उत्कृष्ट कार्य गर्ने २१ स्थानीय तहका प्रमुखलाई कांग्रेसको सम्मान

काठमाडौँ — नेपाली कांग्रेसले २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेकामध्ये उत्कृष्ट कार्य गर्ने २१ स्थानीय तहलाई सम्मान गरेको छ ।

केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले केन्द्रीय कार्यालय सानेपामा बिहीबार विशेष कार्यक्रमका बीच उत्कृष्ट काम गर्ने २१ गाउँपालिका र नगरपालिकाका प्रमुखहरूलाई सम्मान गरेको हो । कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरूले उत्कृष्ट स्थानीय तहका प्रमुखहरूलाई सम्मान गरे ।

०७९ को निर्वाचनमा कांग्रेसले देशभरि ३२९ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको थियो । तीमध्ये उत्कृष्ट कार्य गर्ने २१ वटा स्थानीय तहलाई बिहीबार सम्मान गरिएको हो । आर्थिक वर्ष २०७९/०८० को महालेखा प्रतिवेदनअनुसार कम बेरुजु रहेकालाई छनोट गरी सम्मान गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार धादिङको नेत्रावती दबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, नुवाकोटको म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, सर्लाहीको विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल यादव, काठमाडौंको नाजार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, काभ्रेको पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीलाई सम्मान गरिएको छ।

त्यस्तै, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवर, धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमना दनै, धादिङकै नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँण, चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटालाई पनि सम्मान गरिएको छ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading