
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा होलीको निर्देशनमा पार्टीका तीन नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकको सुरुमै अध्यक्ष ओली पार्टीको निर्णयविरुद्ध जिम्मेवार नेताले टिकाटिप्पणी गरेको पाइएको भन्दै स्पष्टीकरण सोध्न निर्देशन दिएको एक नेताले जनाए । बैठकको सुरुमा सम्बोधन गर्दै उनले नेताहरुको रवैयाप्रति असन्तुष्टि पोखेका थिए ।
लगत्तै बैठकले तीन नेताहरु भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । रावल ओलीसँगै अध्यक्षमा प्रतिस्पर्धा गरेका नेता हुन् भने पाण्डे स्थायी कमिटी सदस्य र तिम्सिना केन्द्रीय सदस्य हुन् । उनीहरुले व्यापारी मीनबहादुर गुरुङले दानमा दिएको जग्गामा पार्टी कार्यालय बनाइन लागिएको विषयमा पार्टीको निर्णयको सार्वजनिक आलोचना मात्रै गरेका थिएनन् सच्याउन समेत माग गरेका थिए ।
यो विषयमा एमालेको अन्य पार्टी र जनस्तरबाटैसमेत आलोचना हुँदै आएको छ । तर, पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मिनवहादुर गुरुङले दान दिएको कीर्तिपुरको जग्गा स्वीकार गर्नु अवाञ्छित र अनुचित नभएको दाबी गर्दै आएको छ । आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकपनि पनि महासचिव शंकर पोखरेलले यस्तै जिकिर गर्दै पार्टीले पनि यही निष्कर्ष निकालेको बताए ।
महासचिव पोखरेलले एमालेलाई दान दिएको जग्गा र व्यवसायी गुरुङबिच कुनै स्वार्थ बाझिने कारण समेत नभएको बताए । ‘राज्यले मात्र होइन अन्तर्राष्ट्रिय समुदायले समेत विपत्तिमा भएको क्षतिलाई पूर्ति गर्ने काम गरिरहँदाखेरी एकजना व्यवसायीले म नेकपा एमालेले बेहोरेको क्षतिका सन्दर्भमा गम्भीर छु र सहयोग गर्न चाहन्छु भन्ने कुरालाई मानवीयताका हिसाबले पनि लिनुपर्छ भन्ने लाग्दछ’, महासचिव पोखरेलले भने । उनले महाविपत्तिका बेला भएको क्षतिमा सहयोग प्राप्त गर्ने हक हरेकको हुने भन्दै त्यो हक नेकपा एमालेको पनि छ भन्ने कुरा बुझ्नुपर्ने बताए । यसैबीच स्पष्टीकरणमा परेकी उषाकिरण तिम्सेनाले एक्लै भएपनि सत्यको पक्षमा उभिनुपर्ने बताएकी छन् ।
पार्टी कार्यालय निर्माण गर्न व्यापारीले जग्गा दान गरेको विषयमा आलोचना गरेको भन्दै पार्टीले स्पष्टीकरण सोध्ने निर्णय गरेसँगै उनले यस्तो बताएकी हुन् ।
गौतम बुद्धको भनाइ उल्लेख गर्दै उनले आइतबार साँझ सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एक्लै भएपनि सत्यको पक्षमा उभिनुपर्छ ।’ बैठकमा रास्वपाका सभापति रवि लामिछाने पक्राउका साथै दल विभाजनसम्बन्धी अध्यादेशका विषयमा समेत छलफल भएको बताइएको छ ।
बैठकमा ओलीले रास्वपाका नेता कार्यकर्ता सडकमा आएको विषयमा असन्तुष्टि पोख्दै सो पार्टीले राजनीतिक संस्कार नदेखाएको टिप्पणी गरेको एक नेताले बताए । यस्तै उनले रविलाई सहकारी छानबिन समितिको प्रतिवेदनका आधारमा अनुसन्धान गर्न नियन्त्रणमा लिइएको समेत बताएका थिए । बैठकले ओलीलाई दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन समेत म्यान्डेट दिएको छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.