
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको सूचना–प्रविधि (आइटी) क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा सामाजिक सञ्जाल टिकटकले मङ्गलबार यहाँ आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट’मा उहाँले नेपालमा लगानीको सुरक्षा रहेको तथा आइटी क्षेत्र आकर्षक लगानीको विधा भएकाले त्यसमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरूलाई आह्वान गर्नुभएको हो । उहाँले वैदेशिक लगानी सुरक्षित गर्न सरकारले पर्याप्त नीतिगत व्यवस्था गरेको बताउनुभयो ।
टिकटकजस्ता अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीहरूलाई नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार गरिएको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले निजी क्षेत्र तथा बहुराष्ट्रिय कम्पनीहरूको लगानी सुरक्षा गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा डिजिटल टेक्नोलोजीमा लगानीको वातावरण छ, प्रतिफल पनि सुनिश्चित गरिएकाले निर्धक्क भएर लगानी गर्न सक्नुहुन्छ ।”
सूचना–प्रविधिको क्षेत्रमा लगानी गर्ने कम्पनीहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समाजप्रतिको सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने सर्तहरू पनि राखेको जानकारी दिनुभयो । ती सर्त पालना गरेर नेपालमा टिकटक पुनः सञ्चालनमा आएको उहाँले बताउनुभयो । सरकारको डिजिटल नेपाल बनाउने उद्देश्य साकार पार्न नागरिक समाज, निजी क्षेत्र, सामाजिक सञ्जाल प्लेटफर्म प्रयोगकर्तालगायत व्यक्ति र संस्थाको साझा प्रयत्न आवश्यक छ भन्नुभयो । मन्त्री गुरुङले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका, २०८१ बमोजिम मन्त्रालयमा टिकटक सूचीकरण भएको बताउनुभयो । रासस
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.