रविको मुद्दामा आजै आदेश आउन सक्ने

लेखनाथ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दाको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सात जना प्रतिवादी र सरकारी पक्षको बहस बुधवार सकिएको छ । बुधवारै जवाफी बहस सुरु भएको थियो । बुधवार जाहेरवाला सहकारी पीडित पक्षका कानुन व्यवसायीहरूले प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले उठाएका सवालहरूको जवाफ दिएका थिए ।

बिहीबार सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ । अदालतका स्रेष्तेदार राजन खनालले बिहीबार बाँकी जवाफी बहस हुने जानकारी दिनुभयो । “बुधवार जाहेरवालाको तर्फबाट जवाफी बहस भएकोमा बिहीबार सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ,” स्रेष्तेदार खनालले भन्नुभयो, “सम्भवतः आजै नभए शुक्रवारसम्म इजलासले आदेश गर्न सक्छ ।”

न्यायाधीश नीतिज राईको इजलासले जवाफी बहसपछि प्रतिवादीहरूलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक निर्णय लिनेछ । न्यायाधीश नीतिज राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका थुनछेक बहस जारी छ ।

लामिछानेसहितले सूर्य दर्शनको बचत गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ । लामिछाने गोरखा मिडियाको पूर्व प्रबन्ध निर्देशक र सेयर सदस्य हुनुहुन्छ । अहिले कास्की प्रहरीको हिरासतमा गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, मिना गुरुङ, आरती गुरुङ छन् ।

लामिछानेसहितका प्रतिवादीमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोग पत्र दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले सूर्य दर्शन सहकारीको रकम ठगी प्रकरणमा पूरक र थप गरी अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । प्रतिवादीहरूसँग एक अर्ब ५१ करोड बिगो माग गरिएको छ ।


Discover more from nigranidainik - focus of investigative.

Subscribe to get the latest posts sent to your email.

Discover more from nigranidainik - focus of investigative.

Subscribe now to keep reading and get access to the full archive.

Continue reading