काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान
अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा
प्रवेश, पदोन्नति र सेवा सुविधा लिएको अभियोगमा अख्तियार दुरुपयोग
अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले बुधबार भट्टराईविरुद्ध विशेष अदालत काठमाडौंमा
आरोपपत्र दायर गरेको हो। भारतबाट प्रवीणता प्रमाणपत्र तह (आईए) उत्तीर्ण गरेको
भन्दै उनले पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आयोगको अनुसन्धानबाट खुलेको
छ।
आयोगका अनुसार भट्टराईले भारतको बिहार इन्टरमिडियट एजुकेसन
काउन्सिल, पटनाबाट आईए उत्तीर्ण गरेको दाबी गर्दै २०५५ वैशाख ८ गते
राष्ट्रिय अनुसन्धान विभागमा प्रमाणपत्र पेस गरेका थिए। तर, सम्बन्धित
निकायबाट प्रमाणीकरण गराउँदा उनको नाम र प्राप्ताङ्क आधिकारिक अभिलेखसँग मेल
नखाएको पाइएको अख्तियारले जनाएको छ।
उक्त प्रमाणपत्रकै आधारमा उनले २०५६ जेठ १० गते सहायक
निरीक्षक पदबाट सरकारी सेवा प्रवेश गरेको र त्यसपछि विभिन्न तहमा बढुवा हुँदै
विभागको प्रमुख अनुसन्धान अधिकृतसम्म पुगेको अख्तियारको अभियोग छ।
भट्टराई २०६४ असार ३२ गते वरिष्ठ अनुसन्धान सहायक, २०७१ माघ
५ गते अनुसन्धान अधिकृत र २०७५ फागुन १३ गते प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा
भएका थिए।
झुट्टा शैक्षिक विवरण पेस गरी पदोन्नति हुनुका साथै सरकारी
सेवा सुविधा उपभोग गरेको अभियोगमा अख्तियारले उनीमाथि कानुनी कारबाहीको माग गरेको
छ।
भट्टराईविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम सजाय मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।