काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गामा बनेका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियान शनिबार पनि जारी रह्यो। यस क्रममा काठमाडौं महानगरपालिका–११ को थापाथली र वडा नं. ९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा रहेका बस्ती खाली गराइएको छ।
बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयवासीलाई आवश्यक सहयोग प्रदान गरेका थिए। घरायसी सामग्री सुरक्षित रूपमा सार्न र व्यवस्थापन गर्न सुरक्षाकर्मीहरू प्रत्यक्ष रूपमा खटिएका थिए।
सरकारको सम्पर्कमा हालसम्म थापाथली, गैरीगाउँ र शान्तिनगरका १४४ परिवार आएका छन्। ती परिवारलाई प्रारम्भिक रूपमा दशरथ रंगशालामा राखेर विवरण संकलन गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रभावित परिवारहरूको तत्काल बसोबासका लागि काठमाडौंका विभिन्न होटलमा अस्थायी व्यवस्था गरिएको छ। उनीहरूको घरायसी सामान भने दशरथ रंगशाला र कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सत्संग ब्यास नेपालमा सुरक्षित राखिएको छ।
यता, कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहरा टोलका बस्ती पनि शनिबार खाली गराउने तयारी गरिएको थियो। तर, उक्त प्रक्रिया अन्तिम समयमा रोकिएको बताइएको छ।