
जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले संविधान संशोधनको मुद्दा देखाएर नागरिकको अधिकार खोस्ने खेल शुरु भएको बताएका छन् ।
आज (शुक्रबार) जनमत पार्टी धनुषाले आषेजना गरेको प्रशिक्षण तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले कांग्रेस–एमाले संविधान संशोधनको नाममा नागरिकले पाएको अधिकार समेत खोस्ने खेलमा लागेको आरोप लगाएका हुन् । उनले संविधान संशोधन थप अधिकार सम्पन्न बनाउनका लागि हुनुपर्ने बताए । अध्यक्ष राउतले फरक विचारका दुई ठूला दल मिलेर बनेको सरकारले अनिष्ट र विनाशको संकेत दिएको बताए । उनले संविधान संशोधन गरी एमाले कांग्रेसले समानुपातिक समावेशी प्रणाली खारेज गर्न लागेको आरोप लगाए ।
अमेरिकामा दुई पार्टी रहेको तर दुवै मिलेर कहिल्यै सरकार नबनाएको भन्दै उनले एउटा आकाश र अर्को पाताल जस्तै रहेको बताए । ‘भारतमा बिजेपी–कांग्रेस मिले के हुन्छ ? नेपालमा कांग्रेस र एमाले कसरी मिले ? आकाश–पाताल मिलेका छन् । यो अनिष्ट र विनाशको संकेत हो । संविधान संशोधनको लागि मिलेको भन्छन्’, उनले भने । प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्ने भन्दै अध्यक्ष राउतले प्रदेशहरुको सीमांकन पनि सच्याउनु पर्ने बताए । संविधान संशोधन गरेर समानुपातिक प्रणाली खारेज गर्ने, दुई पार्टी मात्र रहने निर्वाचन प्रणाली ल्याउने भनेर अहिलेको गठबन्धन बनेको उनले दाबी गरे ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.