घरआँगनमै स्वास्थ्य सेवा

सुर्खेत । गाउँमा स्वास्थ्य संस्था थिएनन्। सामान्य रोगले च्याप्दा पनि उपचारका लागि जिल्ला सदरमुकाममा रहेको अस्पताल पुग्नुपथ्र्यो। कमजोर आर्थिक अवस्थाका कारण ऋण गरेर उपचारका लागि सदरमुकाम पुग्न सजिलो थिएन।

दैलेखको दुल्लु नगरपालिका–१० की गीता थापाका लागि ती दिन निकै कष्टपूर्ण थिए तर अहिले त्यस्तो छैन। गाउँमै स्वास्थ्य चौकी छ। उहाँका लागि बिरामी हुँदा जचाउने पहिलो अस्पताल त्यही हो। घरआँगनमै सेवा पाउँदा निकै सहज भएको गीता बताउनुहुन्छ।

गीताका अनुसार अहिले त गाउँ–ठाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएका छन्। बिरामी हुँदाबित्तिकै स्वास्थ्य चौकी पुगेर जाँच गर्ने गरिएको छ। स्वास्थ्य चौकीमा उपचार सम्भव नभए स्वास्थ्यकर्मीको सुझावअनुसार अन्य अस्पताल पु-याइन्छ। उहाँले भन्नुभयो, “सामान्य रोग लाग्दा पनि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था अहिले छैन।”

स्थानीय सरकार बनेसँगै गाउँ–गाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएको छ। स्वास्थ्य चौकी नभएका स्थानमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएका छन्। जसले गर्दा नागरिकले सहज रूपमा सेवा पाइरहेका छन्।

सोही वडाकै प्रकाश थापाले गाउँमै स्वास्थ्य सेवा सहज रूपमा पाइएको बताउनुहुन्छ। उहाँले भन्नुभयो, “सोही सेवा लिन पहिले जिल्ला अस्पताल जानुपथ्र्यो। अहिले घरआँगनमै सेवा पाउँदा खुसी लागेको छ।”

‘गाउँका अस्पताल’का रूपमा परिचित स्वास्थ्य चौकीले पछिल्लो समय भौतिक संरचनाका साथै सेवामा समेत सुधार र विस्तार गरेका छन्। स्थानीय सरकारले जनताको स्वास्थ्य सेवा पाउने अधिकारलाई सुनिश्चित गर्दै गाउँगाउँमा बर्थिङ सेन्टर र सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने काम पनि अघि बढाएका छन्। बर्थिङ सेन्टरको स्थापना भएसँगै गर्भवतीको नियमित गराउनुपर्ने स्वास्थ्य जाँच पनि प्रभावकारी भएको दैलेखको आठबीस नगरपालिकाका जनस्वास्थ्य अधिकृत देवराज तिमिल्सेनाले बताउनुभयो।

उहाँका अनुसार पछिल्लो समय स्वास्थ्य संस्थामै बच्चा जन्माउने महिलाको सङ्ख्यामा पनि वृद्धि भएको छ। पहिले स्वास्थ्य सेवा पाउन निकै मुस्किल हुन्थ्यो। अहिले बर्थिङ सेन्टर स्थापना भएसँगै स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य संस्थामै बच्चा जन्माउनेको सङ्ख्या बढेको छ।

आठबीस–२ मा रहेको साताला स्वास्थ्य चौकीले एक वर्ष पहिलेदेखि बहिरङ्ग सेवा दिन थालेको छ। कुपोषित बालबालिकाका लागि बहिरङ्ग सेवा सुरु भएको हो। पहिले स्वास्थ्य संस्थामा उक्त सेवा नहुँदा जिल्ला अस्पताल तथा पोषण पुनस्र्थापना केन्द्रमा जानुपर्ने बाध्यता थियो। अहिले स्वास्थ्य चौकीमा सेवा लिने सेवाग्राहीको सङ्ख्या पनि बढेको छ।

घरआँगनमै स्वास्थ्य सेवा पाएपछि नागरिकको स्वास्थ्य चौकीप्रतिको विश्वास बढेको स्वास्थ्य चौकीका इन्चार्ज ध्रुवराज विष्टले बताउनुभयो। स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन हुँदा असुरक्षित रूपमा घरमा सुत्केरी हुने महिलाको सङ्ख्यामा कमी आएको विष्टले बताउनुभयो।

स्वास्थ्य चौकीहरूले बर्सेनि सेवा बढाउँदै गएका छन्। दैलेखको भगवतीमाई गाउँपालिका–३ मा रहेको मेहेलतोली स्वास्थ्य चौकीले गाउँमै बहिरङ्ग सेवा, परिवार नियोजन सेवा, पोषण सुधार कार्यक्रम, सुरक्षित मातृत्वअन्तर्गत गर्भवती जाँच सेवा, सुत्केरी भेटघाट कार्यक्रम, परिवार नियोजन परामर्श सेवा दिइरहेको छ।

बर्थिङ सेन्टरमा ल्याएर सुत्केरी गराउँदा आमा र बच्चाको स्वास्थ्य सुरक्षित एवं सुधार हुने र स्वास्थ्य चेतनाको विकास हुने भएकाले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको स्वास्थ्य चौकी इन्चार्ज महेन्द्र भारतीले बताउनुभयो। उहाँले भन्नुभयो, “गाउँटोलमै स्वास्थ्यकर्मी परिचालन गरेर पनि सेवा दिने गरिएको छ। घर–घरमा स्वास्थ्य सेवा र सुविधा पु-याउने उद्देश्यले चार पटक स्वास्थ्यकर्मी सुत्केरी भेटघाट कार्यक्रम राखिएको छ।”

सुर्खेतको लेकबेँसी नगरपालिकामा चारवटा स्वास्थ्य चौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, पाँचवटा आधारभूत स्वास्थ्य केन्द्र र तीनवटा सामुदायिक स्वास्थ्य एकाइ छन्। पालिकाका १० वटै वडामा स्वास्थ्य एकाइ रहेका छन्।

प्रत्येक वडामा स्वास्थ्य चौकी हुँदा नागरिकले घरआँगनबाटै प्रभावकारी सेवा पाइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महेश गिरीले बताउनुभयो। स्थानीय स्वास्थ्य संस्थाको सेवामा सुधार भएसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या पनि बढेको छ। उहाँका अनुसार आवश्यक परामर्शसहितको सेवा स्वास्थ्य चौकीबाटै प्रदान हुने गरेको छ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading