पर्सा प्रहरीले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं विरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरअन्तर्गत अनुसन्धान सुरु गरेको छ।
सोमबार साँझ उनलाई
पर्सा प्रहरीले पक्राउ गरेको हो। उनी झापा विर्तामोड नगरपालिका–५ का स्थायी
बासिन्दा भए पनि हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ मा बसोबास गर्दै आएका ५६
वर्षीय हुन्।
मंगलबार प्रहरीले
जिल्ला अदालतबाट प्रसाईंलाई विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको अपराध
सम्बन्धी मुद्दामा अनुसन्धान गर्न अनुमति लिएको छ। अदालतले उनलाई थप अनुसन्धानका
लागि तीन दिनसम्म हिरासतमा राख्न स्वीकृति दिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी
नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।
प्रसाईं
महाअभियानको कार्यक्रमका क्रममा पर्सा पुगेका बेला सिद्धार्थ दियालो होटलबाट
पक्राउ परेका थिए र हाल प्रहरी हिरासतमा छन्।
प्रहरीका अनुसार
प्रसाईंले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिने क्रममा
घृणा र द्वेष फैलाउने, जातजाति तथा समुदायबीच सम्बन्धमा खलल
पुर्याउने, साथै नेपाल सरकारको कामकारबाहीबारे झुटा
तथा अप्रमाणित आरोप लगाएर अवहेलना गरेको आरोप लगाइएको छ।