काठमाडौँ । वैशाख ९ गते तत्कालीन गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले गृह मन्त्रालयको जिम्मेवारी आफैं सम्हालिरहेका छन्।
गृहमन्त्री नियुक्ति नहुँदा नेपाल
प्रहरीमा ठूलो संख्यामा हुने नियमित सरुवा प्रभावित भएको छ। गत वर्ष सरुवा भएका
तथा कार्यअवधि पूरा गरेका प्रहरी निरीक्षकदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) तहसम्मका
अधिकृतहरूको सरुवा रोकिएको हो।
प्रहरी नियमावली २०७१ अनुसार प्रहरी
अधिकृतहरूको सरुवा प्रत्येक एक वर्षमा गरिनुपर्ने व्यवस्था छ। सोही अनुसार २०८२
वैशाख १० गते प्रहरी प्रधान कार्यालयले ३११ जना प्रहरी निरीक्षकको सरुवा गरेको
थियो। कार्यअवधि पूरा गरेका तीमध्ये चैत २ गते २४ जनालाई मात्रै काजमा सरुवा
गरिएको छ भने बाँकीको सरुवा हुन सकेको छैन।
यस्तै, गत वर्ष वैशाख १० गते १२१ जना डीएसपीको
सरुवा गरिएको थियो। उनीहरूको कार्यअवधि पूरा भए पनि हालसम्म नयाँ सरुवा प्रक्रिया
अघि बढ्न सकेको छैन। अघिल्लो वर्ष सरुवा भएका धेरै इन्स्पेक्टर र डीएसपी अहिले पनि
विभिन्न स्थानमा इन्चार्जकै रूपमा कार्यरत छन्।
एक वर्षे अवधि पूरा गरेका जिल्ला कमाण्ड
सम्हालिरहेका एसपीहरूको सरुवा समेत रोकिएको छ। बाग्लुङ, सुदूरपश्चिम ट्राफिक, सिन्धुली, काभ्रे, सर्लाही, महोत्तरी, सुर्खेत, चितवन, पश्चिम नवलपरासी, कपिलवस्तु र कञ्चनपुरमा कार्यरत
एसपीहरूको कार्यकाल पूरा भइसकेको छ। त्यसैबीच, पाल्पामा कार्यरत पवन भट्टराईलाई
‘जेनजी’ आन्दोलनपछि काठमाडौँ ल्याइएको थियो।