
काठमाडौं । प्रहरीले हनि ट्रयापको धन्दामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ७ घर भइ काठमाडौंको बौद्व बस्दै आएका २० वर्षकी सिर्जना तामाङ र सिन्धुपाल्चोककै जुगल गाउपालिका वडा नम्बर ५ घर भइ काठमाडौंको मुलपानीमा बस्ने २९ वर्षका लिलाबहादुर तामाङ रहेका छन् ।
महिला र पुरुषको समुहलाई सामाजिक संजाल मार्फत परिचालन गरेर फोन आदानप्रदान गरी सम्पर्क तथा प्रत्यक्ष भेटघाट गराई अश्लिल भिडियो बनाई उक्त भिडियो पिडितलाई पठाएर ब्ल्याकमेल गरी रकम असुल गर्ने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
- ‘हनि ट्रयाप’ जालोमा युवक फसाउने भावनाको कथा
हनि ट्रयापको अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
सोमबार थुनछेक प्रयोजनका लागि भएको सुनुवाइपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएका हुन् । ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातमा फुर्वा मोक्तानले दिएको जाहेरीका आधारमा भक्तपुर प्रहरी परिसरले प्रतिवेदन तयार पारी सरकारले भावनाविरुद्ध भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
सम्पत्ति हत्याउन पटकपटक बिवाह गर्ने र विवाह गरेपछि सम्पत्ति लिएर सम्बन्धविच्छेद गर्ने गरेको प्रमाण भेटिएपछि रौतहट स्थायी घर भएका फुर्वा मोक्तानले भावना तामाङविरुद्ध १ करोड ४५ लाख रुपैयाँ बराबरको सम्पत्ति हडपेको भन्दै असार १० गते शुक्रबार भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
आफू मलेसियामा रहँदै गर्दा फेसबुकमा फ्रेण्ड रिक्वेष्ट पठाएर आफूलाई अविवाहित हो भनी विश्वास दिलाएको, बिवाहको प्रलोभन देखाएर बिवाहको नाटकसमेत गरी आफूसँग करिब १ करोड ४५ लाख रुपैयाँ नगद लिएको र पछि सम्पर्कविच्छेद भएको भन्दै उनीविरुद्ध उजुरी गरेका थिए ।
यसरी हनि ट्रयापका मुद्दामा भक्तपुर जिल्ला अदालतले प्रतिवादी भावना तामाङलाई थुनाभित्रै रहेर मुद्दाको पुर्पक्ष गर्ने गरी कारागार पठाइदिएको हो ।
- के हो हनी ट्र्याप ?
केही समययता नेपाली अपराध अनुसन्धानमा एउटा शब्द निकै चर्चित भएको छ । त्यो चर्चित शब्द हो, हनी ट्र्याप ।
हनी ट्रयापमा पारेर ठगी गर्ने प्रचलन पछिल्लो समय नेपालमा पनि निकै देखिएको छ । विदेशी मुलुकमा सुनिने यस्तो घटना नेपालमा नै सुनिन थाल्दा यस्ता आपराधिक घटनालाई नियन्त्रण गर्ने सही कानूनको आवश्यकता महसुस हुन थालेको छ ।
तर यस्ता घटनामा परेर ठगिएकाहरु थोरै मात्र सार्वजनिक हुने गरेका छन् । लोकलाजले पनि यस्ता घटनामा परेकाहरु चुप रहने गरेका कारण यस्ता अपराधको वास्तविक जरो थाहा हुन सकेको छैन ।
अंग्रेजी शब्द हनी ट्रयापलाई नेपाली शब्दानुसार व्याख्या गर्दा महको आकर्षणद्वारा कसैलाई पासोमा पार्ने भन्ने बुझिन्छ । मीठा–मीठा शब्दका जालमा पारेर मानिसलाई फसाउने कार्य हो हनी ट्रयाप । अंग्रेजी शब्दकोषअनुसार कुनै आकर्षक व्यक्तिद्वारा अर्को व्यक्तिलाई लोभ्याएर सूचना संकलन गर्ने जुक्तिलाई हनी ट्रयाप भनेको देखिन्छ ।
सुरक्षा अङ्गहरुले सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानका लागि सोसँग सम्बन्धित सूचना संकलन गर्नका लागि सुरू गरेको हनी ट्रयापको जुक्ति अहिले वित्तीय अपराधको जगमा अन्य धेरै अपराधको माध्यम बन्न पुगेको छ ।
हनी ट्रयापकोे सुरूवातीको कुरा गर्नुपर्दा राष्ट्रिय सुरक्षाका खातिर अर्को देशमा विभिन्न पद,प्रतिष्ठा र शक्तियुक्त मानिस वा अन्य आकर्षक माध्यमबाट मानिस परिचालन गरेर सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्ने, देशका योजनाबारे जासुसी गर्ने र आफ्नो प्रतिरक्षा वा आक्रमण योजना तयार गर्ने गरेको देखिन्छ । यस्तो कार्यमा विशेषगरी महिलाको प्रयोग गर्ने गरिएको छ ।
तर, आजकल दिनानुदिन खतरा र चुनौती बढ्दो छ । प्राय: महिलाको शरीर, बोलीचाली र अन्य व्यवहारकोे आकर्षणमा पुरूषहरुलाई फसाएर आफ्नो स्वार्थ सिद्ध गर्ने कलाको रुपमा विकास भएको देखिएको छ, हनी ट्रयाप ।
हनी ट्रयापमा अहिले महिलाको सुन्दरतालाई अर्थोपार्जनको हतियार बनाएर तिनै सुन्दर महिलालाई प्रयोग गरेर पुरूषहरुलाई उम्किनै नसक्ने अवस्थाको पासोमा पार्ने र जुन उद्देश्यले पासोमा पारिएको हो त्यो उद्देश्य पूरा गरेर पुरूषलाई घर, परिवार, समाजका अगाडि जिउनै नसक्ने स्थीति तयार गरिएको पाईन्छ ।
एक्काइसौँ शताब्दी विज्ञान-सञ्चारको युग, त्यसमा पनि कोभिड–१९ को सङ्क्रमण र भय अनि वैदेशिक रोजगारीले इन्टरनेटको प्रयोगलाई घर–घरमा पुर्याएको छ । व्यक्ति–व्यक्तिमा पुर्याएको छ ।
अधिकांशले इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालको प्रयोग गर्न जानेपनि सुरक्षित प्रयोग गर्न जानिसकेको अवस्था देखिँदैन । कतिले जान्न चाहेका पनि छैनन् । केही मानिसलाई सामाजिक सञ्जालको यस्तो लत लागिसकेको छ कि बरू एक–दुई दिन खानै नखान सक्छन्, तर आफूसँग इन्टरनेट भएन भने छटपटी हुन थाल्छ ।
सामाजिक सञ्जालको प्रयोगमा पनि लागूऔषधको जस्तै दुव्र्यसन फैलिँदै गएको छ । मानिसले आफ्ना परिवार, नजिकका नातेदार, साथीसँगीभन्दा सामाजिक सञ्जालका साथीसँगीसँग समय बिताउन, मनका कुरा खोल्न सहज ठान्ने गरेको देखिन्छ । दिनरात नभनी सामाजिक सञ्जालमा आफ्ना भावनाहरु प्रस्तुत गर्दा कसैको फन्दामा परेको पत्तै हुँदैन र एक्कासि यस्तो जालोमा परिन्छ कि जसबाट उम्किनै सकिँदैन, अनि जुन बेला आफूलाई थाहा हुन्छ तब अत्यन्त ढिला भइसकेको हुन्छ ।
इन्टरनेटको माध्यमबाट सम्भ्रान्त परिवारका युवाहरु एवं प्रौढ, एकल पुरूष आदिसँग कुनै अपरिचित महिलाले आफ्नै सक्कली प्रोफाइलबाट वा कुनै अन्य कुनै सुन्दरीको आकर्षक फोटो राखेको नक्कली प्रोफाइलबाट परिचयको आदानप्रदान हुन्छ । केही पाउने लालचले कुनै पुरूषले त्यसको रेस्पोन्स गरेमा उनीहरुबीचको कुराकानी यतिसम्म गहिरिन्छ, यतिसम्म विश्वासमा पर्छन् कि उनीहरु नित्तान्त व्यक्तिगत कुराकानी समेत गर्न थाल्छन् ।
तत्कालै हटाउने सर्तमा केही गोप्य तस्वीरहरु पनि शेयर हुन सक्छन्, अडियो, भिडियो पनि शेयर हुन सक्छ । बिस्तारै पिडित पक्ष धोकापूर्ण मायाजालमा पर्दै जान्छ र आफूविरूद्ध प्रमाण लाग्ने, आफू फस्न सक्ने वा आफूमाथि बार्गेनिङ हुन सक्ने सबुतहरु उसलाई जुटाउँदै जान्छ भने पिडक पक्षले त्यसको संरक्षण गर्दै राखिरहेको हुन्छ ।
त्यसबेलासम्म केही रकमको लेनदेन भइसकेको पनि हुन सक्छ । हाम्रो समाजमा श्रम गर्नुपर्छ भन्ने भावना घट्दै गएको छ । प्राय: मानिसहरु आफ्नो ज्ञान,सीप र कलाअनुसारको उपलब्ध भएको श्रम गर्न छोडेका छन्, तर देशविदेशमा देखिएका सुखसुविधाहरु उपभोग गर्ने अभिलाषा भने बढाउँदै लगेका छन् ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.