
आजकै दिनमा हामी मध्य धेरैले अक्षराम्भ गरेका हुनसक्छौं, अर्कोतर्फ आजको दिन सर्जकहरुको दिन हो । आफ्ना सिर्जना र शब्दहरुको पूजागर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त कालसम्म रहिरहोस् । सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ ।
म जेनिसा खनाल आकाशदीप विद्यालयमा कक्षा आठमा अध्यानरत छु । मेरो विद्यालयमा आज विहान देखि नै सरस्वती पूजाका लागि गुरुबा, गुरुआमा, मेरा साथीभाई/दाईदिदिहरु, विद्यालयका अन्य धेरै मान्यजनहरुको उपस्थितिमा सरस्वती पूजा गरियो ।
आजकै दिन महिले पनि विद्यालयमा पहिलो पाइला टेकेको दिन हो सरस्वती पूजा । म सानी थिएँ । के गर्ने के नगर्ने भन्ने कुनै कुराको अत्तो हुदैन थियो । जव-जव म पनि ठुली हुदै गए । अनि मलाई थाहा भयो सरस्वती पूजाकाको महत्व ।
सेतो वस्त्र धारण गरेकी, गोरो वर्णकी र विभिन्न गरगहना लगाएर हाँसिरहेकी; हातमा वीणा, पुस्तक र माला बोकेकी देवी सरस्वतीको तस्बिर हामीले देखेका छौँ । मेरो विद्यालयमा सरस्वतीको मूर्ति पनि छ, सायद तपाईंहरू पढ्ने सबै विद्यालयमा सरस्वतीको मूर्ति बनाइएको हुन्छ । उनले बोकेको पुस्तक, वीणा र मालाले हामीलाई गीत, नाचगान र लेखपढ गर्न सिकाउँछ भने मालाले ध्यान गर्न । अनि सरस्वतीको तस्बिरसँगै मयुर देखिन्छ । मयुर सरस्वतीकी वाहन हो । मयुर सुन्दर र मिठो स्वर निकाल्ने पन्छी भएकाले हामीलाई पनि त्यस्तै बन्नका लागि सायद सिकाइएको होला ।
वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो । यस दिन विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिन्छ । यो पूजा पूर्वी भारत र नेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघ शुक्ल पञ्चमीमा मनाउन थालियो । जसलाई अझै पनि वसन्त पञ्चमी भनिन्छ ।
प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्त पञ्चमी पर्व यो वर्ष वैदिक तिथिपत्र अनुसार वसन्त ऋतुमा मधुशुक्ल पञ्चमी कै दिन तथा लौकिक पञ्चाङ्ग अनुसार निरयण माघ शुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो । सौर वर्षमा (वि.सं.२०७५ माग २७ गते तदनुसार सन् २०१९ फेब्रुअरी १० तारिकका दिन परेको थियो । प्राचीन भारतवर्षमा प्रसिद्ध वेदाङ्ग ज्योतिष अनुसार एकयुगमा ५ संवत्सर, एक संवत्सरमा २ अयन, एक अयनमा ३ ऋतु, एक ऋतुमा २ महिना, एक महिनामा २ पक्ष र एकमा १५ दिन हुने र एक दिनमा ३० मूहुर्त हुने कुरा बताईएको छ । वर्षमा ऋतुबद्ध ६ महिना हुन्छन् ।
वसन्त सृष्टिकारक तथा मानिसहरूको मनपर्दो ॠतु हो । जब फूलहरूमा बहार हो, जौ र गहूँका बालीहरू लहलहाउँछ । आँप आदीका रुखहरूबाट नयाँ पालुवा पलाउँछ । पुष्पबाट सुगन्ध फैलिन्छन् र चारैतिर रंग-बिरंगी पुतलीहरू उड्नथाल्छन । कोकिल कुहु कुहु गर्दछन् । यो बेलामा पहिला राज्यमा वसन्त ऋतुको स्वागत गर्न वसन्तोत्सव मनाइन्थ्यो । शुक्ल यजुर्वेद शतपथ- २॥१॥३॥४ मा “ब्राह्मणो वसन्ते अग्नी आदधीत)” भनेर वसन्तमा ब्रह्मवेत्ता ऋषिहरूले अग्निध्यान गरे भनिएको छ ।
माघ महिनाको निरयण चान्द्रमाण पञ्चाङ्ग अनुसार पाँचौं दिन तथा वेदाङ्ग ज्योतिषको वैदिक तिथिपत्र अनुसार मधु(सायन चैत्र) महिनाको पञ्चमी तिथिमा एउटा ठूलो उत्सव मनाइन्थ्यो जसमा विष्णुर कामदेवलाई पूजा गरिन्थ्यो । यसैलाई वसन्त पञ्चमीको पर्व भनिन्थ्यो । शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ, र पुराण-शास्त्रहरू तथा अनेक काव्य ग्रन्थहरूमा पनि अलग-अलग ढङ्गले यसको चित्रण पाइन्छ ।
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती ।
तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी ।।
पञ्चमन्तु जगन्माता षष्टं वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी चाष्टमं वरदायिनी ।।
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी ।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।
एतद्द्वादश नामानि त्रिसन्ध्यं यः पठेन्नरः ।
जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।।
यो सरस्वती स्तोत्रम् तपाईंलाई पनि कण्ठ आउँछ ?
- महासरस्वतीको पौराणिक महत्त्व
यो पर्वले हामीलाई अतीतका अनेक प्रेरक घटनाहरूको स्मरण गराउँछ । सर्वप्रथम त यसले त्रेता युगमा रावणद्वारा सीता हरणपछि श्रीराम उनको खोजीमा दक्षिणतर्फ बढेका थिए । यसमा जुन स्थानहरूमा उनी गए, तिनमा दण्डकरण्य पनि थियो । यही शवरी नामक तपस्विनी रहन्थिन् । जब राम उनको कुटीमा पुगे, उनले सुध-बुध हराई र चाखेर मीठा बयर फल रामलाई खुवाउन लागिन् । प्रेममा जुठा बयरहरू खुवाइएको यस घटनालाई रामकथाका सबै गायकहरूले आ-आफ्नो ढंगमा प्रस्तुत गरेकाछन् । दण्डकरण्यको त्यो क्षेत्र अचेल गुजरात र मध्य प्रदेशमा फैलिएकोछ । गुजरातको डांग जिल्लामा त्यो स्थान छ जहाँ शबरी माताको आश्रम थियो । वसन्त पञ्चमीको दिन नैं राम त्यहाँ पुगेका थिए । त्यस क्षेत्रका वनवासी आज पनि एक शिलालाई पूज्दछन्, जसको बारेमा उनीहरूको विश्वास छ कि श्रीराम आएर त्यहीं बसेका थिए । त्यहाँ शबरी माताको मन्दिर पनि छ ।
सर्जक ब्रहृमाको मुखबाट उदय भएकी महासरस्वती सम्पूर्ण प्राणीहरूकी वाग्देवी अर्थात् वाणीकी देवी हुन् । राजहंस वाहन भएकी देवीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन्। सेतो वस्त्रले सजिएकी हरदम मुस्कुराइरहन्छिन् र सम्पूर्ण मानवजातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्छिन्। भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको ‘सरस्वती कवच’ को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गरे। आवश्यकता अनुरूप संहारका बेला महाकाली रूप धारण गर्ने र जीवदेखि जगत्सम्मको सञ्चालनमा महालक्ष्मी रूप धारण गर्ने देवी सिर्जनाका बखत महासरस्वतीको रूपमा सर्वत्र विराजमान हुन्छिन् ।
स्वर, सङ्गीत, ताल, लयकी श्रोत स रे ग म प ध नि सं देखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, हातको सीप, वाणीको माधुर्य, गला र कलाको आकर्षणको केन्द्र र निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने सरस्वतीका विभिन्न साधना र पूजाका विधान छन् । बौद्धधर्मीहरूले उनैलाई मञ्जुश्रीका नामले चिन्दछन् भने उनका विभिन्न स्वरूपका चिन्तन गर्दै बालबालिका अक्षरम्भ गर्छन् भने बुद्धिजीवीहरू विशेषज्ञता प्राप्त गर्ने प्रयास गर्छन् ।
वाहन राजहंसले दूध र पानीलाई सहजै छुट्याउन सकेझैँ ठीक वा बेठिकको सही पहिचानको ज्ञान, बुद्धि, संयम र विवेक प्रदायिनी देवी सरस्वतीको कृपा प्रसादबाटै मानव मस्तिष्कको अथाह ज्ञान प्रयोग गर्दै आजको संसार विज्ञानमय बनेको छ र सर्वसुलभ सुविधा प्राप्त गरेको छ । संस्कार, सभ्यता र संस्कृतिकी श्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्ने देखि अन्य उद्यमशीलताका कार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन । विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय वा आफ्ना पराक्रम स्थलहरूमा वा मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन् ।
धातु या मूर्तिमा वा प्रतिमा या उनका चित्र अङ्कित फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, अगरु, शफ्, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन्। उत्साह, लगनशीलता र अथक प्रयासलाई नै सफलताको प्रेरक मान्ने देवी विद्याकी खानी नै हुन्। सबैभन्दा उत्तम धन भनेको विद्या नै हो जसका धेरै प्रकार छन्। जसमध्ये चार वेद, चार उपवेद, सयौँ वेदाङ्गहरू, शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिष, मीमांसा, न्याय, धर्मशास्त्र, अठार पुराण, अठार उपपुराण, पञ्चमवेद, महाभारत, आयुर्वेद, धनुर्वेद, गान्धर्व वेद, स्थापत्यवेद (वास्तुशास्त्र) र अर्थशास्त्र प्रमुख छन् ।
विद्या प्रकाश हो, अविद्या अँध्यारो, अज्ञानताको पर्दा नउघारी भक्तिको उदय सम्भव हुन्न, भक्तिमा ज्ञान र वैराग्यको क्षमता हुन्छ । भक्ति र शक्तिको सङ्गम भए विद्या विज्ञान बन्न पुग्छ र यसको सदुपयोग हुन्छ । विद्याहीन व्यक्ति भाग्यबाट पनि टाढा रहन्छ । नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरू हुन् ।
सरस्वतीका प्रसिद्ध पीठहरू मध्ये काठमाडौँ उपत्यकामा जय वागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, भक्तपुर जिल्लाको थाकलमाठको सरस्वती मन्दिर र हनुमानघाटको नीलसरस्वती ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन विशेष भीड लाग्ने गर्दछ । तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ । मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन देखिन्छ । श्रीपञ्चमीका दिन कामदेव र रतीको पनि पूजा गरिन्छ । वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतीको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्त राग गाउने पनि चलन रहेको छ ।
यस दिन बिहान कलश स्थापना गरी गणेश, सूर्य, अग्नी, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यको रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सेतो रङ, फूल, चन्दन, शङ्ख पनि चढाइन्छ ।
सरस्वतीप्रति साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी धेरैको आस्था र विश्वास रहेको पाइन्छ । यस दिन सबैले आ–आफ्नै किसिमले सरस्वतीको रूपमा पूजा–आराधना समेत गर्छन् ।
०००
जेनिसा खनाल, कक्षा : ८
आकाशदीप बोर्डिङ सेकेन्डरी स्कुल, दक्षिणढोका काठमाडौँ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.