
नेपाली यूवाहरुको लागी मलेशिया रोजगारीको लागी प्रमुख गन्तव्यका रुपमा लिने गरिन्छ । खाडी मुलुकको तुलनामा मलेशियालाई नेपालको हावापानीसंग मिल्दो जुल्दो भएका कारण पनि यूवाहरुको आकर्षण बढदो देखिन्छ । मलेशिया जाने नेपालीहरूमाथि विभिन्न सेवाप्रदायक कम्पनीबाट आर्थिक भार थोपरिएको भन्दै सरकारले त्यस्तो व्यवस्था नहटुन्जेल कामदार मलेशिया पठाउन रोकेको पनि यो साता एक वर्ष पुगेको छ ।
एक वर्ष पुगे लग्तै मलेसिया सरकारले वैदेशिक रोजगारमा गएका १२ नेपालीलाई निष्काशन गरेको छ । अध्यागमन कानुन उल्लंघन गरेको भन्दै मलेसियाले उनीहरूलाई निष्काशन गरेको हो । निष्काशित उनीहरू बिहीबार काठमाडौं आइपुगेको अध्यागमन विभागले जनाएको छ । ‘मलेसियाले डिपोर्ट गरेका उनीहरू बिहीबार काठमाडौं आइपुगेका छन्। अध्यागमन कानुन उल्लंघन गरेको भन्ने छ । तर, कुन कानुन भन्ने कुरा स्पष्ट खुलाइएको छैन,’ अध्यागमन विभाग स्रोतले सुनायो ।
निष्काशित हुनेहरुमा विजयसिंह गंगी, बुद्धिलाल मुसहर, प्रवास कुमार विश्वास, अनिल लोद, श्यामकुमार लिम्बु, ईश्वर कुमार राई, राजन दास, तुलाराम ओली, रामकुमार सदा, जितेन्द्र ठाकुर, रामसेवक मण्डल र विवेक यादव छन् ।उनीहरू मालिन्दो एयरलायन्सको जहाजबाट वैदेशिक रोजगारका लागि मलेसिया पुगेका थिए । त्यस्तै माल्दिभ्स, बेलायत र कतारले पनि एक–एक जना नेपालीलाई निष्काशन गरेका छन् ।
अध्यागमन कानुन विपरीत यात्रा गरेको पाइएपछि श्रीलंकन एयरलायन्सबाट माल्दिभ्स पुगेका दिल्पाकुमारी सार्की, कतार एयरलायन्सबाट दोहा पुगेका गुडु शेख र थाइ एयरलायन्सको जहाजबाट बेलायत पुगेका सागर गुरुङलाई निष्कासन गरिएको अध्यागमन विभागले जनाएको छ । पछिल्लो समय मलेसियाले अवैध तरिकाले प्रवेश गर्नेहरूमाथि कडाइ गरेको छ । वैदेशिक रोजगारका लागि मलेसिया पुग्ने कामदारमाथि पनि उसले निगरानी गर्दै आएको छ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.