काठमाडौं । आगामी
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएका
उम्मेदवारमाथि परेका उजुरीको जाँचबुझ प्रक्रिया सुरु भएको छ।
निर्वाचन आयोगका अनुसार बुधबार दिउँसो ३ बजेदेखि
सुरु भएको जाँचबुझ आज बेलुकी ५ बजेसम्म चल्नेछ। जाँचबुझ तथा निर्णयपछि आजै बेलुकी
५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने आयोगले जनाएको
छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार माघ
९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन
सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने
दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने
कार्यक्रम रहेको छ।
शुक्रबार ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय
र ८८ वटा निर्वाचन अधिकृतको कार्यालयमा यी तीनवटै कार्यक्रम सञ्चालन हुने जनाइएको
छ।
निर्वाचन आयोगमा प्राप्त विवरणअनुसार देशभरबाट कुल
तीन हजार ४८७ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा पुरुष ३ हजार ८९, महिला
३९६ र तेस्रो लिंगी १ जना रहेका छन्।
यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी
परेको छ। सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का एक, रौतहट निर्वाचन
क्षेत्र नम्बर १ का एक, भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का दुई
तथा कैलाली निर्वाचन क्षेत्रका एक उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको सहायक
प्रवक्ता जिसीले जानकारी दिए। ती उजुरीमाथि सम्बन्धित निर्वाचन अधिकृतको
कार्यालयमा हाल जाँचबुझ भइरहेको छ।