शुक्र, २० चैत २०८२ / April 3, 2026, Friday
शुक्र, २० चैत २०८२
Advertisement
banner add

सपनाको उडान, बेवारिसे नियति : इन्डीगो एयरको लापरवाहीमा परेका गंगाबहादुर दर्नाल

banner add
writter
शनि, २६ पुस २०८२
(Shares)

निगरानी ब्यूरो । हवाई यात्रा आजको विश्वमा सुरक्षित, व्यवस्थित र छरितो मानिन्छ। तर यही विश्वासमाथि प्रहार गर्ने गरी उदयपुरका गंगाबहादुर दर्नालको घटनाले हाम्रो संवेदनशीलतालाई झकझक्याएको छ। रोजगारीको सपना बोकेर दुवई जान हिँडेका एक नेपाली नागरिक चार महिनासम्म दिल्लीमा बेवारिसे अवस्थामा रहनु केवल व्यक्तिगत दुर्भाग्य होइन, यो अन्तर्राष्ट्रिय हवाई सेवा, श्रम आप्रवासन व्यवस्थापन र कूटनीतिक समन्वयको गम्भीर असफलता हो।

काठमाडौंबाट इन्डीगो एयरलाइन्सको फ्लाइटमार्फत दिल्ली उडेका दर्नाल उडानका क्रममा विमानभित्र केही असहज महसुस गर्दै कराउन थालेपछि इन्डीगोले उनलाई गन्तव्य दुवई नपुर्‍याई दिल्लीमै उतारेको थियो । त्यसपछि उनलाई सफदरजंग अस्पताल पुर्‍याइएको इन्डीगोले जनाएको भए पनि, त्यसपछि के भयो भन्ने विषयमा एयरलाइन्स पूर्ण रूपमा मौन रह्यो ।

अस्पताल पुर्‍याएर जिम्मेवारी सकियो त ?

दर्नाललाई दुवई पठाउने काठमाडौंबस्थित मेनपावरले आफ्नो कामदार गन्तव्य नपुगेको जानकारी पाएलगत्तै इन्डीगो एयरलाइन्ससँग पटक–पटक सम्पर्क गर्‍यो । तर इन्डीगोको जवाफ एउटै रह्यो— बिरामी भएपछि अस्पताल पुर्‍यायौं

एयरलाइन्सले न त मेनपावर कम्पनीलाई विस्तृत जानकारी दियो, न त यात्रुको अवस्था, डिस्चार्ज, सुरक्षा वा पुनः डिपोर्टसम्बन्धी कुनै जिम्मेवारी लियो ।

अझ गम्भीर कुरा के छ भने, अस्पतालबाट डिस्चार्ज भएपछि दर्नाल कहाँ गए, कसरी बाँचिरहेका थिए भन्ने विषयमा इन्डीगोले कुनै चासो देखाएन । फलस्वरूप, उनी करिब चार महिना दिल्लीका सडकमा मानसिक र शारीरिक रूपमा कमजोर अवस्थामा बेवारिसे जीवन बिताउन बाध्य भए।

यदि यात्रु उडान प्रक्रियामै अलपत्र परे, गन्तव्यमा नपुग्दै हराए वा मानसिक–शारीरिक संकटमा परे भने सम्बन्धित एयरलाइन्सको प्राथमिक दायित्व के हुन्छ? यात्रुको सुरक्षित गन्तव्य सुनिश्चित गर्नु, समस्या आए तत्काल सूचना प्रवाह गर्नु र सम्बन्धित निकायसँग समन्वय गर्नु—यी आधारभूत जिम्मेवारीबाट इन्डीगो एयर चुकेको आरोप गम्भीर छ। चार महिनासम्म एक नेपाली नागरिक बेवारिसे अवस्थामा रहनु कुनै पनि हिसाबले स्वीकार्य हुन सक्दैन।

  आफन्त र मेनपावरको अथक प्रयासपछि मात्रै उद्धार

दुवई जान हिँडेका गंगाबहादुर दर्नाल दिल्लीमै अलपत्र परेको जानकारी पाएपछि उनकी श्रीमती तेजकुमारी दर्नालले तत्काल मेनपावर कम्पनीलाई खबर गरिन्। त्यसपछि मेनपावर कम्पनीले आफन्तहरूसँग समन्वय गर्दै दिल्लीस्थित नेपाली दूतावास, विभिन्न अस्पताल, स्थानीय निकाय तथा सम्भावित स्थानहरूमा निरन्तर खोजी अभियान चलायो।


परिवारका अनुसार, मेनपावर कम्पनीले खोजी कार्यलाई औपचारिकतामा सीमित राखेन। आफन्तहरूलाई भारत आउन–जानको टिकट, बसोबास र खानपानसम्मको व्यवस्था गर्दै खोजीमा सक्रिय भूमिका निर्वाह गर्‍यो। चार महिनाको अथक प्रयासपछि अन्ततः गंगाबहादुर दर्नाल दिल्लीमै फेला परे।

त्यसपछि पनि जिम्मेवारी त्यत्तिमै टुंगिएन। मेनपावर कम्पनीले सम्पूर्ण खर्च बेहोरेर उनलाई सडक मार्ग हुँदै सुरक्षित रूपमा उदयपुरस्थित घरसम्म पुर्‍यायो। यदि यो प्रयास नहुने हो भने, आज उनी जीवित अवस्थामा परिवारसम्म फर्किन सक्थे वा सक्दैनथे—यो कल्पनाभन्दा बाहिरको प्रश्न हो।

स्वास्थ्य अवस्था गम्भीर, उपचारमा संघर्ष

चार महिनासम्मको बेवारिसे जीवनले गंगाबहादुर दर्नालको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ। हाल उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचाररत छन्। स्थानीय संघसंस्थाको सहयोगमा उपचार भइरहेको भए पनि उनी शारीरिक रूपमा असक्तजस्तै बनेका छन्।

टिचिङ अस्पतालमै गरिएको कुराकानीमा उनकी श्रीमती तेजकुमारी दर्नालको पीडा शब्दमै सीमित रहँदैन। उनी भन्छिन्—  “इन्डीगोले विमानभित्र करायो भनेर अस्पताल पुर्‍याएर छोडिदियो। त्यसपछि के भयो भन्ने कुनै जिम्मेवारी लिइएन। यदि दुवई लैजान नसक्ने हो भने नेपाल डिपोर्ट गर्नुपर्ने थियो, या कम्तीमा आफन्त, मेनपावर वा नेपाली दूतावासको जिम्मामा दिनुपर्ने थियो।

यो भनाइले एयरलाइन्सको अमानवीय व्यवहार मात्र होइन, सम्पूर्ण प्रणालीको संवेदनहीनता उजागर गर्छ।

  कानुनी र नैतिक दुवै हिसाबले एयरलाइन्स दोषी

हवाई यात्राको आधारभूत सिद्धान्त स्पष्ट छ—एक पटक यात्रु विमान चढिसकेपछि, उसलाई सुरक्षित गन्तव्य पुर्‍याउने वा वैकल्पिक व्यवस्थासहित जिम्मेवार निकायको जिम्मा लगाउने दायित्व एयरलाइन्सकै हुन्छ।तर यस घटनामा इन्डीगो एयरलाइन्सले न त यात्रुको सुरक्षा सुनिश्चित गर्‍यो, न त आवश्यक समन्वय नै गर्‍यो। अझ गम्भीर कुरा के छ भने, इन्डीगोको आधिकारिक टिकट एजेन्ट प्रेसिडेन्सियल ट्राभल्सले समेत आफ्नो भूमिका निर्वाह गरेको देखिँदैन।

 एयरलाइन्स र ट्राभल एजेन्सी दुवैले जिम्मेवारीबाट पन्छिँदा यसको प्रत्यक्ष मार एक साधारण नेपाली श्रमिकको जीवनमा पर्‍यो—जो रोजगारीको सपना बोकेर घरबाट निस्किएका थिए।

मेनपावर कम्पनीको भूमिका स्पष्ट

यस घटनामा मेनपावर कम्पनीले व्यक्ति हराएपछि जिम्मेवारीबाट भागेको देखिँदैन। बरु, निरन्तर खोजी, उद्धार र पुनःस्थापनामा उनीहरूले सक्रिय र जिम्मेवार भूमिका खेलेको तथ्य आफन्त र पीडित पक्षले नै पुष्टि गरेका छन्।

मेनपावर कम्पनीका अनुसार, इन्डीगो एयरलाइन्सले समयमै सही सूचना र आवश्यक समन्वय नगरेका कारण अवस्था झन् जटिल बनेको हो।

अब प्रश्न राज्यसँग छ! सरकारले तत्काल इन्डीगो एयरलाइन्स र त्यसको आधिकारिक एजेन्ट प्रेसिडेन्सियल ट्राभल्सलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। साथै, पीडित गंगाबहादुर दर्नालको सम्पूर्ण उपचार खर्च र उचित क्षतिपूर्ति सुनिश्चित गर्न ढिलाइ गर्नु हुँदैन।नत्र, आज गंगाबहादुर दर्नाल —भोलि कुनै पनि नेपाली यस्ता घटनाका पत्र बन्न बेर छैन।यो घटना अपवाद होइन ! चेतावनी हो।

यस घटनाले केवल एउटा एयरलाइन्सलाई मात्र प्रश्नको कठघरामा उभ्याउँदैन, यसले हाम्रो राज्य संयन्त्रलाई पनि ऐना देखाउँछ। वैदेशिक रोजगारीमा जाने नेपालीहरूको अभिलेख, ट्रान्जिट व्यवस्थापन, आपतकालीन सहायता र दूतावासको सक्रियता किन यति कमजोर रह्यो? दिल्ली जस्तो ठूलो ट्रान्जिट केन्द्रमा नेपाली नागरिक अलपत्र पर्दा समयमै उद्धार र पहिचान किन सम्भव भएन? प्रश्नहरू धेरै छन्, उत्तरहरू भने अस्पष्ट छन्।

हामी स्पष्ट भन्न चाहन्छौं । यस्ता घटनामा ‘प्राविधिक त्रुटि वा ‘प्रक्रियागत जटिलता जस्ता शब्दले जिम्मेवारी पन्छाउन पाइँदैन। सम्बन्धित एयरलाइन्समाथि निष्पक्ष छानबिन हुनुपर्छ, दोषी देखिए कडा कारबाही र पीडितलाई क्षतिपूर्ति सुनिश्चित गरिनुपर्छ। साथै, नेपाल सरकार र परराष्ट्र निकायले ट्रान्जिट मुलुकहरूसँग स्पष्ट आपतकालीन प्रोटोकल निर्माण गर्न ढिलाइ गर्नु हुँदैन।

गंगाबहादुर दर्नालको पीडा एउटा परिवारको मात्र होइन, हजारौँ श्रमिक नेपालीको साझा भय हो। सपनाको उडान सुरक्षित बनाउन राज्य, एयरलाइन्स र अन्तर्राष्ट्रिय संयन्त्र सबैले जिम्मेवारी लिनैपर्छ। नत्र भने, हरेक टिकटसँगै जोखिम पनि किन्न बाध्य नेपालीहरूको विश्वास क्रमशः चकनाचुर हुँदै जानेछ।

Top of Form

Bottom of Form

 

ads
ads
add
banner add

सम्बन्धित खबर