
गोविन्द पन्थी / समाजिक अभियान्ता, पूर्व डिएसपी ।
नेपाल आधुनिक युगमा प्रवेश गरेसँगै छिमेकी र विश्वका अन्य देशमा उपयोग गरिएका सामाजिक तथा आर्थिक कार्यक्रमको अनुकरण गर्ने क्रम पनि सुरु भयो । सहकारीबारे हाम्रा छिमेकी चीन र भारतको अभ्यास चाखलाग्दो मात्रै होइन, अनुकरणीय पनि छ ।
चीन र भारतमा सहकारीको अभ्यास बिसाैँ शताब्दीको सुरुदेखि नै भएको हो । विसं २०११ सालमा बाढीपीडित भएर गोर्खा र लमजुङबाट चितवनमा गएर जङ्गल फँडानी गरी गुजारा गर्ने क्रममा २२–२५ परिवारको सामूहिक बसाइको प्रबन्ध गर्ने बखानसिंह गुरुङ पहिलो सहकारीका अगुवा पथप्रदर्र्शक हुन् ।
नेपालमा २०१३ चैत २० गते चितवनमा स्थापना भएको बखान सहकारीलाई पहिलो मानेर बर्सेनि चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । नेपालको सहकारी क्षेत्रको नेतृत्व र प्रतिनिधित्व राष्ट्रिय सहकारी महासङ्घले गर्छ । राज्यको तर्फबाट सहकारी क्षेत्रमा काम गर्ने मन्त्रालय तथा सहकारी विभाग, प्रदेश र पालिकास्तरमा विभाग छन् ।
नेपालमा विसं २०१६ सालमा सहकारी ऐन संसदबाट पारित गरियो । तत्कालिन समयमा प्रधानमन्त्री स्व. बिपी कोइराला थिए । विसं २०१७ सालमा पञ्चायती व्यवस्थाको प्रादुर्भाव भएपछि सहकारीलाई साझाका रूपमा चलाइयो । यस अवधिमा नागरिकका तर्फबाट स्वतन्त्र तत्परता र पहल विकास हुन सकेन, राज्यनिर्देशित रह्यो ।
विसं २०४६ को जनआन्दोलनबाट बहुदलीय व्यवस्था स्थापना भएसँगै साझा कार्यक्रमलाई सहकारी ऐन, २०४८ व्यवस्था गरेर फेरि सहकारीमा रूपान्तरण गरियो । यसपछि जनताको स्वतःस्फूर्त सहभागिता हुदै २०७२ सालमा बनेको नयाँ गणतान्त्रिक संविधानमा सहकारी, निजी र सार्वजनिक गरी तीनखम्बे अर्थतन्त्र भन्ने उल्लेख गरियो ।
राष्ट्रिय सहकारी दिवस २० चैत २०८० देशै भर मनाइयो । नेपालीमा एउटा चर्चित उखान छ,‘आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नु ।’ यतिबेला यो उखान बैंक तथा वित्तिय संस्था पीडितसँग मेल खान पुगेको छ । ब्याजको लोभमा पर्दा आज लाखौं पीडित बनेका छन् ।
मुलुकमा भूमिको अधिकार पुरै जग्गाधनीलाई दिइएको छ । घरजग्गा पुरै घरधनीको स्वामित्वमा हुन्छ । मालपोत कार्यालयको ढड्डामा उनीहरुकै तस्बिर टाँसिएको हुन्छ । त्यो सम्पत्ति उनीहरुबाट कसैले खोस्न सक्दैन् । तर, भनिन्छ नि,‘लोभले लाप, लापले विलाप’, त्यस्तै अवस्था बनिदियो । आफ्नो नाममा भएको घरजग्गा बेचेर सहकारी, फाइनेन्स र लघुवित्तमा राखे ।
सहकारीहरूले सहकारीको मर्म र कानूनी प्रावधान विपरीत खासगरी घरजग्गा, हाउजिङ, शेयर र कम्पनीमा लगानी गर्दा संस्थाहरू संकटमा परेको र बचतकर्ताको रकम डुबेको हो।
राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा सरकारद्वारा २०८० सालमा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदनले कम्पनी र घरजग्गामा अन्धाधुन्ध लगानी सहकारी संकटको प्रमुख कारण रहेको निष्कर्ष निकालेको थियो।
साग र मकै बेचेर गुजारा चलाउनेदेखि मजदूरी गर्नेहरूसम्मले दुई चार पैसा साँचेर राख्न सहकारीमा बचत गर्ने गरेका थिए। धेरैले सहकारीमा पाइने आकर्षक ब्याजको लोभमा रकम राखेका थिए।सहकारी सञ्चालकको बदमासीका कारण भविष्य सोचेर बचत गरेका बचतकर्ताको वर्तमान नै छिन्नभिन्न बनेको छ। पेट काटेर जम्मा गरेको पसिनाको कमाइ डुब्दा पारिवारिक विखण्डन, शैक्षिक/व्यावसायिक यात्रामा विरामदेखि गहिरो मानसिक आघातका कारण आत्महत्यासम्मका घटना भएका छन्।
खाइनखाई जोहो गरेको रकम डुबेको पीरले चतुर्वेदीलाई मानसिक रोगको औषधि खानुपर्ने अवस्थामा पुर्यायो। मानसिक तनावकै बीच उनले गत भदौ ८ गते अत्तरखेलस्थित डेरामा झुन्डिएर आत्महत्या गरे।
आज न जायजेथो आफ्नो नाममा छ, न त हातमा पैसा । ब्याजको लागि उनीहरुले आफ्नो जायजेथो बेचेर वित्तिय संस्थामा लगेर पैसा राखे । वित्तिय संस्थाहरु धमाधम भागेपछि र बन्द भएपछि उनीहरुको बिचल्ली भएको छ ।
एउटा भौचरको आडमा बचतकर्ताले आफ्नो करोडौं रकम राखेका थिए । त्यो पैसा सुरक्षित छ कि छैन् ? उनीहरुले कहिल्यै सोधिखोजी गरेनन् ।
ब्याज आउञ्जेल बसिबसि खाइरहें । अब अहिले सहकारी डुबेपछि उनीहरुलाई ‘रुनु न हाँस्नु’ भएको छ । नेपालीहरु साह्रो अल्छी छन् । ब्याजले नै खान पुग्ने भएपछि एकपछि अर्को गर्दै सम्पत्ति बेचेर वित्तिय संस्थामा लगेर राखे । अन्तिममा घरजग्गा नै रहेन् ।
बुढापाखाले सजिलो कमाउने माध्यम नखोज्नु भनेर दिने गरेको अर्ति यतिबेला पीडितहरुलाई झल्झली याद आएको छ । तर, के गर्ने पैसा डुबिसक्यो ।
कतिपयले घरजग्गा बेचेको पैसा राखे त कतिपयले व्यापार व्यवसाय गरेको । विदेशबाट कमाएर ल्याएको पैसा पनि ब्याजको लोभमा सहकारीमै जम्मा गरियो । जागिरबाट आउने तलब पनि सहकारीमै राखिन्थ्यो ।
एउटै बचतकर्ताको लाखदेखि करोडौंसम्म डुबेको छ । त्यो बचत फर्किने सम्भावना निकै न्यून छ ।
बचतकर्ताहरुलाई आफ्नो बचत माग्दै विभिन्न निकाय धाउँदाकै सास्ती छ । करोडौं रुपैयाँको प्रमाण एउटा भौचर छ । त्यो भौचर लिएर कहिले सहकारी विभाग त कहिले केन्द्रीय अनुसन्धान ब्यूरो ।
कहिलेचाँहि सडकमा । यो क्रम अझै कहिलेसम्म चल्ने हो ? भन्न सकिन्न ।
यता, मुद्दामामिलामा जानुपर्यो भने आफ्नै पैसा खर्च हुन्छ । घटना घटेपछि आँखा खुलेर के गर्ने ? सरकारको प्रवृत्ति कस्तो छ ? भन्ने सर्वसाधारणले राम्ररी बुझेका थिए । तैपनि आँखा चिम्लेर मोटो रकम सहकारी, फाइनेन्स र लघुवित्तमा बचत गरे ।
सरकारले त उनीहरुलाई ठगेर खाऊँ भनेरै इजाजत दिएको हो । नत्र कहिलेँकाँही त अनुगमन गर्थ्र्यो होला नि । सरकार कहिलेपनि जनताप्रति जिम्मेवारी भएन् र हुने पनि देखिँदैन् ।
सहकारीले करोडौं बचतकर्ताको खर्बौं रुपैयाँ खाइदिएको छ ।
सहकारीबाट शुरु भएको संकट समग्र वित्तिय क्षेत्रमा देखिन थालेको छ । लघुवित्त र फाइनेन्स सहकारीको अवस्थामा पुगिसकेको छ भने बैंक पुग्ने बाटोमा छ । भविष्यमा बैंकमा पनि संकट नआउँला भन्न सकिन्न ।
यतिबेला बैंकको पनि चर्को विरोध भइरहेको छ । सर्वसाधारणलाई सडकछाप बनाउनु त बैंक तथा वित्तिय संस्थाको एजेण्डा नै रहेछ ।
दुर्भाग्यबस्, ढिला बुझियो । बैंक तथा वित्तिय संस्थाले ऋणी र बचतकर्ता दुवैलाई सडकछाप बनायो । गाउँदेखि शहरसम्म बैंक तथा वित्तिय संस्था ‘चोर’ भन्ने नारा लाग्न थालिसकेको छ ।
पछिल्लो समय बैंक तथा वित्तिय संस्थामा तोडफोड भइरहेको घटनाहरु पनि सुन्नमा आइरहेको छ । अब पनि सरकार टुलुटुलु रमिता हेरेर बस्ने हो भने ठूलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ । बैंकमा केही दिनदेखि बचतकर्ताको भीड छ । पैसा निकाल्न जानेहरुको लाम लागेको छ ।
बैंक पनि डुब्छ भन्ने छाप जनतामा परिसकेको छ । तर, सरकारले अझैपनि त्यसलाई हलुकामा लिएको छ ।
यसले ठूलो जोखिम निम्त्याउन सक्छ । बुढापाखाले भन्थे,‘क्यासको हरेक दाउ ।’ पासबुक लाखौं रुपैयाँ छ तर हातमा पाँच रुपैयाँ पनि छैन् । त्यस्तो पैसा के गर्ने ?
सहकारीमा करोडौं बचत भएकाहरु उपचार गर्न नसकेर ज्यान गुमाइरहेका छन् । कोठाभाडा तिर्न सकेका छैन् । स्कुलमा बच्चाको फिस बाँकी छ । खान धौंधौं परेको अवस्था छ ।
सहकारीको बचतकर्ताको नियति बैंकका बचतकर्ताको नबनोस् । त्यसैले बैंकका बचतकर्ता बेलैमा टाठोबाठो बन्न आवश्यक छ । केही हुँदैन् भनेर कुरिरह्यो भने आफ्नो जिन्दगी भरको कमाइ स्वाहा हुन्छ ।
बैंकमा भएको पैसा निकालेर बेलैमा कहीँ इन्भेष्ट गर । जग्गा कसैले बोकेर लैजान सक्दैन् । आफ्नो नाममा भएको जग्गा जीवनभरलाई काम लाग्छ । त्यसैले बैंकका बचतकर्ता बेलैमा सचेत होऔं ।
बुढापाकाले भन्छन् नि,‘हुलमुलमा ज्यान जोगाउनु, अनिकालमा बीऊ जोगाउनु ।’ सहकारीबाट अब बैंकका बचतकर्ताले पाठ सिक्न आवश्यक छ । अहिले सहकारीको बचतकर्ताले बिनासित्ती सास्ती खेपिरहेका छन् ।
कहिले कुन निकाय धाउँछन् कहिले कुन । यही अवस्था बैंकका बचतकर्ताको नबनोस् । सरकार त सरक्क साइड लागिहाल्छ ।
सहकारीमा समस्या देखिएको लामो समय भइसक्यो । तर, सरकारले के गर्यो ? बचतकर्ता डुबेको हेरेर बस्यो । बचतकर्ताको पैसा कसरी फिर्ता गराउन सकिन्छ ? सरकारसँग कुनै योजना छैन् । पछिल्लो समय बैंककै कर्मचारीले खाताको पैसा चोरिरहेको खबरहरु आइरहेको छ ।
यता, बैंकको लगानी जम्मै घरजग्गा, सेयर र गाडीमा छ ।
ऋणीहरुले ऋण तिर्न नसकेपछि धितो छोडिदिएका छन् । तर, अहिले घरजग्गाको कारोबारमा मन्दी छ । बैंकहरुलाई नै धितो ‘निल्नु न ओकाल्नु’ भएको छ । अर्कोेतर्फ ऋण लिने जाने पनि छैनन् । यद्यपि, बैंकको खर्च त छ ।
कर्मचारीलाई तलब खुवाउनुपर्यो, घरभाडा तिर्नुपर्यो । अन्य विविध खर्च हुन्छ । बैंकले बचतकर्ताकै पैसाबाट आफ्नो खर्च पूर्ति गरिरहेको देखिन्छ ।
बैंकको कर्जा नउठ्ने ठाउँमा फसिसकेको छ । बैंकहरुमा संकट छ, तर राष्ट्र बैंकले सर्वसाधारणलाई कुनै जानकारी दिएको छैन् । हेर्दाहेर्दै एउटा बैंक डुबिसकेको छ ।
राष्ट्र बैंकको ठीक छ भनेर बैंक डुब्यो । राष्ट्र बैंकले खेलाँची गर्ने हो भने अबको केही समयमै अन्यको पनि त्यस्तै अवस्था बन्छ । बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले घुस खाएर धमाधम अनुत्पादक क्षेत्रमा कर्जा लगानी गरे ।
उनीहरुलाई त्यो जोखिमपूर्ण छ भन्ने थाहा थियो, तैपनि रातारात चौब्बर नाफा कमाउन धमाधम कर्जा लगानी गरियो । सरकारी मूल्याकंनमा एक लाख रुपैयाँ पर्ने जग्गा भूमाफियाहरुले मूल्य बढाएर करोड पुर्याएका थिए ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.