पत्रकार महासंघमा गिरी नेतृत्वको संयुक्त प्यानलको उम्मेदवारी

काठमाडौँ — पत्रकारका ६ वटा संगठनहरूले यही २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा संयुक्त प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।

शुक्रबार दिउँसो भएको मनोनयनमा अध्यक्ष पदका लागि गिरीको प्रस्तावक प्रेस सेन्टरका अध्यक्ष विष्णु सपकोटा छन् भने समर्थक समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी छन् ।

प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्च, नेपाल संयुक्त प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

गिरीको प्यानलमा वरिष्ठ उपाध्यक्षमा हालका महासचिव रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल, समावेशी उपाध्यक्ष सुवास साह, महासचिवमा लेखनाथ न्यौपाने, खुला सचिवमा उत्तर विष्ट, मधेसी सचिवमा सिर्जन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विश्वकर्मा, आदिवासी/जनजाति सचिवमा भीषण राई, एसोसिएट सचिवमा विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा मणि दाहालसहित सिंगो केन्द्रीय समितिका लागि प्यानल बताइएको छ । भने यता सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस निकट प्रेस चौतारी र प्रेस युनियनबिच भागबन्डा भएको छ ।

गएराति चौतारी र युनियनका नेताहरूबिच भएको छलफलमा महासङ्घको १३ सदस्यीय पदाधिकारीमा चौतारीका तर्फबाट अध्यक्षसहित ५ पद लिने भएको छ भने युनियनले ८ पदमा उम्मेदवारी दिने भएको छ ।

त्यसैगरी जिल्ला अध्यक्षमा चौतारीले ३२ र युनियनले ४२ वटा लिने सहमति भएको बुझिएको छ ।

चौतारीले केन्द्रीय अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ भने बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी दिने सहमति भएको छ ।

प्रदेशमा कोशी, मधेस, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिने तथा बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिने गरी सहमति भएको छ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading