मङ्गल, २६ साउन २०८३ / August 11, 2026, Tuesday
मङ्गल, २६ साउन २०८३
Advertisement
banner add

प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुने

banner add
writter
सोम, २५ साउन २०८३
(Shares)

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा विभिन्न विधेयक तथा संसदीय कार्यसूची अघि बढाइने भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा परराष्ट्र मन्त्रालय तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्नुहुनेछ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ प्रस्तुत गर्नुहुनेछ । प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट मन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

प्रधानमन्त्री शाहकै तर्फबाट मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्नुहुनेछ ।

यसैबीच, आज विभिन्न चारवटा संसदीय समितिको बैठकसमेत बस्दैछ । पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने तय भएको छ ।

बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहान ९ बजे बस्ने बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै, बिहान ११:३० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३ को कार्यान्वयनका विषयमा छलफल हुनेछ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने समितिको बैठक सञ्चालन कार्यविधिका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

आजको प्रतिनिधिसभा बैठक र संसदीय समितिका छलफलले विधेयक निर्माण, सुशासन, बालश्रम नियन्त्रण, संवैधानिक निकाय तथा राष्ट्रिय गौरवका आयोजनासँग सम्बन्धित महत्वपूर्ण विषयलाई अघि बढाउने देखिएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर