तनहुँ दमौलीका ८२ वर्षीय बुद्धिप्रसाद मुग्लिन-पोखरा सडकको स्तरोन्नति देखेर औधी खुसी छन् । पुरानो सदरमुकाम बन्दीपुरमा पुर्ख्यौली घर भएका बुद्धिप्रसाद २०२६ सालमा गोरेटो बाटो हिँडेर काठमाडौं आएको अहिले पनि झल्झली सम्झन्छन् ।
यतिबेला घर अगाडि विस्तारित ६ लेनको सडक देख्दा उनलाई युग फेरिएझैं लाग्छ । २०२६ सालमा बसाइँ सरेर आउँदा दमौलीमा झन्डै २७ घर भएको सम्झना छ उनलाई ।
दमौलीमै भेटिएका सार्वजनिक सवारी चालक पदमबहादुर कुमाल सडकको फेरिएको रूपले सहजता भएको बताउँछन् । ‘पहिलेभन्दा धेरै राम्रो छ, अब गाडी सरर गुड्छ ।’
पहिले विद्यालयको बस चलाउँदै आएका ५९ वर्षीय कुमाल २ महिनादेखि सार्वजनिक सवारी चलाइरहेका छन् । ‘खाल्डाखुल्डीले गाडी बिग्रिइरहन्थ्यो । अब त मर्मत खर्च पनि कम आउँछ,’ उनले भने ।
आँबुखैरेनीमा बसोबास गर्दै आएका शिवराज पन्थी स्तरोन्नति भएको सडकमा अनुशासित भएर सवारी चलाउने बताउँछन् । आइसक्रिम उद्योग सञ्चालन गर्दै आएका उनलाई आफैं पनि गाडी चलाउँदै डेलिभरीमा बजारबजार जानुपर्ने हुन्छ ।