काठमाडौँ । खोटाङमा घटेको युवतीको बलात्कारपछि गरिएको वीभत्स हत्या जघन्य अपराधको एउटा डरलाग्दो उदाहरण हो। यसले हाम्रो समाजमा अझैसम्म महिला हिंसा, लैङ्गिक असमानता र अपराधविरुद्धको शून्य सहनशीलताको अभावलाई उजागर गरेको छ।
खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सोमबार सामूहिक बलात्कारपछि युवतीको बीभत्स हत्या भएको छ।
उनको हत्यामा संलग्न एकजना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा ५–६ जनाको आपराधिक समूहले सहकारीमा काम सकेर घर फर्किंदै गरेकी रेस्मिकालाई सोमबार साँझ अभियुक्तहरुले बाटोमै नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न छिमेकी दिपक सार्की पक्राउ परेका छन् । अभियुक्त दिपकले प्रहरीलाई बयान दिँदै घटनामा संलग्न अन्य अभियुक्तहरूको नामसमेत खुलाएका छन् । प्रहरीले बाँकी अभियुक्तलाई खोजी गर्न थप टोली परिचालन गरेको जनाएको छ।
रेस्मिकाको शवको मुचुल्का संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरि बुधबार इटहरीको बुढिखोलामा दाह संस्कार गरिएको छ।
डीएसपी बुढाथोकीका अनुसार “घटनामा संलग्न सबैलाई छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइनेछ।” उनले अपराधीलाई कारबाही नगरेसम्म खोटाङमा प्रहरीको विशेष अपरेशन जारी रहने बताए। प्रत्येक नागरिकलाई आफ्नो जीवन र शरीरमाथि पूर्ण हक छ भन्ने संवैधानिक र मानवीय अधिकारको ठाडो उल्लङ्घन भएको यस घटनाले राज्यको सुरक्षा संयन्त्र, समाजको चेतना र कानुनी व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ।
समाजमा यस किसिमका अपराध बारम्बार भइरहनु राज्यको कमजोरी मात्र नभई सामूहिक मौनता र पीडितलाई दोष दिने संस्कृतिको पनि परिणाम हो। अपराधीलाई कडाभन्दा कडा सजाय दिलाउन नसक्ने हो भने यस्ता अपराध बढ्ने मात्र छन्।
अब सरकार, प्रशासन, प्रहरी र न्यायिक निकायले तत्काल जिम्मेवारीपूर्वक कदम चाल्नुपर्छ।
अनुसन्धान निष्पक्ष र छिटो हुनुपर्छ, प्रमाण लुकाउने वा अपराधीलाई जोगाउने प्रयास अस्वीकार्य छ। दोषीलाई उदाहरणीय सजाय दिलाउनुपर्छ ताकि भविष्यमा कोही पनि यस्तो घृणित अपराध गर्न साहस नगरोस्। यसैसँगै समाजले पनि चेतना र संवेदनशीलता बढाउनुपर्छ। महिला र बालिकामाथि हुने हिंसा अन्त्य गर्न घरदेखि विद्यालय, समुदायदेखि राजनीतिक तहसम्म सबैले भूमिका खेल्न जरुरी छ।