
काठमाडौं –निर्वाचन आयोगले मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । विभिन्न स्थानीय तहका ४१ स्थानमा रिक्त रहेका विभिन्न पदको उपनिर्वाचन निश्चित भएसँगै बुधबार आयोगले कार्यतालिका स्वीकृत गरेकोे हो । उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुलाई समयवद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।
कार्यतालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना असोज ९ गते प्रकाशन गरी असोज १० देखि १६ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गरिने छ । यसैगरी असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धि निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम संचालन गर्ने तय भएको छ ।
यसैगरी कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मङ्सिर २ गतेदेखि निर्वाचन कार्यक्रम संचालन गर्दै १६ गतेसम्म मतदान गर्ने लगायतका ६२ वटा क्रियाकलाप सहित निर्वाचन कार्यतालिका स्वीकृत भएको सापकोटाले जानकारी दिए ।
यसअघि भदौ ३० गते सरकारले स्थानीय तह उपनिर्वाचनको मिति घोषणा गरेको थियो । हाल नगरप्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडा अध्यक्ष ३१ र जिल्ला समन्वय समितिका प्रमुख २ गरी ४१ जनप्रतिनिधि रिक्त रहेको आयोगको भनाइ छ । सरकारको निर्णयसँगै निर्वाचन आयोगले उपनिर्वाचनका लागि आवश्यक तयारीलाई तीव्र बनाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.