
काठमाडौं : प्रहरीले सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउको तयारी गरेको छ।विभिन्न सहकारी संस्थाको रकम हिनामिना विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनका आधारमा सरकारको निर्देशनमा प्रहरीले पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई अनुसन्धानका लागि पक्राउ तयारी गरेको हो।
काठमाडौंमा रहेका लामिछानेलाई कास्की प्रहरीको आग्रहमा पक्राउ तयारी गरिएको हो। स्रोतका अनुसार लामिछानेलाई पक्राउ गर्नका लागि प्रहरी तयारी अवस्थामा राखिएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ परे पोखरामा कार्यकर्ता उतार्ने तयारी रास्वपाले गरेको छ । रास्वपा उच्च स्रोतले दिएको जानकारी अनुसार सभापति लामिछानेलाई पक्राउ गरेर पोखरा पुर्याए कास्की जिल्ला समितिले उतै प्रतिवाद गर्ने तयारी गरेको छ ।
यसका लागि केन्द्रीय कार्यालयबाट अनौपचारिक रूपमा पनि कुनै सर्कुलर जारी भने नगरिएको स्रोतको दाबी छ । ‘हामीले कुनै सर्कुलर जारी गरेका छैनौँ‚’ ती नेताले भने‚ ‘कार्यकर्ता जम्मा हुन्छन् भनेर जिल्लाबाट फोन आइरहेको छ । पार्टी सभापति पक्राउ पर्दा स्वतः स्फुर्त कार्यकर्ता जम्मा हुन्छन् नै।’
ती नेताले केन्द्रीय कार्यालयमा पनि कार्यकर्ताहरूलाई बोलाइएको छैन । ‘कानुन सबैले मान्नुपर्छ । पक्राउ गरिहाले त्यसपश्चात् कसरी अघि बढ्ने निर्णय होला‚’ उनले थपे‚ ‘अहिले कुनै हतारो छैन । हामी उपलब्ध नेताहरू पार्टी कार्यालय तिरै छौँ।’ ती नेताका अनुसार अहिले केन्द्रीय कार्यालय वनस्थलीमा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेसहित सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी‚ सुमना श्रेष्ठ लगायत केन्द्रीय नेताहरू उपस्थित रहेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि शुक्रबार प्रतिपक्षी दलहरूको बैठकमा रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न लागिएकोबारे आफूले सूचना पाएको बताएका थिए । उनले तीन दलको बिहीबार भएको बैठकको कुराकानीबाट त्यस्तो आशय पाएको उल्लेख गरेको एक नेताले बताए ।
सहकारीबाट ६५ करोड ५४ लाख रूपैयाँ गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरिएको छ। संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा सहकारीबाट लिएको रकम दुरूपयोगमा लामिछानेलाई कारबाही सिफारिस गरिएको छ। सांसद सूर्य थापाको नेतृत्वमा बनेको छानबिन समितिले गोर्खा मिडिया नेटवर्कका नाममा ग्लोबल आइएमई बैंकमा रहेको खाता नम्बर ०४०१०१००००५७७ मा नाममा सहकारीको रकम लगिएको उल्लेख गरेकाे छ ।
मन्त्रिपरिषद्को बैठकले छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो। सोहीअनुरूप गृहमन्त्री लेखकले प्रहरी प्रधान कार्यालयलाई तत्काल कदम चाल्न निर्देशन दिएका थिए।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.