काठमाडौं । नेपाल सरकारले आफ्नै मापदण्ड निर्धारण नगरी
विदेशी निकायका मापदण्डलाई आधार बनाएको भन्दै आलोचना भइरहेको छ। यस घटनाले ऊर्जा
पेय पदार्थको गुणस्तर परीक्षण, नियमन र उपभोक्ता स्वास्थ्य
सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि
तथा गुण नियन्त्रण विभागले इनर्जी ड्रिंक्स (Energy Drinks) को सेवन
गर्दा सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरेको छ।
विभागले सोमबार सार्वजनिक गरेको सूचनामार्फत बालबालिका, गर्भवती
तथा स्तनपान गराइरहेका महिला, मधुमेहलगायतका बिरामी र
क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न अनुरोध गरेको हो।
विभागका अनुसार इनर्जी ड्रिंक्समा मुख्यतः क्याफिन, ग्वाराना, ग्लुकुरोनोल्याक्टोन, टाउरिन, इनोसिटोल, कार्निटिन, बी–भिटामिन, चिनी, पानी तथा
खाद्ययोगशील पदार्थ प्रयोग गरिन्छ। यस्ता पेय पदार्थमा क्याफिनको मात्रा हुने
भएकाले यसको अत्यधिक सेवनले स्वास्थ्यमा असर पार्न सक्छ।
युरोपियन फुड सेफ्टी अथोरिटी (EFSA) र
अमेरिकी खाद्य तथा औषधि प्रशासन (US-FDA) लगायतका
अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसार स्वस्थ वयस्क व्यक्तिले चिया, कफी, चकलेट र
इनर्जी ड्रिंक्सलगायत सबै स्रोतबाट दैनिक कुल ४०० मिलिग्रामभन्दा बढी क्याफिन सेवन
गर्नु हुँदैन।
विभागले उपभोक्तालाई एक दिनमा दुई क्यान (३२०
मिलिलिटरसम्मका) भन्दा बढी इनर्जी ड्रिंक्स सेवन नगर्न सुझाव दिएको छ। साथै, इनर्जी
ड्रिंक्सलाई पानी, जुस, दूध, महलगायतका
पौष्टिक पेय पदार्थसँग मिसाएर सेवन नगर्न पनि आग्रह गरेको छ।
विभागका अनुसार नेपालमा १७ वटा उद्योगले अनुमति लिएर इनर्जी
ड्रिंक्स उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन्। ती उद्योगका उत्पादनमा क्याफिनको
मात्रा मानव उपभोगका लागि तोकिएको सुरक्षित सीमाभन्दा कम रहेको लेबल विवरण तथा
प्रयोगशाला परीक्षणबाट देखिएको सूचनामा उल्लेख छ।
त्यसैगरी, उत्पादक तथा विक्रेतालाई प्रचलित
कानुनअनुसार अनुमति लिएर मात्र उत्पादन तथा बिक्रीवितरण गर्न, लेबलमा
आवश्यक चेतावनी र सुरक्षित सेवनको मात्रा उल्लेख गर्न विभागले निर्देशन दिएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कार्य गरेमा कानुनअनुसार कारबाही हुने चेतावनीसमेत विभागले दिएको हो।