जलवायु परिवर्तनको असरले नेपालको कृषि उत्पादन कमी

काठमाडौं । जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो। पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ। पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुनः अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ ।

पछिल्लो २०० वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बृद्धि हुँदै छ । हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापहरू पर्दछन् ।

जलवायु परिवर्तन लामो समयको जलवायु सम्बन्धि तथ्याङ्कको नियमिततामा देखिने स्थायी प्रकृतिको परिवर्तन हो ।  जस अनुसार बेला बेलामा मौसममा आउने उतार चढावलाई वातावरणीय परिवर्तन मान्न सकिन्न ।

सन् १९६०को दशकपछि पृथ्वीमा भएको द्रूत औद्योगिक विकास तथा जनसङ्ख्या बृद्धिले ल्याएका नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिकहरू बताउँछन् । मूलतया जीवावशीष इन्धनको अत्यधिक प्रयोग र तिनबाट उत्सर्जित हरितगृह ग्यासका साथै वनजङ्गलको विनास भै त्यस्तो ग्यास अवशोषण गर्ने “सिङक”को कमीले भूमण्डलीय तापक्रम बढेको अनुमान गरिन्छ । कोइला, खनिज तेल र ग्यासजस्ता वस्तुको बढ्दो दहनले वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पुग्दछ। जङ्गल फँडानी र भू-क्षयीकरणले पनि वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पठाउँछ र खेतीपातीदेखि चिस्यान प्रविधि (रेफ्रिजेरेसन) का गतिविधिबाट हरितगृह ग्याससमेत सिर्जना भइरहेका हुन्छन्। पृथ्वीमा जलवायु परिवर्तनका कारणले सन् १९०६ देखि २००५ सम्ममा औसत तापक्रम ०.७४ डिग्री सेल्सियसले बढेको छ । त्यस्तै सन् १९६१ र २००३ का बीचमा समुद्रसतहमा प्रतिवर्ष १.८ मिलिमिटरले बृद्धि भएको छ र जलवायुमा आएको यस्तो अस्वाभाविक परिवर्तनका कारण सामाजिक, आर्थिक, पर्यावरणीय र विकासका संरचनामा नकारात्मक असर पुगेको कुरा विभिन्न तथ्याङ्क र प्रमाणले पुष्टि गरेका छन् ।

विश्वव्यापीरूपमा बढेको यस समस्याका लागि विश्वका औद्योगिक तथा धनी राष्ट्र जिम्मेवार रहेको यथार्थ विभिन्न अध्ययन प्रतिवेदनले सार्वजनिक गरिसकेका छन् । हरितगृह ग्यासको प्रमुख कारकको रूपमा देखिएको कार्बन डाइअक्साइडको उत्सर्जन नै विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको कारक मानिएको छ। धनी र औद्योगिक मुलुकले कार्बन डाइअक्साइड अत्यधिक उत्सर्जन गरे पनि नेपाल जस्ता विकासोन्मुख तथा अति कम विकसित मुलुकहरूले यसलाई खप्नसक्ने हैसियत प्राप्त गर्न अझै बढी कठिनाइ भोग्नु परिरहेको छ ।

जलवायु परिवर्तनको असरका विषयमा गण्डकी जलाधार क्षेत्रमा गरिएको अनुसन्धानले विगतको तुलनामा ४० प्रतिशत कृषि उत्पादन कमी आएको देखाएको छ । पाँच विश्वविद्यालय मिलेर दक्षिण एशिया क्षेत्रमा जलवायु परिवर्तनले कृषिमा पारेको असरका विषयमा गरिएको अध्ययनपछि यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।.

त्रिभूवन विश्वविद्यालय भुगोल केन्द्रिय विभाग,चीनका दुई विश्वविद्यालय, भारतको दिल्ली इकोनोमी अफ भुगोल विभाग र बंलादेशका अध्ययन केन्द्रहरु रहेका थिए । उक्त अनुसन्धान गण्डकी जलाधार क्षेत्रमा पर्ने वागमती,गण्डकी प्रदेशका पाँच वटा जिल्ला रसुवा, नुवाकोट, चितवन, तनहुँ र कास्कीमा गरिएको थियो ।

गण्डकी जलाधार क्षेत्रमा गरिएको अनुसन्धानले जलवायु परिवर्तनले तापक्रममा परिवर्तन, वर्षाको ढाँचा, खडेरी बाढी तथा पहिरो आउने जस्ता असरले कृषि उत्पादकत्वमा असर गरेको देखाएको छ । अनुसन्धानले वर्षामा निर्भर खेती भएकाले कृषि क्षेत्रमा खडेरीबाट अत्याधिक प्रभावित बनाएको देखाएको छ ।

जलवायु परिवर्तनको कारण गण्डकी जलाधार क्षेत्रमा समेत वर्षा समेत कम भएको अध्ययनले देखाएको त्रिभूवन विश्वविद्यालय भुगोल केन्द्रिय विभागका प्राध्यापक डा. प्रेमसागर चापागाईंले बताउनुभयो । उहाँले वर्षातको समयमा समेत पानी पर्ने समय परिवर्तन हुने, समयमा पानी नपर्ने बढी वा घटी पर्ने जस्ता समस्या समेत देखापरेकाले नेपालको कृषि उत्पादमान ठूलो असर बनाएको अध्ययनले देखाएको बताउनुभयो ।

चापागाईंले अध्ययनको निष्कर्षअनुसार नेपाल,भारत,चीन र बंलादेश सबैतिर कृषि उत्पादनमा कमी देखिए पनि नेपालमा सबैभन्दा धेरै देखिएको बताउनुभयो । उहाँले विगतको तुलनामा नेपालको हिमाली क्षेत्रमा ४० प्रतिशतसम्म कृषि उत्पादकत्वमा कमी आएको अध्ययनमा देखिएको उल्लेख गर्नुभयो । उहाँले समयमा पानी नपर्दा किसानको लागत वृद्धि समेत भएको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनको कारण पानी नपर्दा खडेरीको कारण कृषिबालीहरु सुक्ने समस्याले बाँझो जमिन छोड्ने प्रवृत्ति बढेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयको अध्ययनले जलवायु परिवर्तनको कारण कृषि क्षेत्रमा परेको असरले धेरै मानिसहरु बसाईसराई तथा वैदेशिक रोजगारीमा जाने क्रम बढेको जानकारी दिनुभयो ।

उहाँले नेपालको जलवायु सम्बन्धी नीतिहरु राष्ट्रियस्तरको रहेको तर भौगोलिक अवस्था फरक रहेको भन्दै जलवायु परिवर्तन सम्बन्धी नीतिहरु भौगोकि बनावटअनुसार बनाउनुपर्ने बताउनुभयो । उहाँले हिमाल,पहाड र तराई क्षेत्रको बनावटअनुसार स्थानीय स्तरसम्मका लागि नीतिहरु बनाउनुपर्ने अवस्था देखिएको बताउनुभयो ।

अनुसन्धानले नेपालमा जलवायु परिवर्तनको प्रभावका कारण किसानहरु कृषि कर्म छोड्दै वैदेशिक रोजगारीमा गइरहेको देखाएको छ । जलवायु परिवर्तनको कृषि उत्पादन घट्ने, लागत मूल्य बढ्ने, बालीनालीमा रोग तथा किराहरुको संक्रमण बढ्ने, बेमौसमी अधिक वर्षा, हावाहुरी र असिनाले बालीनालीमा ठूलो क्षति पु¥याउँदा किसानहरु जलवायु परिवर्तनको मारमा परेका छन् ।

अध्ययनले जलवायु परिवर्तनको असर सकारात्मक रहेको पनि देखिएको छ । नेपालका हिमाली र पहाडी क्षेत्रका उच्च भू-भागमा स्याउ र अन्न उत्पादनमा वृद्धि भएको छ । अनुसन्धानमा समेटिएका क्षेत्रका किसानले मौसम, कृषि सम्बन्धी सूचनामाथि विश्वास नगरेको देखिएको छ । तराईमा ३४ प्रतिशत, पहाडमा २२ प्रतिशत र हिमालमा ८.५ प्रतिशत घरपरिवारले मात्रै मौसम सम्बन्धी प्राप्त सूचनामा विश्वास गरेको पाइएको छ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading