकी रहेको योजनाले जनाएको छ । “यसअघि काम गरेको निर्माण कम्पनीको मुद्दा चलिरहेको छ भने रानीपौवादेखि पिपलटारसम्म खण्डको पनि मुद्दा अदालतमा विचाराधीन छ”, इन्जिनियर भण्डारीले भने ।

वर्षाको समयमा आवागमनमा निकै सास्ती हुने गरेको स्थानीयको भनाइ छ । अहिले सडक बिग्रिएको ठाउँमा काठमाडौँस्थित डिभिजन सडक कार्यालयले मर्मत गरिरहेको छ ।

इन्जिनियर भण्डारीले वर्षाको समयमा पनि आवागमन नरोकिने गरी मर्मत भइरहेको बताए । “तीनपिप्लेबाट–रानीपौवा १२ दशमलव ५१ किमी र रानीपौवा–पिपलटार ३३ दशमवलव ६९ किमी गरेर झण्डै ५५ किमी लम्बाइ छ । बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी गरी यस यो योजनाले ६६ किमी सडक निर्माण गर्नुपर्ने छ”, उनले भने ।

उदाहारण नं. २

पाल्पाका विभिन्न स्थानबाट अन्तर जिल्ला जोड्ने गरी कालीगण्डकीमा करोडौँका मोटरेबल पुल निर्माणका क्रममा रहेका छन् । कालीगण्डकीमा पाल्पादेखि स्याङ्जा, तनहुँ जिल्ला जोड्ने गरी पुल योजना पश्चिम सेक्टर ४ पाल्पाको प्राविधिक रेखदेखमा निर्माणका क्रममा रहेका हुन् ।

सेक्टरका प्रमुख कृष्णप्रसाद ढुंगानाका अनुसार जिल्लाको हुँगी, रानीघाट, पुट्टारघाट, गेझाको बर्दलेघाटमा दुई वर्षभित्र निर्माण कार्य पूरा हुने र यम्घाको दर्पुकघाट निर्माणका लागि डिजाइनको चरणमा रहेको छ ।

कालीगण्डकी किनाराका जनतालाई सहज रुपमा आवतजावत गर्न र यातायातले जोडिसकेकाले कृषि उपज सहज रुपमा बजार पुर्याउनका लागि यस्ता पुलहरुले सहयोग पुग्नेछ । पक्की पुल निर्माण पूर्व केही स्थानमा झोलुङ्गे पूल भए पनि ती पुल पुराना र जीर्ण भएकाले पक्की पुलको आवश्यकता रहेको स्थानीयवासी बताउँछन् ।

कार्यालयका अनुसार हुँगीको असेर्दीघाटमा निर्माणको चरणमा रहेको पुलको निर्माण कार्य आगामी असारमा सम्पन्न गर्ने गरी एक करोड ५२ लाख ४९९ रुपैयाँ, रानीघाटमा निर्माणको अन्तिम चरणमा पुगेको पुल आगामी जेठसम्म निर्माण कार्य पूरा गर्ने गरी एक करोड ९० लाख ६ सय ९७ रुपैयाँ, तनहुँ पाल्पा जोड्ने गरी पुट्टारघाटमा दुई वर्षमा सम्पन्न गर्ने गरी डिजाइनको चरणमा रहेको पुलको लागत दुई करोड ४७ लाख ९ शय ७९ रुपैयाँ, गेझाको वर्दले र यम्घाको दर्पुकमा डिजाइनको चरणमा र दुई वर्षमा सम्पन्न गर्ने गरी पाँच करोड ४० लाख २१ रुपैयाँको स्टिमेट गरिएको छ । यम्घाको दर्पुकमा भने डुंगाबाट नै वारपार गर्नुपर्ने बाध्यता कायमै रहेको बताइएको छ ।

Leave a Reply