काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजले आगामी कार्यसमिति निर्वाचनका लागि विस्तृत कार्यतालिका तथा उम्मेदवारी दर्ता शुल्क सार्वजनिक गरेको छ। निर्वाचन समिति–२०८३ ले सूचना जारी गर्दै निर्वाचन प्रक्रिया व्यवस्थित ढंगले सञ्चालन गर्न तालिका सार्वजनिक गरेको जनाएको हो।
समितिका अनुसार पहिलो मतदाता नामावली प्रकाशन २०८३ असार १९ गते अपराह्न ५ बजे समाजको कार्यालयमा गरिनेछ। त्यसपछि नामावलीमा दाबी–विरोध, छानबिन तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया क्रमशः अगाडि बढाइनेछ।
उम्मेदवारको मनोनयन दर्ता, दाबी–विरोध, नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशनका कार्यक्रम असार २५ गतेका लागि तय गरिएको छ। मतदान सोही दिन दिउँसो १:३० देखि ४:३० बजेसम्म स्मार्ट दरबार, धुम्बाराही काठमाडौंमा हुने तालिकामा उल्लेख छ। मतगणना मतदानपछि तत्काल सुरु हुने र परिणाम घोषणा पनि सोही दिन गरिने जनाइएको छ।
निर्वाचन समितिले अध्यक्ष पदका लागि २५ हजार रुपैयाँ, उपाध्यक्ष र महासचिवका लागि २५–२५ हजार रुपैयाँ, सचिव र कोषाध्यक्षका लागि २०–२० हजार रुपैयाँ तथा सह–कोषाध्यक्षका लागि १५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकेको छ। सदस्य पदका लागि भने विधानअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको छ।
समितिले उम्मेदवारी दर्ता शुल्क कुनै पनि अवस्थामा फिर्ता नहुने स्पष्ट पारेको छ। साथै, आवश्यक परे निर्वाचन कार्यतालिकामा हेरफेर गर्न सकिने पनि जनाएको छ।
निर्वाचन कार्यक्रम सफल बनाउन सबै सम्बन्धित पक्षलाई सहयोग गर्न आग्रह गरिएको छ।