
काठमाडौँ । मुलुक संघीय संरचनामा गइसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्यूटावर मोह बढेर गएको छ । विकासका नाममा देशभर भ्यूटावरको मोह बढ्दै गएका बेला धनकुटा पनि अछुतो रहन सकेको छैन । डाँडा आफैमा सुन्दर र मनमोहक हुने गर्दछन् ।
प्रकृतिले दिएका हरिया अग्ला डाँडामा सिमेन्ट र कंक्रिटको सहायताले थप केही मिटर प्लस गरेर हामी कस्तो विकासको मोडेल दिन खोजिरहेका छौं ? आज आम जनचासोको विषय बनिरहेको छ, यो सवाल । स्कुले विद्यार्थीदेखि प्रौढ श्रमिकसम्म, केही टाठाबाठा हौं भन्नेदेखि सर्वसाधारणसम्मले यस विषयमा आफ्नो मत प्रकट गरिरहेका छन् ।
हो, यतिबेला सामाजिक सञ्जाल तातेको छ । यी र यस्तै विषयका आक्रोशले छताछुल्ल भएको छ । अधिकांश मानिस सामाजिक सञ्जालमा क्रिया–प्रतिक्रिया जनाइरहेका छन् । भ्यूटावरका तस्वीरहरूप्रति व्यक्त गरेका रोष देख्दा लाग्छ, मानिसहरू आफ्नो नेतृत्वको अक्षमता, अदूरदर्शिताप्रति रुष्ट छन् र विकासको यो भद्दा मोडेलप्रति वितृष्णा ओकलिरहेका छन् ।
पछिल्लो समय नेकपा माओवादीको उद्गमस्थल भनेर चिनिने रोल्पामा ठडिएको भ्यूटावरको विधिवत् उद्घाटनपछि तमाम भ्यूटावरप्रतिका सामूहिक असन्तुष्टि छताछुल्ल भएका हुन् । सरकारी कोषबाट झण्डै ६ करोड लगानी गरिएको यो टावर फागुन १४ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा उद्घाटन गरिएपछि देशभरका भ्यूटावरहरूका विषयमा थप चर्चा–परिचर्चा चुलिन पुगेको हो ।
त्यसतै बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) प्रयोगविहीन बनेको छ। कावासोती नगरपालिका–१ बालुवाडाँडामा ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो।
तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग, रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले प्रयोगविहीन अवस्थामा पुगेको हो। टावरको अहिले स्टिलका बार चोरी हुन थालेका छन् भने भ्यूटावर मद्यपान र धुम्रपान गर्नेको रोजाइको केन्द्र बन्न थालेको स्थानीय जितुमाया रानाले बताइन्।
‘अहिले त भ्यूटावरमा लगाइएको स्टिलको बार काटेर लगिएको छ। भित्ताका प्लास्टर उप्किएको छ, लेउ लागेको छ, यत्रतत्र फोहाेर फालिएको छ,जमिन पनि धाँजा भएर फाट्न थालेको छ’, उनले भनिन्।
टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र स्थानीयको आयआर्जनमा वृद्धि हुने आशाले रानालगायत भ्यूटावर नजिकै घर भएका स्थानीयवासी खुसी भएका थिए। तर भ्यूटावर बनेको तीन वर्ष हुँदासम्म पनि सञ्चालनमा नआउँदा खुसीभन्दा पनि अहिले असुरक्षा बढेको रानाले बताइन्।
‘भ्यूटावर सञ्चालन गर्ने निकाय नहुँदा विकृति बढ्दै गएको र बाटोमा हिँड्न पनि डरलाग्दो भएको छ’, उनले भनिन्,‘अबेर रातिसम्म मदिरा सेवन गर्नेको समूह धेरै आउन थालेको छ, कहिलेकाहीँ त दिउँसै पनि लट्ठिएर हिँड्दा स्थानीय बालबालिकालाई पनि डर हुने अवस्था सृजना भएको छ।’
कावासोती –१ का वडाध्यक्ष तबारक अहमद मियाँले भ्यूटावर सञ्चालनमा नआए पनि दैनिक सयभन्दा धेरै आन्तरिक पर्यटक भ्यूटावर क्षेत्र घुम्न आउने गरेको बताए। ‘तत्काल भ्यूटावर व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी नगरपालिकामा पहल गरिरहेको छु’, उनले भने, ‘व्यवस्थित रूपमा भ्यूटावर सञ्चालन नहुँदा दैनिक आम्दानीको स्रोत गुमिरहेको छ भने रेखदेख नहुँदा त्यस क्षेत्रमा फोहाेरको थुप्रो लागेको छ।’
भ्यूटावरको वरिपरि पहिरो जान थालेपछि आर्थिक वर्ष २०७९/८० मा १० लाख बजेट विनियोजन गरी नगरपालिकाले ‘कम्पाउण्ड वाल’ लगाउन सुरु गरेको थियो। चालु आवमा पनि कम्पाउन्ड वाल निर्माणका लागि १० लाख रकम विनियोजन गरिएको छ। भ्यूटावर व्यवस्थापन र नियमित सञ्चालनका लागि नगरपालिकाले प्राथमिकतामा राखेको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए।
धनकुटाका डाँडा डाँडामा भ्यूटावर बनाउने क्रम समेत उत्तिकै बढ्दो छ । आन्तरिक तथा बाह्य पर्यटकलाइ आकर्षण गर्न भन्दै यस्ता टावर निर्माणको क्रम बढेको हो । धनकुटाका धेरै जसो डाँडाकाँडामा केहि समय यता भ्यूटावर निर्माण गर्ने क्रम बढ्दो छ ।
आफैमा मनमोहक डाँडाकाँडामा पर्यटक भित्र्याउन भन्दै भ्यूटावर निर्माणको क्रम बढेको हो । धनकुटामा भ्यूटावर निर्माण गर्न पर्यटन विकास कार्यालय काँकडभिटा, तत्कालिन जिल्ला विकास समिति तथा अहिले स्थानीय तह आफै सकृय छन् । भ्यूटावर निर्माण भएको धेरै स्थान अहिले पनि सुनसान छन् भने एक दुइ स्थानका भ्यूटावरमा मात्र पर्यटकको चहलपहल हुने गरेको छ ।
उच्च स्थानमा रहेको यस्ता डाँडाबाट तराइ पहाड हिमाल, फाँट खोला नाला सहित धरै स्थान देखिने भएकाले पर्यटक आउने गरेका सागुरीगढी ५ ओख्रेका स्थानीय मोहन थापाले बताए । अहिले धनकुटाको सागुरीगढी गाँउपालिकामा ध्वजे डाँडा, भेडेटार, ओख्रे गरी तीन ओटा भ्यूटावर निर्माण गरिएको छ । त्यस्तै चौबिसे गाँउपालिकाको जेफाले, धनकुटा नगरपालिकाको चुलिवन र हिले, शहिदभुमी गाँउपालिकाको छिन्ताङ स्थित पातले डाँडामा भ्यूटावर निर्माण गरिएको छ ।
‘यसै आवदेखि वडा कार्यालय र स्थानीयको रेखदेखमा सञ्चालन गर्न दिनेबारे मोटामोटी छलफल भइरहेको छ’, उनले भने,‘अहिले देखिएका केही समस्यालाई छिटोभन्दा छिटो सम्बोधन गर्नेछौँ।’
समुद्री सतहबाट झण्डै आठ सय मिटर उचाइमा रहेको भ्यूटावर पूर्वपश्चिम राजमार्गको फलफूलचोकबाट ११ किलोमिटरको दूरीमा रहेको छ। यस क्षेत्रबाट जिल्लाका अधिकांश भूभागसँगै चितवनसहित भारतीय क्षेत्रसमेत देख्न सकिन्छ।
‘भ्यूटावर’ आफैंमा गलत पक्कै होइन । तर यो शब्दप्रति नै वितृष्णा जगाउने गरी किन काम भइरहेको छ मुलुकमा ? यो सोचनीय विषय पक्कै बनेको छ । बागमती प्रदेशका नौ जिल्लामा करीब २४ करोडका भ्यूटावर बनेका छन् ।
बागमती प्रदेश सरकारले दृश्यावलोकनका लागि भनेर प्रदेशका नौ जिल्लामा करीब २४ करोड लगानीमा एक-एक वटा भ्यूटावर निर्माण गरेको छ। पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा नौ वटा भ्यूटावर बनाउन २३ करोड ८७ लाख ८८ हजार ७६८ रुपैयाँ खर्च भएको छ ।
बागमती प्रदेशका १३ जिल्लामध्ये मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली, नुवाकोट, धादिङ र दोलखामा भ्यूटावर निर्माण गरिएको छ । उपत्यकाका तीन जिल्ला र चितवनमा भने भ्यूटावर निर्माण गरिएको छैन ।
प्रदेश सरकारले मकवानपुरको चित्लाङमा दुई करोड ९९ लाख ४१ हजार ८७३ रुपैयाँको लागतमा भ्यूटावर (हिल स्टेशन) निर्माण गरेको छ। नुवाकोटको ककनी हिल स्टेशन तीन करोड ३२ लाख ३२ हजार ६५९ रुपैयाँमा निर्माण गरिएको छ । सिन्धुपाल्चोकमा तीन करोड पाँच लाख २६ हजार ८७८ रुपैयाँमा भ्यूटावर निर्माण भएको छ। पर्यटन विकास आयोजना, हेटौंडा अन्तर्गत निर्माण भएका यी भ्यूटावर २०७६ सालमा सम्झौता भई २०७७ सालमा निर्माण सकिएका थिए ।
यस्तै, काभ्रेको रोशी भूमिचुलीमा दुई करोड १९ लाख ८१ हजार ६५३ रुपैयाँको लागतमा भ्यूटावर निर्माण गरिएको छ। रामेछापको गोगनपानी सुलीथुम्का खाँडादेवी-५ मा दुई करोड ६५ लाख ८६ हजार ३४७ रुपैयाँमा र सिन्धुली जिल्लाको सिद्धबाबा चुचुरोमा दुई करोड सात लाख ५५ हजार ९२० रुपैयाँमा भ्यूटावर निर्माण भएको मन्त्रालयले जनाएको छ। यी भ्यूटावर २०७७ सालमा सम्झौता भई २०७८ मा निर्माणसम्पन्न भएका थिए ।
नुवाकोटको चिम्टेश्वरमा दुई करोड ७४ लाख ३८ हजार ७६८ रुपैयाँमा, धादिङको तोप्लाङमा दुई करोड १८ लाख ८९ हजार ६६९ रुपैयाँमा र दोलखाको जिरीमा दुई करोड ६४ लाख ३४ हजार ९९६ रुपैयाँको लागतमा भ्यूटावर निर्माणसम्पन्न भएका छन्। हिल स्टेशन भनिएका यी भ्यूटावर २०७७ सालमा सम्झौता भई २०७९ मा निर्माणसम्पन्न भएका हुन् ।
पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनाका प्रमुख रोशनकुमार श्रीवास्तवका अनुसार भ्यूटावरसँगै शौचालय र सभा हल पनि निर्माण भएका छन्। भौतिक संरचनाको प्रगति पूरा भएका यी भ्यूटावरमा लागत अनुमानको ९० प्रतिशत मात्र खर्च भएको छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.