नेपालबाट घरेलु कामदार पठाउनेबारे यूएईसँग ‘छुट्टै सम्झौताको तयारी’

संयुक्त अरब इमिरेट्स (यूएई)मा नेपाली घरेलु कामदार पठाउने सम्बन्धमा एउटा छुट्टै सम्झौता गर्न दुवै देशले प्रस्ताव आदानप्रदान गरी “छलफल अघि बढाएको” नेपाली अधिकारीले बताएका छन्। उनीहरूका अनुसार “सुरुमा परीक्षणका रूपमा” घरेलु कामदार पठाउनेगरी सम्झौताको खाका तयार पारिएको छ।

एउटा संसदीय समितिको निर्देशनपछि झन्डै आठ वर्षदेखि खाडीका देशहरू र मलेशियामा नेपालबाट घरेलु कामदार पठाउन बन्द गरिएको छ।

घरेलु कामदारका रूपमा गएका नेपाली महिलामाथि हिंसा र शोषण भएको भन्दै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो। उसले “सुरक्षाको प्रत्याभूति गरेर मात्र कामदार पठाउन” निर्देशन दिएकाले सुरक्षाको सुनिश्चितता गरेर सम्झौता गर्न प्रक्रिया अघि बढाइएको अधिकारीहरूले बताएका हुन्।

यद्यपि कतिपय श्रम आप्रवासनविज्ञहरू सरकारले “कानुनी वा कागजी रूपमा त्यस्तो सुनिश्चितता गरे पनि व्यवहारमा लागु हुने सम्भावना न्यून देखिएको” बताउँछन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीका अनुसार यूएई घरेलु कामदारका विषयमा छुट्टै सम्झौता गर्न तयार देखिएको छ।

द्विपक्षीय श्रम सम्झौतासम्बन्धी छलफलहरूमा सहभागी भइरहेका उनले भने, “हामीले यूएईमा परीक्षणका रूपमा घरेलु कामदारहरू पठाउनका लागि सम्झौताको खाका कोरेका छौँ।” “दुई देशबीच सम्झौताको मस्यौदा आदानप्रदान पनि भइसकेको छ र बैठकहरू भएका छन्। आउँदो सोमवार पनि हामी भर्चुअल रूपमा प्राविधिक समितिको बैठक गर्दैछौँ।”

घरेलु कामदारको सुरक्षाबारे चिन्ता व्यक्त भएर सरकारले नै प्रतिबन्ध लगाएकाले सुरुमा परीक्षणका लागि कामदार पठाउने सम्झौता गर्ने प्रक्रिया थालिएको हो। “यो सफल भएमा हामी पूर्ण रूपमा यूएईका हकमा प्रतिबन्ध खुला गर्न सक्छौँ र अन्यत्र पनि विस्तार गर्दै लैजान सकिन्छ,” उनले भने।

संसदीय समितिको निर्देशनपछि २०७३ चैत २० गतेदेखि सरकारले घरेलु कामदारमाथि प्रतिबन्ध लगाएको थियो। त्यसपछि कानुनी र औपचारिक रूपमा नेपाली महिलालाई जोर्डन र साइप्रसबाहेक अन्य देशमा जान प्रतिबन्ध लगाइएको छ।

सरकारी तथा गैरसरकारी विवरणअनुसार नेपालबाट खाडी क्षेत्रमा घरेलु कामदारका रूपमा जानेहरूमा महिलाको सङ्ख्या अधिक छ। घरेलु कामदारहरू रहेका देशहरूबाट नेपाली नियोगहरूले पठाएका विवरणमा आधारित भन्दै कतिपय सञ्चारमाध्यमहरूले खाडी क्षेत्रमा मात्र ६० हजारभन्दा बढी महिला घरेलु कामदार रहेको जनाउने गरेका छन्। अधिकारीहरूले भने यकिन सङ्ख्या खुलाउन सकेका छैनन्। बिबिसिबाट


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading