काठमाडौं । गुल्मी जिल्लाको भ्रमणका क्रममा किसानका समस्या
प्रत्यक्ष रूपमा अवलोकन गरेपछि गुल्मी क्षेत्र नं. २ सांसद गोविन्द पन्थीले
प्रतिनिधिसभामा बाँदर र बँदेलको बढ्दो आतंक नियन्त्रणका लागि दीर्घकालीन तथा
तत्कालीन उपाय अवलम्बन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
प्रतिनिधिसभाको
बैठकमा बोल्दै उहाँले गुल्मीका विभिन्न स्थानमा जनतासँग प्रत्यक्ष भेटघाट, गुनासा सुनुवाइ तथा खेतबारीको
अवस्था अवलोकन गर्दा सबैभन्दा ठूलो समस्या बाँदर र बँदेलबाट हुने खेतीपातीको क्षति
रहेको बताउनु भयो।
उहाँले
दीर्घकालीन समाधानका रूपमा वन क्षेत्रमा वन्यजन्तुले उपयोग गर्ने फलफूल तथा अन्य
आहाराका बोटबिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो। यसबाट
वन्यजन्तुको प्राकृतिक बासस्थान तथा खाद्य स्रोत संरक्षणमा सहयोग पुग्ने उहाँको
भनाइ थियो।
पन्थीले
तत्काल राहतका लागि सरकारसमक्ष तीनवटा मुख्य प्रस्ताव पनि राखे। पहिलो, प्रत्येक स्थानीय तहमा कम्तीमा ५००
वटा बाँदर व्यवस्थापन गर्न सक्ने क्षमता भएको ‘मन्की पार्क’ स्थापना गर्नुपर्नेमा जोड दिनुभयो। यसबाट किसानको खेती
जोगिनुका साथै वन्यजन्तुको संरक्षण र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उहाँको
विश्वास छ।
त्यस्तै, बँदेल नियन्त्रणका लागि प्रत्येक
पालिकामा कम्तीमा दुई जना तालिमप्राप्त शिकारी परिचालन गर्नुपर्ने र उनीहरूलाई
न्यूनतम तलबसँगै नियन्त्रण गरिएका बँदेलको संख्याका आधारमा प्रोत्साहन भत्ताको
व्यवस्था गर्नुपर्ने प्रस्ताव उनले अघि सारे।
यस्तै, जिल्ला वन कार्यालयमार्फत प्रत्येक
पालिकाका लागि कम्तीमा ५० लाख रुपैयाँ बजेट तत्काल विनियोजन गरी प्रभावकारी
नियन्त्रण अभियान सञ्चालन गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयो।
"किसानलाई उत्पादन गर्न
प्रेरित गर्ने हो भने पहिले उसको उत्पादन सुरक्षित गर्नुपर्छ," भन्दै किसान, वन्यजन्तु र प्रकृतिबीच सन्तुलन
कायम हुने गरी प्रभावकारी कार्यक्रम तत्काल कार्यान्वयन गर्न नेपाल सरकारसँग आग्रह
गर्नु भयो।
आज प्रतिनिधि सभाको शुन्य समयमा आफ्नो धारणा राख्दै सरकारलाई यस्ता सुझाब दिनुभएको भएको छ र तत्कालै कदम चाल्नु पर्ने बताएउनु भयो ।