बुटवल । उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रका सरकारी तथा सार्वजनिक सडक र खुला स्थान अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने निर्णय गरेको छ। नगर कार्यपालिकाको बैठकले अतिक्रमित क्षेत्र खाली गराउन आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।
निर्णयअनुसार सबै वडा कार्यालयलाई आफ्नो–आफ्नो क्षेत्रमा भएका अतिक्रमणको विवरण संकलन गरी वडा समितिको निर्णयसहित सात दिनभित्र उपमहानगरपालिकाको कार्यालयमा उपलब्ध गराउन निर्देशन दिइएको छ।
वडा कार्यालयबाट विवरण प्राप्त भएपछि चरणबद्ध रूपमा अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइने जनाइएको छ। पहिलो चरणमा विभिन्न वडामा सार्वजनिक तथा सडक मापदण्डभित्र निर्माण गरिएका संरचनालाई सूचना जारी गरी खाली गराइनेछ।
निर्णयमा वडा नम्बर ४, ५, ७, ११ लगायतका क्षेत्रमा रहेका अतिक्रमित संरचनामाथि प्राथमिकताका साथ कारबाही गरिने उल्लेख छ। केही क्षेत्रमा ७ दिने तथा केही क्षेत्रमा ३५ दिने सूचना जारी गरेर संरचना हटाउन भनिनेछ।
यसैगरी, अतिक्रमण हटाउने, जग्गाको रेखांकन गर्ने तथा आवश्यक कागजात परीक्षण गर्ने कार्यका लागि सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरिएको छ। समितिमा भवन निर्माण, पूर्वाधार विकास, भूमि, राजस्व, प्रशासन, कानुन, नापी शाखा तथा नगर प्रहरीका प्रतिनिधि सदस्य रहनेछन्।
उपमहानगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण तथा व्यवस्थित शहरी विकासका लागि अतिक्रमण नियन्त्रण अभियानलाई कडाइका साथ अघि बढाइने जनाएको छ।