काठमाडौं । नेपालमा डेंगु संक्रमणको जोखिम पुनः तीव्र बन्दै गएको तथ्यांकले सार्वजनिक स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती थपिएको संकेत गरेको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार देशका ७२ जिल्लामा २,०२५ जनामा डेंगु संक्रमण पुष्टि हुनु र दुई जनाको मृत्यु हुनु चिन्ताको विषय हो। विशेषगरी मनसुन सक्रिय भएसँगै संक्रमण दर बढ्नुले आगामी महिनाहरूमा जोखिम अझै विस्तार हुन सक्ने सम्भावनालाई देखाउँछ।
डेंगु नयाँ रोग होइन। विगत केही वर्षयता नेपालले हरेक वर्ष यसको प्रकोप सामना गर्दै आएको छ। तर संक्रमण बढ्दो क्रममा रहनु र देशका अधिकांश जिल्लामा फैलिनु भनेको यसलाई अब मौसमी स्वास्थ्य समस्यामात्र नभई दीर्घकालीन सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा हेर्नुपर्ने अवस्था हो।
कोशी र गण्डकी प्रदेशमा उच्च संक्रमण दर तथा झापा, बागलुङ, सुनसरी, पाल्पा र कास्कीजस्ता जिल्लामा बढी प्रभावित अवस्था देखिनुले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म समन्वित प्रयासको आवश्यकता औंल्याएको छ।
सरकारले सञ्चालनमा ल्याएको “श्रावण–भाद्र–आश्विन डेंगु सचेतना तीन महिने अभियान” सकारात्मक पहल हो। तर अभियान केवल औपचारिक कार्यक्रममै सीमित हुनुहुँदैन। डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय लामखुट्टेको प्रजनन स्थल नष्ट गर्नु हो। घर, कार्यालय तथा सार्वजनिक स्थानमा पानी जम्न नदिनु, सरसफाइलाई नियमित बनाउनु र समुदायस्तरमा निगरानी बढाउनु अत्यन्त आवश्यक छ।
सरकारी निकायले प्राविधिक सहयोग र जनचेतना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ भने स्थानीय तहले समुदायलाई प्रत्यक्ष रूपमा अभियानमा जोड्नुपर्छ।
डेंगु नियन्त्रणमा नागरिकको भूमिका झन् महत्वपूर्ण छ। एडिस जातको लामखुट्टे घर वरपर जम्मा भएको सफा पानीमै प्रजनन गर्ने भएकाले प्रत्येक व्यक्तिको सानो लापरबाहीले ठूलो जोखिम निम्त्याउन सक्छ। त्यसैले “मेरो घर, मेरो टोल, मेरो जिम्मेवारी” भन्ने भावनासहित सबैले सरसफाइ र सावधानीलाई दैनिक व्यवहारको हिस्सा बनाउनुपर्छ। लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनु, लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुग्नु र अफवाहभन्दा वैज्ञानिक जानकारीमा विश्वास गर्नु आवश्यक छ।
डेंगु नियन्त्रण कुनै एक निकायको जिम्मेवारी मात्र होइन; यो सरकार, स्थानीय तह, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम र आम नागरिकको साझा दायित्व हो। मनसुनका बाँकी महिनामा उच्च सतर्कता अपनाउन सकिएन भने संक्रमण र मानवीय क्षति दुवै बढ्न सक्छन्। त्यसैले सचेतना, सरसफाइ र सामूहिक सहभागितामार्फत डेंगुविरुद्धको अभियानलाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो।