काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थ लुकाएर ल्याउने दुई चिनियाँ महिला पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चीनको ग्वाङ्दोङ स्थायी ठेगाना भएका ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन जिनपिङ रहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनीहरू बुधबार राति ११ः१५ बजे क्याथे प्यासिफिक एयरलाइन्समार्फत हङकङबाट काठमाडौं आएका थिए।
भन्सार क्षेत्र पार गरी बाहिरिने क्रममा गरिएको जाँचमा उनीहरूले मलद्वार तथा भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाएको अवस्थामा आठ थान गोलाकार अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्लास्टिकको र्यापसहित उक्त पदार्थको कुल तौल २ किलो ३४८ ग्राम रहेको छ।
पक्राउ परेका दुवै महिलामाथि आवश्यक अनुसन्धान भइरहेको र उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन्।
बरामद पदार्थ सुन नै हो वा अन्य कुनै धातुजन्य पदार्थ भन्ने विषय परीक्षणपछि पुष्टि हुनेछ।