
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका लागि राज्यको काम कारवाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय सूचना आयोग स्थापनाको १८औँ वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले सही सूचनाको प्रवाहबाट मात्र शासन व्यवस्थाप्रति नागरिक सहभागिता बढ्ने र शासन व्यवस्थाले वैधता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा प्रमुख सूचना आयुक्त, आयुक्तलगायत सम्पूर्ण कर्मचारीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालको संविधानले नेपाली नागरिकलाई प्रदान गरेको सार्वजनिक निकायमा रहेको आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक स्थापित गरेको उल्लेख गर्नुभयो ।
शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक शासन पद्धतिमा सार्वजनिक निकायहरु नागरिकप्रति जवाफदेही, उत्तरदायी र पारदर्शी हुन आवश्यक रहेको र जवाफदेहीता, उत्तरदायी र पारदर्शी क्रियाकलापबाट मात्र देशमा सुशासन कायम गर्न सहयोग पुग्ने उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा सूचनाको हकको कार्यान्वयनका लागि नेपाल सरकारलगायत सबै सार्वजनिक निकायलाई थप जिम्मेवार भएर लाग्न आह्वान गर्नुभएको छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.