‘पेट्रोलियम पदार्थको तत्काल अभाव हुँदैन’

काठमाडौँ  । बजारमा तत्काल पेट्रोलियम पदार्थको अभाव नहुने भएको नेपाल आयल निगमले जनाएको छ । अविरल वर्षाका कारण बाटो नियमित रूपमा सुचारु नभए पनि पर्याप्त मौज्दात रहेकाले अभाव नहुने नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता पूर्णप्रसाद रिजालले उपत्यकामा एक हप्तालाई पुग्ने इन्धन मौज्दात रहेकाले अभाव नहुने बताउनुभयो ।

निगमका अनुसार हाल पाँच हजार तीन सय किलोलिटर पेट्रोल, छ हजार तीन सय किलोलिटर डिजेल र चार हजार किलोलिटर हवाई इन्धन मौज्दात रहेको छ । एक हप्तालाई पर्याप्त पुग्ने मौज्दात रहेको निगमले जनाएको छ । यद्यपि वर्षाका कारण बाटो अवरुद्ध हुँदा उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्ति नियमित हुन सकेको छैन ।

यसरी नै लामो समयसम्म बाटो अवरोध भए बजारमा इन्धनको अभाव हुने सक्ने बताइएको छ तर निगम भन्छ, “बाटो अवरुद्ध रही रह्यो भने यातायात पनि त्यति चल्दैन र त्यति इन्धन पनि खपत हुँदैन ।” निगमका अनुसार सामान्य अवस्थामा मासिक ५७ हजार किलोलिटर पेट्रोल, एक लाख १५ हजार किलोलिटर डिजेल, १६ हजार ५२५ किलोलिटर हवाई इन्धन, ४५ हजार मेट्रिक टन ग्यास र एक हजार किलोलिटर मटितेल खपत हुने गर्छ ।

यसैबिच खाना पकाउने एलपी ग्यासको समेत दुईदेखि चार दिनसम्म अभाव नहुने एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । लामो समयसम्म आपूर्ति नियमित नभए बजारमा अभाव हुन सक्ने सङ्घ अध्यक्ष शिवप्रसाद घिमिरेले बताउनुभयो । हाल बुलेट र सिलिन्डर गरेर १५ देखि २० हजार मेट्रिक टनसम्म ग्यास मौज्दात छन् । ग्यास कम्पनीका अधिकांश प्लान्ट उपत्यका बाहिर रहेकाले पनि बाटो बन्द हुँदा ग्यास उपत्यकामा आउन नसकेको उहाँको भनाइ छ । एभरेस्ट, नेपाल, उग्रचण्डी, एसटिसी कम्पनीका प्लान्ट उपत्यकामै रहेकाले तत्काल अभाव नहुने उहाँको भनाइ छ ।

ग्यास बुलेट ल्याउन लागि बाटो फराकिलो आवश्यक पर्ने हुन्छ । एउटा ग्यास बुलेटमा १८ टन ग्यास हुने गर्छ । बाटो अवरुद्ध हुँदा भारतीय गाडीचालक आउन नमान्दा समस्या पर्न सक्ने व्यवसायीको आशङ्का छ । सङ्घका अनुसार बजारमा मासिक ३० देखि ३१ लाख सिलिन्डर खपत हुने गर्छन् । विपत्को मौका छोपेर कृत्रिम अभाव गराई कतिपय व्यवसायीले उपभोक्ता ठग्ने गरेका छन् ।

५९ वटा ग्यास उद्योगले भारतका विभिन्न रिफाइनरी केन्द्रमा गएर ग्यास ल्याउने गरेका थिए । निगमसँग ग्यासको भण्डारण क्षमता छैन । निजी व्यवसायीसँग बुलेटमार्फत नौ हजार मेट्रिक टन ग्यास भण्डारण रहेको छ । दसैँका बेला ग्यासको खपतसमेत धेरै हुने गर्छ । पछिल्लो समय विद्युतीय चुलोको प्रयोग बढ्दै गए पनि बिजुली नआउँदा ग्यासकै प्रयोग बढी हुन्छ ।

हाल बजारमा ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ९१० रुपियाँ, पेट्रोल १५९ र डिजेल १४९ रुपियाँ रहेको छ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading