
निगरानी ब्युरो । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी दानबहादुर कार्कीले नियत्रण गरेका गोरु पथलैया कसरि पुग्यो भन्ने जनमानसमा प्रश्न उठन थालेको छ ।
केहि समय अगाडी लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी दानबहादुर कार्की प्रहरी प्रमुखको पदभार ग्रहण गरेसँगै प्रमुख एजेण्डा नै तस्करी नियन्त्रणको मुख्य रह्यो । डिआइजी कार्कीको पहल कदमिले कानुनी विपरितका क्रियाकलापमा रोक लगाउनुका साथै चोरी नियनत्रणमा कमिहुदै गएको उच्च स्रोतको दावी छ ।
लुम्बिनी प्रदेशबाट खुलेआम बढिरहेको तस्कर मध्य एक हो पशुचौपाय तस्करी ! नेपालको खुल्ला नाकाबाट गाई, गोरु लगाएत पशुजन्य दिनहु नाकापार हुदै आएको थियो ।
तस्करहरूले गोरु तस्करीका लागि लुम्बिनी प्रदेशलाई हब बनाउँदै आएको पछिल्लो तथाङ्कले देखाउँछ । सीमावर्ती क्षेत्र भारतबाट चोरी तस्करी गरी ल्याइएका गोरु संकलन गरेर दाङ, कपिलवस्तु हुँदै रुपन्देही र नवलपरासीसम्म पुर्याएर पुर्याइन्छ ।
तस्करी भएका गोरु त्यहाँबाट पूर्व–पश्चिम राजमार्ग हुँदै झापा पुग्छन् । झापाबाट पुनः भारतको दार्जिलिङ, सिक्किम हुँदै बंगलादेशसम्म पुर्याउने तस्करहरुको ठुलो जमात नै छ । सुन्दा सामान्य लाग्न सक्छ । तर, कथा र बिषय बस्तु भने फरक छ ।
केही दिनअघि मात्रै प्रहरीले कडाइ गरेपछि दाङको गढवा गाउँपालिकाअन्तर्गत सडकमा गोरु छाडेर तस्कर भागे । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख कृष्णप्रसाद लम्साल उक्त गोरु लिलाम गर्ने तयारीमा थिए । उनै प्रमुख लम्सालले जानुन कुन हिसावले गोरु लिलाम निकालेका हुन् भन्ने कुरा । गोरु लिलामको प्रक्रियामा ढाल बनेर डिआइजी कार्कीले अडान लिदा जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख कृष्णप्रसाद लम्सालको आेठ मुख नै सुक्यो । तर, छाडा गोरु लिलाम नगर्न प्रहरीको अनुरोधपछि गढवा गाउँपालिकाले संरक्षणमा लिएको छ । गाउँपालिकाले नै ती गोरु आवश्यक किसान पहिचान गरी वितरण गरिरहेको छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी दानबहादुर कार्कीले लम्साललाई गोरु लिलाम गरिए प्रतिवाद गर्ने चेतावनी दिएपछि उनी पछाडि हटेका थिए । लम्साललाई डीआईजी कार्कीले भनेका थिए, ‘छाडा गाईगोरुको लिलामी गरेर आम्दानीमा बाँध्नुभयो भने अख्तियारमा उजुरी गर्छौं ।’
रुपन्देही प्रहरीले गाईगोरु तस्करीमा कडाई गरेपछि तस्करहरूले गुल्मीबाट भित्री बाटो हुँदै गोरु राजमार्गसम्म ल्याएर क्वारेन्टाइन गरी पूर्व झापासम्म सेटिङमा लैजाँदै आएका छन् ।
सडकमा प्रहरी र तस्करबीचको सेटिङ देखेरै प्रदेश प्रहरी कार्यालय लुम्बिनीले परिपत्र जारी गरेर भनेको छ– ‘प्रदेशभित्रका एक जिल्ला हुँदै अर्को जिल्लामा गाईगोरु तस्करी भएको अवस्थामा फेला पर्यो भने शुरूको जिल्लाका प्रहरी कारबाहीमा पर्छन् ।’
तस्करसँग सेटिङ देखिएकै आधारमा एक महिनाभित्रमा दाङ, कपिलवस्तु, पश्चिम नवलपरासी, रुपन्देही र बर्दिया गरी ५ प्रहरी युनिटका ५ जना जुनियर अधिकृत (असई/सई) लाई जिल्लामा तानेर कारबाही भइरहेको जानकारी डीआइजी कार्कीले जानकारी दिए ।
डिआइजी कार्कीले नाकाका तस्करीमा कडाई गरे पश्चात तस्करीहरुले नयाँबाटो रोजेको देखिन्छ । हेटौँडा हुँदै बारातर्फ गइरहेको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको छ ।
गत आइतबार साँझ ६:३० बजे विशेष सूचनाका आधारमा ट्रकलाई नियन्त्रणमा लिन खोजिएको थियो । तर, स्थानीय प्रहरीको असहयोगका कारण ट्रक मकवानपुरको नाका पार गर्न सफल भएको थियो । पछि, सशस्त्र प्रहरीको सहयोगमा ट्रकलाई पथलैयामा रोकिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिए ।
- किन चुक्यो बाग्मती प्रदेश प्रहरी ?
आइतबार दिउँसो नै गोरु तस्करी भइरहेको सूचना पाएपछि कार्यालय प्रमुख ठाकुर ट्रकलाई नियन्त्रणमा लिन तयारी अवस्थामा थिए । उनी सरकारी मोटरसाइकलमा राजमार्गभन्दा फरक बाटो हुँदै रातोमाटे प्रहरी चौकीमा पुगे । त्यहाँ पुग्दा बा.प्र.०३-००१ ख १४२४ नम्बरको ट्रकलाई प्रहरीले रोकेर सामान्य जाँच गरिरहेको देखे । उक्त ट्रकमा २५ वटा जर्सीक्रस गोरु लोड गरिएको थियो।
प्रमुख ठाकुरले प्रहरीलाई ट्रक अवैध रूपमा जाँदैछ भनी जानकारी गराए । तर, प्रहरीले ट्रक नियन्त्रणमा लिएन आखिर किन ? “ट्रक नियन्त्रणमा लिन चौकीका इन्चार्ज कुमार फुयालसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई पनि जानकारी गराएँ । तर, प्रहरीले नै बाइकमा स्कर्टिङ गरेर नाका कटाई दिए,” ठाकुरले भने ।
रातोमाटे चौकीबाट ट्रक पथलैयातर्फ गएपछि ठाकुर पनि ट्रकको पछिपछि लागे । स्थानीय प्रहरीले कुनै सहयोग नगरेपछि उनी हेटौँडा–१५, नयाँ बस्तीस्थित सशस्त्र प्रहरी राजमार्ग सुरक्षा चेकपोस्ट पुगे । उनले ड्युटीमा रहेका सशस्त्रका असईलाई जानकारी गराए। सोही समयमा ट्रकलाई रातोमाटे चौकीबाट खटिएका हवल्दार र सिपाहीहरूले मोटरसाइकल स्कर्टिङ गर्दै चुरियामाई नाका कटाइदिएको ठाकुरले बताए ।
नेपाल प्रहरी र प्रशासनबाट सहयोग नपाएपछि ठाकुरले सशस्त्र प्रहरी १४ नम्बर हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहसँग समन्वय गरे । शाहको निर्देशनमा पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा खटिएका सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिए । त्यसपछि ट्रकलाई पशु सेवा कार्यालय मकवानपुरको जिम्मा लगाइयो।
- चालक फरार, नक्कली कागजात भेटियो
सशस्त्र प्रहरीको सहयोगमा ट्रक नियन्त्रणमा लिइएलगत्तै ट्रकका चालक र गोरु चराउने सहायकहरू फरार भए । करिब २ घण्टासम्म ट्रक चालक पर्खिएपछि आउँदैनन् भनेर हेटौँडाबाट अर्को चालक बोलाएर ट्रकलाई हेटौँडा ल्याइयो।
छानबिनका क्रममा गोरु ओसारपसारका लागि आवश्यक भेटेरिनरी प्रमाणपत्र नक्कली भेटियो । २५ वटा जर्सीक्रस गोरु कृषि प्रयोजनका लागि झापातर्फ लगिँदै थियो भन्ने देखाउन खोजिएको थियो। भेटेरिनरी प्रमाणपत्रमा आबुखैरेनी, तनहुँका भीम राईले लक्ष्मी चौपाया सप्लायर्स मार्फत झापाको हेमादेवी सप्लायर्सलाई गोरु विक्री गरेको उल्लेख थियो। प्रमाणपत्रमा डा. टिकाराम न्यौपानेको हस्ताक्षर देखिए पनि सो कागजात प्रमाणीकरण नगरिएको ठाकुरले बताए।
छानबिनका क्रममा गोरुहरूलाई सर्लाहीको नवलपुरमा दुई दिनसम्म राख्ने र त्यसपछि अर्को ट्रकमा झापा पुर्याउने योजना बनाइएको पाइएको ठाकुरले जानकारी दिए । गोरुहरूको लागि लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर-१६, हेटौँडा को नाममा बिजक जारी गरिएको थियो । प्रतिगोरु ५ हजार रुपैयाँको खरिद बिल बनाएर कृषि प्रयोजनका लागि देखाइएको थियो ।
- प्रहरीको उदासीनता, सरकारी निकायको असहयोग
ट्रक नियन्त्रणमा लिएपछि यसको सुरक्षा व्यवस्थामा पनि समस्या देखियो। ट्रक र गोरुहरूको सुरक्षाका लागि ठाकुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी गुणराज न्यौपाने, प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख डिआईजी कृष्णहरी शर्मालाई आग्रह गरे। तर, “स्थान नभएकाले हामी सहयोग गर्न सक्दैनौँ” भन्ने जवाफ दिइएको उनले बताए। त्यसपछि ट्रकलाई नयाँ बस्तीस्थित सशस्त्र प्रहरीको चेकपोस्टमा राखिएको थियो।
कात्तिक कहिना एता मात्र १७ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ । कृषि प्रयोजनका लागि गाईगोरु ओसारपसार गर्न स्थानीय प्रशासनबाट अनुमति लिने तर, तस्करीका लागि त्यसको प्रयोग गर्ने जोखिम बढेको ठम्याइ प्रहरीको छ । प्रहरी–तस्करको सेटिङबाट गोरु तस्करी हुने गरेको सूचना पाएपछि अहिले कडाइ गरिएको जानकारी डीआईजी कार्कीले दिए ।
‘गोरु तस्करसँग सेटिङ गरेर पैसा कमाउनै प्रहरीले पोस्टिङ रोज्ने गरेको देखियो,’ प्रदेश प्रहरी प्रमुख डिआइजी कार्कीले भने, ‘मैले जिल्लाको ब्रिफिङमै तस्करसँग मिलेको सूचना पाउनेबित्तिकै कारबाही गर्छु भनेको छु । अहिले गोरु तस्करहरूको भागाभाग छ ।’ तस्करले गोरु पाल्पाको रामपुर हुँदै गैँडाकोट पठाउने र त्यहाँ कार्यरत प्रहरीले सेटिङमा गोरु लैजान दिने गरेको देखिएपछि डीआईजी कार्कीले प्रहरी युनिटका सबैलाई परिवर्तन गराएका छन् ।
लुम्बिनी प्रदेशका रुपन्देही, पूर्वी नवलपरासी, कपिलवस्तु र दाङ भारतबाट गोरु भित्रिने जिल्लामध्येका प्रमुख जिल्ला हुन् । विगतमा राति अनुगमनका लागि भन्दै निस्किने प्रहरीका उपल्लो दर्जाका अधिकृतहरूले नै गोरु तस्करलाई लाइन क्लियर गर्दै आएको आरोप थियो ।
अचम्मको कुरा त प्रहरीले गोरु नियन्त्रणमा लिएर भन्सारमा पठाउँछ । भन्सारमा लिलाम सकार्ने व्यक्ति नै तस्करको समुह हुन्छ । भन्सारको लिलामी पत्र देखाएर तस्करले गोरु तस्करी गर्दै आएका छन् । पूर्वको मेची भन्सार नाकाबाटै गोरु निकासी हुँदै आएको छ । सेटिङमा जारी भएको क्वारेन्टाइन पास गरेको पत्रका आधारमा तस्करले गोरु सीमापार गर्दै आएको प्रहरीले जनाएको छ ।
आ.व ७९/८० मा २ हजार १३६ र ८०/८१ मा १ हजार ४०९ वटा गोरु क्वारेन्टाइनको स्वीकृतिमा मेची भन्सार नाकाबाट भारत निकासी भएको तथ्यांक छ । तर, भन्सार नाकासमेत छली गरेर खुला नाकाबाट गोरु निकासी भइरहेका छन् ।
तस्करले झापाको भद्रपुर, घैलाडुवा, कुञ्जीबारी, जामुना, नकलबन्द, केचना, गलगलिया, भैँसावारी, ठाकुरगञ्ज, घेराबारी, पाठामारी, किचकवध, खुदुनावारी, ज्यामिरगढी तथा मोरङको वरडंगा, डाइनिया, झुरकीयालगायत नाकाबाट हरेक रात अवैध रूपमा गाईगोरु भारत छिराउने गरेका छन् ।
गाईगोरु तस्करले मासिक रुपमा ५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको आरोप लाग्ने गरेको छ । तस्करीका गाईगोरु त्यहाँबाट बंगलादेशतर्फ सप्लाइ गरिन्छ ।
- प्रहरीद्वारा जिम्मेवारी अस्वीकार
रातोमाटे प्रहरी चौकीका इन्चार्ज कुमार फुयालले भने आफूलाई गोरु तस्करीबारे जानकारी नभएको बताए। “गोरु तस्करी र नियन्त्रणका विषयमा सम्बन्धित कार्यालयहरूबाट मलाई कुनै जानकारी आएको छैन,” उनले भने। आइतबारको घटनाबारे आफूलाई जानकारी नभएको दाबी गर्दै उनले चौकीमा सामान्य सुरक्षा जाँचपछि ट्रक छोडिएको बताए ।
गोरु तस्करले कपिलवस्तुको महेन्द्र राजमार्ग खण्डबाट भित्र पर्ने सालझण्डी–ढोरपाटन हुँदै गुल्मी पाल्पाको सिमाना रिडीबाट कालीगण्डकी र मिर्मीबाट स्याङ्जाको चापाकोट रुट प्रयोग गरी पुनः कालीगण्डकी करिडोरअन्तर्गत पिपलडाँडादेखि गँैडाकोटमा ल्याएर गोरु थुपार्दै त्यहाँबाट पूर्वको झापा लैजाने गरेको प्रहरीले जनाएको छ ।
‘हामीले सूचना पाउँदा नियन्त्रणमा लिइहाल्छौं, तर तस्करहरूले सडकमै खटिएका प्रहरीसँगको सेटिङमा गोरु सीमा कटाउने गरेकाले समस्या छ,’ कपिलवस्तुका एक उच्च अधिकृतले भने, ‘स्थानीयले पनि गोरु नियन्त्रणमा लिएर प्रहरीलाई जानकारी गराउँदै आएका छन् ।
कपिलवस्तुका प्रहरी प्रमुख एसपी निरञ्जन भट्टले आफ्नो जिल्लाबाट हुने तस्करीलाई कडाइका साथ नियन्त्रण गर्ने गरेको जानकारी गराए । कपिलवस्तु जिल्ला प्रहरीको चार्ज बुझेपछि मात्रै ९ वटा गाईगोरु तस्करीको मुद्दा दर्ता गरेको छु । तस्करसँग सेटिङ गर्ने प्रहरीलाई समेत कारबाही गरेको छु भट्टले भने ।’
प्रहरीकै संरक्षणमा ट्रकलाई नाका कटाइएको भन्ने आरोप गलत भएको उनको दाबी छ । नेपालको फौजदारी संहिता २०७४ अनुसार गाई/गोरु वध गर्नेलाई ३ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुन सक्छ । गाई/गोरु मासु बेच्न, बोक्न, ओसारपसार गर्न दण्डनीय अपराध हो । साथै, कस्टम ऐन, पशु ऐन, वन्यजन्तु संरक्षण ऐन अन्तर्गत तस्करीमा संलग्नहरूलाई कानुनी कारबाही गरिनेछ ।
Discover more from nigranidainik - focus of investigative.
Subscribe to get the latest posts sent to your email.