काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको
न्यून चापीय रेखा नेपालको पश्चि भूभागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा
पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले अहिले कोशी र लुम्बिनी
प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली
र सुदूरपश्चिम प्रदेशका हिमाली एवम् पहाडी भागमा साधारणतया बादल लागेको जनाएको छ ।
मधेश प्रदेशका साथै बागमती, गण्डकी र
सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली
र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको
सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने छ ।
गण्डकी, लुम्बिनी, कर्णाली
र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा
साधारणतया बादल लाग्नेछ तथा मधेश प्रदेश, कोशी र बागमती
प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
विभागको मौसम बुलेटिनका अनुसार देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
कर्णाली प्रदेशको पहाडी साथै
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी
वर्षाको सम्भावना छ ।