कपिलवस्तु । लुम्बिनीका सीमा नाकामा सशस्त्र प्रहरी बलको सुरक्षा रणनीतिमा उल्लेखनीय परिवर्तन देखिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं.५ विन्ध्यावासिनी बाहिनीका बाहिनीपति डीआईजी दीपक अधिकारीले प्रदेशका सबै सीमा जिल्लाको निरीक्षण गरी दिएको निर्देशनपछि सीमा क्षेत्रमा सुरक्षा निगरानी थप प्रभावकारी बनाइएको हो।
डीआईजी अधिकारीले नेतृत्व सम्हालेपछि पश्चिम नवलपरासीदेखि बर्दियासम्मका सशस्त्र प्रहरी इकाइको स्थलगत निरीक्षण गर्दै सीमा सुरक्षा, अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनको अवस्थाबारे समीक्षा गरेका थिए।
निरीक्षणपछि उनले मातहतका सबै इकाइलाई सीमा अपराध नियन्त्रणमा थप सक्रिय हुन निर्देशन दिएका हुन्।
उनको निर्देशनअनुसार अवैध चोरीपैठारी, लागूऔषध कारोबार, तस्करी, मानव बेचबिखन तथा अन्य सीमा अपराध नियन्त्रणमा विशेष प्राथमिकता दिइएको छ। सीमा नाकामा चेकजाँच, गस्ती तथा निगरानी बढाइएको छ भने शंकास्पद गतिविधिको सूक्ष्म निगरानी गर्न निर्देशन दिइएको छ।
डीआईजी अधिकारीले सीमा सुरक्षामा कुनै लापरबाही स्वीकार्य नहुने स्पष्ट पार्दै राष्ट्रहितविपरीतका गतिविधिप्रति ‘शून्य सहनशीलता’ अपनाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्। उनले संगठनभित्र अनुशासन, पारदर्शिता र व्यावसायिकता कायम राख्न पनि जोड दिएका छन्।
उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गरिने र गलत कार्यमा संलग्न कर्मचारीमाथि कानुनबमोजिम कारबाही गरिने सन्देश दिँदै उनले जिम्मेवारीप्रति इमान्दार हुन निर्देशन दिएका थिए।
खुला सीमाबाट हुने चुनौतीलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले सीमा सुरक्षा, अपराध नियन्त्रण र विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अभियानलाई निरन्तरता दिएको जनाएको छ।