
ठमाडौँ। हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषिपञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिक प्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिका पनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ ।
परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्यामा तल्लीन भइन् । तर, उनको तपस्या सफल हुन सकेन । जगत्का पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी उनले भगवान् विष्णुको प्रार्थना गरिन् र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलीविस्तार लगाए ।
हरिले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिए । यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजाआराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकी थिइन् । त्यसैले यो पर्व हरितालिका (हरिले दिएको तालिकाअनुसार गरिने पूजा)को नामले प्रचलित हुन पुग्यो । विवाह गरी पतिका घर गएका छोरीचेलीलाई यस दिन माइत ल्याउने चलन छ । अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन् ।
व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाउनुभयो । पार्वती समस्यामा परेको थाहा पाएपछि उहाँका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गर्नुभयो । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन नीराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाउनुभएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी नीराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो ।
“निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ”, उहाँले भन्नुभयो । “सर्वतः आत्मानं गोपायेत्” अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धर्मशास्त्रविद् गौतमले जानकारी दिनुभयो ।
श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । “अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, महिला र पुरुषहरुले असल वर तथा बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ”,उहाँले भन्नुभयो ।
नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।
समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रविद्हरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ ।
व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको पनि धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो । ‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने उहाँले बताउनुभयो । जसको अर्थ हुन्छ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो ।
गणेश चौथी
तीजको भोलिपल्ट भाद्र शुक्ल चतुर्थीको दिन पर्ने गणेश चौथी विश्वभरिका हिन्दु धर्मावलम्बीले शिवपुत्र भगवान् गणेशको आराधना गरी मनाउने गर्छन् । यस दिन नेपालको कार्यविनायक, सूर्यविनायक, कमलविनायक आदि गणेशका मन्दिरहरूमा भगवान्को आराधना गर्न भक्तजनहरूको भीड लाग्ने गर्छ । कतैकतै यस दिनदेखि अनन्त चतुर्दशीसम्म दश दिन गणेशोत्सव मनाउने चलन पनि रहेको पाइन्छ । नेवार समुदायमा पनि यो पर्व चथाःको नामले प्रसिद्ध छ । स्कन्द पुराणअनुसार यस दिन भगवान् गणेशको जन्म भएको थियो । हिन्दु धर्मावलम्बीहरूले यस दिन आफ्नो जीवनमा कुनै विघ्न नआओस्, र आफूले आँटेको कार्य सिद्ध होस् भनी गणेशको पूजा गर्ने गर्छन् ।
श्रीकृष्णको जन्मभएको ११औं दिन अर्थात् नामकरणको दिन गोकुलका गोपगोपिनीहरूले बाजागाजाका साथ नाचगान गरी खुसियाली साटासाट गरे । यही पौराणिक प्रसङ्गसँग जोडिएर नै तीजमा महिलाहरूले नाचगान गर्ने परम्पराको थालनी हुन पुग्यो ।
ऋषिपञ्चमी
तीजको पर्सिपल्ट अर्थात् पञ्चमीको दिन महिलाहरूले रजस्वलाको समयमा भएका त्रुटि तथा दोषको निवारण गर्न ऋषिहरूको पूजा गर्छन् । ऋषिपञ्चमीको दिनमा अरुन्धतीसहित सप्तर्षि (कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वसिष्ठ)को पूजा गर्नाले रजस्वलाको समयमा भएका त्रुटिहरू नष्ट हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यस दिन महिलाहरू नजिकैको नदी तथा पोखरीमा गई ३६५ दत्तिउनले दन्तमञ्जन गर्दछन्, शरीरमा गाईको गोबर र माटो लगाएर स्नान गर्छन् । स्नान गर्दा ३६५ पटक नै नुहाइन्छ । त्यसको लागि गनौती अर्थात् गनिएका जौ, तिल र चामल चाल्नीमा राखेर माथिबाट पानी खन्याई नुहाउने चलन छ । नुहाइसकेपछि महिलाहरू पवित्र भएर ऋषिपूजा गर्छन् । ऋषि पञ्चमीका विषयमा यस्तो किंवदन्ती पनि प्रचलित छ :
विदर्भ देशमा बस्ने उत्तङ्ग नामका ब्राह्मणका एक छोरा र एक छोरी थिए । छोरो सानै उमेरमा वेदमा पारङ्गत भयो भने छोरी पूर्वजन्मको पापका कारण सानै उमेरमा विधवा भइन् । एकपटक छोरीको शरीरभरि खटिरा आएर किरा परेछ । यस्तो वज्रपात छोरीमाथि किन प¥यो भनी बुझ्दा अघिल्लो जन्ममा छोरी रजस्वला भएका बेलामा छुवाछुत बार्दिनथिन् र ऋषिपञ्चमी व्रतको पनि अवहेलना गर्थिन्, तर व्रत नलिए पनि पञ्चमी पूजा भने हेर्थिन् । त्यसै पुण्यले उनको जन्म ब्राह्मणको परिवारमा भएको थियो । यस्तो थाहा पाएपछि मातापिताले छोरीलाई पञ्चमीको व्रत बस्न लगाए । अनि उनी पापमुक्त भएर सुखी जीवन बिताउन थालिन् ।
खुसियाली साट्ने प्रसङ्गबाट सुरु भएको नाचगानमा बिस्तारै महिलाहरूले आफ्नो भावना, सुखदुःख तथा नारीको संवेदनालाई पनि गीतको विषय बनाउँदै लगे । आजभोलि नारीले भोग्नुपरेका दुःख, पीडा, मर्म, समस्या, घरायसी हिंसा, अत्याचारजस्ता विषयमा समेत गीतहरू गाइन्छन् । मौलिक चिन्तन र सृजनाका आधारमा मौखिक गीत गाउने परम्परा आजकाल ग्रामीण समाजमा बाहेक अन्यत्र घट्दै गएको छ । अचेल मौखिक गीतको सट्टा क्यासेट तथा म्युजिक प्लेयरबाट नै गीत बजाई नाच्ने चलन हावी भएको छ, यसले नारीहरूको रचनात्मक क्षमता तथा नाचगानको पुरानो मौलिक चलनलाई टाढा पु¥याएको अनुभव हुन्छ ।
धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको तीज पर्वले पुरुषप्रधान देश नेपालमा घरभित्र मात्रै खुम्चिएर बस्ने महिलाहरूलाई बाहिर निस्कन प्रेरित गर्ने र आफ्ना पीरमर्का अरुसमक्ष राख्ने मौका दिने भएकाले यसको सामाजिक महत्त्व पनि त्यत्तिकै छ । तर अचेल उच्छृङ्खल र भड्किला गीत गाउने, शृङ्गारको नाममा गहनाको प्रदर्शन गरी समाजमा प्रतिष्ठित बन्न खोज्ने, नाचको निहूँमा अङ्गप्रदर्शन गर्ने जस्ता विकृतिहरू तीजको समयमा व्यापक भएको हामीले महसूस गर्न सक्छौं ।
यस्ता विकृतिले हाम्रा संस्कार र संस्कृतिका मूल्यमान्यतालाई घटाउँदै गएको र समाजलाई दूषित बनाउँदै गएको हुनाले यस्ता विकृतिलाई हटाई हाम्रा रीतिरिवाज, पर्व, संस्कार र संस्कृतिलाई स्वच्छ तुल्याउनु जरुरी छ । धार्मिक, सामाजिक तथा वैज्ञानिक महत्त्व भएका यी पर्वहरूको रहस्य सबैले बुझेर सभ्य तथा समुचित ढङ्गले यिनको पालना गर्नु हामी सबैको कर्तव्य हो ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.