प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल, जापान काण्डले निवर्तमान मन्त्री पार्टीको निलम्बनमा

काठमाडौँ –एमाले सांसद लिलाबल्लभ अधिकारी पार्टीको जिम्मेवारीबाट निलम्बनमा परेका छन् । जापानमा मानव तस्करीजस्तो गम्भीर घटनामा मुछिएसँगै शनिबार बसेको सचिवालय बैठकले उनलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

कात्तिक १३ गते उनी कोशी प्रदेशको आन्तरिक मामिलामन्त्रीको हैसियतमै जापान गएका थिए भने सो भ्रमणमा असम्बन्धित व्यक्तिलाई लगेर मानव तस्करीको प्रयास भएको खुलासा भएको थियो । उनी जापान अध्यागमन पार गर्न नपाई डिपोर्ट भएका थिए । घटनापछि उनले यसअघि नै मन्त्री पदबाट राजीनामा समेत दिइसकेका छन् ।
यसअघि कोशी प्रदेश कमिटीले समेत अधिकारीलाई सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनको बारेमा लागेको आरोपहरूको वस्तुनिष्ठ र तथ्यपरक ढङ्गले राज्यका निकायले छानबिन गर्नुपर्ने र त्यो छानबिनमा पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको बताए । बैठकपछि पार्टीले जारी गरेको विज्ञप्तिमा समेत भनिएको छ, ‘नेकपा एमाले अविचलित रुपमा कानुनी शासनको पक्षमा उभिदै आएको जिम्मेबार पार्टी भएको नाताले कहाँले गर्नुभएको भ्रमणसँग जोडिएर लागेको मानव तस्करी जस्ती गम्भिर आरोपका सम्बन्धमा शिघ्र छानविन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजानिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भिरतापूर्वक ध्यानाकर्षण गराउदै अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभए सम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी वहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य तथा नेकपा (एमाले) को संगठित सदस्यताबाट समेत निलम्वन गरिएको जानकारी गराइन्छ ।’

बैठकमा उपनिर्वाचनको विषयमा समेत छलफल भएको थियो । बैठकले आगामी मङ्सिर १६ गते ४४ पदमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्तिका साथ परिचालित हुन कार्यकर्ताहरूलाई निर्देशन ज्ञवालीले बताए । यसअनुसार सो बैठकले सो उपनिर्वाचनका लागि तल्लो तहका कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारहरूको नाम अनुमोदन गर्ने निर्णय गरेको छ ।

ज्ञवालीले भने, ‘मङ्सिर १६ गते हुने उपनिर्वाचनका सन्दर्भमा प्रदेश कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारहरूको नाम अनुमोदन गर्ने निर्णय गरेको छ । सो निर्वाचनमा सिङ्गो पार्टी पङ्क्तिलाई सम्पूर्ण शक्तिका साथ परिचालित हुन निर्देशन दिइएको छ ।’
यस्तै बैठकले सरकार ठिक ढंगले अघि बढिरहेको निष्कर्ष पनि निकालेको छ । बैठकमा नेपाली कांग्रेससँगको गठबन्धनबिचको समझदारीलाई अझ प्रगाढ बनाएर लैजाने विषयमा छलफल भएको ज्ञवालीले जानकारी दिए । उनले भने, ‘बैठकमा सरकारको चार महिने कार्यकालको समीक्षा गरेका छौँ । सरकारले आधारभूत रूपमा ठिक ढंगले

काम गर्दै अघि बढिरहेको निष्कर्ष छ । दुई राजनीतिक दलबिच समझदारीलाई प्रगाढ बनाउन र काममा अझै बढी समन्वय ल्याउनका निम्ति विश्वासको वातावरणलाई सुदृढ गर्दै लैजाने कुरामा छलफल भएको छ ।’
यस्तै भारत र चीन दुवै छिमेकी देशसँग राष्ट्र हितलाई ध्यानमा राख्दै सम्बन्ध अगाडि बढाउनुपर्छ भन्ने बैठकको निचोड रहेको उनले सुनाए । प्रधानमन्त्री ओलीको डिसेम्बर पहिलो हप्ता हुने चीनको भ्रमणको बारेमा पनि छलफल भएको र सो भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा प्रयोग गर्नका लागि सरकारलाई शुभेच्छा व्यक्त गरेको ज्ञवालीले जानकारी दिए । उसो त बैठकले काठमाडौँमा जागरण सभा गर्ने निर्णय समेत गरेको छ । जसअनुसार आउँदो मङ्सिर ७ गते काठमाडौँमा पार्टीको जागरण सभा हुने नेताहरूले जनाएका छन् ।

यस्तै एमालेले आउँदो मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका उम्मेदवार टुङग्याएको छ । एमाले केन्द्रीय सचिवालय बैठकले आज (शनिबार) प्रदेश र जिल्ला कमिटीले गरेको सिफारिसलाई अनुमोदन गर्दै उम्मेदवार टुंग्याएको हो । ‘सचिवालय बैठकले स्थानीय तहको उम्मेदवारहरुको टुंगो लगाएको छ,’ एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए, ‘अब उम्मेदवारहरु चुनावी मैदानमा उत्रिनु भएको छ ।’ सचिवालय बैठकले सिफारिस भई आएका उम्मेदवारहरूको नाम अनुमोदन गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर परिचालित हुन निर्देशन गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

एमालेले अनुमोदन गरेका नगरपालिका, गाउँपालिका प्रमुख र उपप्रमुख उम्मेदवाहरुमा काठमाडौं कीर्तिपुर नगरपालिका प्रमुखमा सुरेन्द्र मानन्धर, मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष तुल्सीराम विश्वास, गौरीशंकर गाउँपालिका दोलखा उपाध्यक्ष उमा लुंगेली मगर शेर्पा, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष केशकुमारी तुलाचन, जाजरकोट नलगाड नगरपालिका उपप्रमुखमा सुनिता बोहरा, हुम्ला सर्केगाड गाउँपालिका उपाध्यक्षमा जाना शाही र बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्षमा सुलोचनाकुमारी भण्डारी बुढा छन् । त्यस्तै एमालेले विभिन्न पालिकाका ३४ वडा अध्यक्षका उम्मेदवार पनि टुंगो लगाएको छ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading