काठमाडौँ । कम्बोडियामा
अनलाइन ठगी तथा अन्य अवैध गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ८ जना
नेपाली नागरिकलाई नेपाल फर्काइएको छ। पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभनमा
परेर दक्षिणपूर्वी एसियाली देशहरूमा पुगेका नेपालीहरू अनलाइन ठगीजस्ता गैरकानुनी
काममा फस्ने घटनाहरू बढ्दै गएका छन्।
कम्बोडियामा अनलाइन ठगी तथा अन्य गैरकानुनी गतिविधिमा
संलग्न भई बिना भिषा बसिरहेका ८ जना नेपाली नागरिकलाई उद्दार गरी नेपाल फर्काइएको
छ।
विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडियाका अवैध
अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा
संलग्न भएका उनीहरूलाई नेपाल ल्याउन नेपाली राजदूतावास बैंकक को पहल र कम्बोडियाली
सरकारको सहयोग प्राप्त भएको हो। उद्दार कार्य गैरआवासीय नेपाली संघ, कम्बोडियाको
सहजीकरणमा सम्पन्न भएको थियो।
उद्धार गरिएका नेपालीहरू चैत १७ गते कम्बोडियाबाट उडेर चैत
१८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गरेका छन्। साथै, कम्बोडियामा
अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई पनि स्वदेश फर्काउने
प्रक्रिया जारी रहेको जनाइएको छ।
कम्बोडियामा अनलाइन ठगीमा संलग्न नेपालीहरूले प्रायः आफ्नो
राहदानी स्क्यामिङ्ग केन्द्रहरूले जफत गरेको वा कामका क्रममा हराएको गुनासो गर्ने
गरेका छन्। यस्तो अवस्थामा राजदूतावासले बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र
उपलब्ध गराउँदै उद्दार प्रक्रिया सहज बनाउने गरेको छ।
पर्यटन तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा कम्बोडियामा नेपाली नागरिकको आगमन उल्लेखनीय रूपमा बढेको छ। तर, यससँगै अवैध गतिविधिमा फस्ने जोखिम पनि बढेको देखिएको छ।
नेपाल सरकारले तोकेको मापदण्डअनुसार मात्र वैदेशिक
रोजगारीमा जान र छिटो तथा सजिलो आम्दानीको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डजस्ता
मुलुकमा नजान आग्रह गरेको छ। साथै, नेपाली
राजदूतावास बैंकक ले आमसञ्चार माध्यम र नागरिक समाजमार्फत सचेतना फैलाउन सहयोग
गर्न अनुरोध गरेको छ।
उक्त नेपालीहरूलाई सम्बन्धित निकायहरूको समन्वयमा उद्धार
गरी स्वदेश फर्काइएको जनाइएको छ। उनीहरूलाई प्रारम्भिक सोधपुछ तथा आवश्यक कानुनी
प्रक्रियाका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको छ।
सरकारले यस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै
वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखन तथा ठगीविरुद्ध कडाइ गर्ने जनाएको छ।
साथै, विदेशी मुलुकमा आकर्षक तलबको प्रलोभनमा परेर अपरिचित काममा
संलग्न नहुन सर्वसाधारणलाई सचेत गराइएको छ।
पछिल्लो समय कम्बोडिया, म्यानमार लगायतका
देशहरूमा अनलाइन ठगीका गिरोह सक्रिय रहँदै आएका छन्, जसमा विभिन्न
देशका नागरिकहरू फस्ने गरेका छन्। विज्ञहरूले सुरक्षित र आधिकारिक माध्यमबाट
मात्रै वैदेशिक रोजगारीमा जान आग्रह गरेका छन्।