तराईमा छठ पर्व शुरु: आज नहाय खाय

काठमाडौं । मिथिलाञ्चललगायत तराई मधेशमा आजदेखि छठ पर्व शुरु भएको छ । सूर्यदेवको उपासना गरेर चार दिनसम्म श्रद्धापूवर्क मनाइने छठ पर्व आजदेखि विधिवत शुरु भएको हो ।

निष्ठापूर्वक मनाइने छठ पर्वको आज पहिलो दिन नहाय खायको विधि गरिन्छ । व्रत बस्नले आज नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् ।

यस्तै छठपर्वको दोस्रो दिन भोलि बुधबार चामल, सक्खर र दूध मिसाएर बनाएको खीर (खरना) प्रसादको रुपमा खाने गर्दछन् ।

तराईका जिल्लाहरुमा छठ पर्वको रौनक शुरु भएको छ । सूर्य उपासनाको महापर्व छठ अन्तर्गत आज कात्तिक शुक्ल चौथी तिथिमा नहाय खाय विधिबाट छठ मनाइंदै छ । पर्व सुरु भएको मानिने आज कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको हो । कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ ।

यसपालि तिथिको घटबढले आज तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले मिथिलाको लोकपर्व छठ आज सुरु भएको हो । सात्विक भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ ।

छठ प्रारम्भसँगै धार्मिक महत्वका तलाउ र नदी परिसर सिंगारिएका छन् । पर्वमा महिला पुरुष जसले व्रत गरे पनि हुने शास्त्रीय मत भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने प्रचलन छ ।

श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा अर्थात गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउमा बनाइने खास परिकार कसार र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाउन चुलो पनि नयाँ प्रयोग गरिन्छ ।

बर्तालुले भोलि कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अर्घ दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ ।

बिहीबार तेस्रो दिन छठ पर्वको मुख्य दिन हो । यस दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ भने चौथो दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व सम्पन्न हुनेछ ।

छठ पर्वमा बाँसको ढाकी, माटोले बनेका सामग्री लगायत चढाइन्छ भने प्रसादमा प्रमुख ठेकुवा, केराका साथै भुसुवा, खाजा, मिठाइ, अदुवा, उखु, हल्दी तथा फलफूल आदि सूर्यलाई चढाइन्छ ।

छठ पर्वका लागि जनकपुरधामका पोखरीहरु सजाइएको छ । आदिदेव सूर्य भगवानलाई अर्घ दिन मिथिलाञ्चलका नदी, तलाउ, पोखरी, इनार लगायत जलाशयका किनारलाई विशेष रुपले सिंगारिएको छ ।

विशेषगरि छठ पर्व तराई मधेशमा मनाउने गरिए पनि पछिल्लो समय काठमाण्डौलगायत पहाडी क्षेत्रमा पनि धुमधामका साथ मनाउन थालिएको छ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading