उपसचिवको तयारी अन्तिम चरणमा

लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) सम्मको आन्तरिक प्रतिस्पर्धाबाट हुने बढुवामा सम्बन्धित सेवा र समूहमा मात्र सीमित गर्नुपर्ने सुझाव दिएको छ । सङ्घीय निजामती कानुन तर्जुमाका क्रममा संसदीय समितिमा सुझाव दिँदै आयोगले जुनसुकै सेवा र समूहबाट बढुवा हुने वर्तमान व्यवस्थाले कार्यसम्पादनमा असर परेकाले कानुन परिमार्जनका लागि सुझाएको हो । प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिमा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीले सो व्यवस्था परिमार्जनको सुझाव दिनुभएको हो ।

आयोग अध्यक्ष रेग्मीले निजामती सेवा ऐन र नियमावलीमा समेत समेटिनुपर्ने विषयमा आधारित भएर समितिमा सुझाव दिनुभएको हो । सङ्घीय निजामती विधेयकमा समितिले सरोकारवालासँगको छलफलका क्रममा बुधबार आयोग पदाधिकारीलाई आमन्त्रित गरेको थियो । सो क्रममा आयोग अध्यक्ष रेग्मीले संरचनागत सुधार, कानुनी सुधार, आयोगका सुझाव कार्यान्वयनलगायतका क्षेत्रमा लिखित सुझाव दिनुभएको हो ।

समितिमा अध्यक्ष रेग्मीले भन्नुभयो, “जुनसुकै सेवाका कर्मचारी बढुवा हुने वर्तमान व्यवस्थाका कारण विशिष्टीकृत अनुभवको कमी भई कार्यसम्पादन प्रभावकारी नहुन सक्ने देखिएकाले आन्तरिक प्रतियोगिताका विज्ञापनमा सम्बन्धित सेवा, समूह र उपसमूहका कर्मचारी मात्र उम्मेदवार बन्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।”

निजामती सेवा ऐन २०४९ र नियमावली, २०५० ले अहिले आन्तरिक प्रतियोगिताको बढुवामा उपसचिव पदसम्मको विज्ञापनमा जुनसुकै सेवामा कार्यरत कर्मचारी उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ । सहसचिवको विज्ञापनको हकमा सम्बन्धित सेवाका कर्मचारी उम्मेदवार हुने व्यवस्था गरिएको छ । आयोगले उपसचिवमा पनि सम्बन्धित सेवा, समूह र उपसमूहबाट मात्र उम्मेदवार हुन पाउने व्यवस्था गर्न सुझाएको हो ।

आयोगले कतिपय अवस्थामा एक कर्मचारी एकभन्दा बढी क्षेत्रका एउटै पदका विज्ञापनमा एकै पटक उम्मेदवार बन्ने गरेकाले त्यस्तो व्यवस्था हटाउनुपर्ने सुझाव दिएको छ । विज्ञापनको अघिल्लो दिनसम्म जुन जिल्लामा कार्यरत छ, सोही क्षेत्रको विज्ञापनमा मात्र उम्मेदवार हुन पाउने गरी मौजुदा कानुन संशोधन हुनुपर्ने सुुझाव पनि आयोगको छ । यस्तै विविध सेवामा सूचना प्रविधि समूह र उपसमूह गठन हुने गरी कानुन संशोधनको सुझाव पनि आयोगको छ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading