काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । वर्तमान सरकारले अघिल्लो सरकारद्वारा गरिएका नियुक्ति खारेज गर्ने उद्देश्यसहित अध्यादेश जारी गरेपछि उनले पद छाडेका हुन् ।
डा. शर्माले हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर औपचारिक रूपमा राजीनामा बुझाएको जानकारी दिएका छन् । अन्य पदाधिकारीहरूले समेत पद त्याग गरेकाले आफूले पनि राजीनामा दिएको उनले बताए ।
उनका अनुसार आफ्नो कार्यकाल धेरै बाँकी नरहेकाले नयाँ सरकारलाई काम गर्न सहज वातावरण बनोस् भन्ने उद्देश्यले निर्णय लिइएको हो ।
स्वास्थ्य सेवाअन्तर्गत दशौं तहका कर्मचारी रहेका शर्मा २०८१ साल फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए ।
उनको राजीनामापछि हाल वीर अस्पताल पदाधिकारीविहीन बनेको छ ।
यसअघि अध्यादेश लागू भएसँगै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष लगायतका पदाधिकारीहरू पनि पदमुक्त भएका थिए ।